ओलम्पिक कमिटीको महासचिवमा पुरेन्द्र र निलेन्द्रको दाबी

ओलम्पिक कमिटीको महासचिवमा पुरेन्द्र र निलेन्द्रको दाबी


■ श्रीविक्रम भण्डारी

नेपाल ओलम्पिक कमिटीको निर्वाचन जति नजिकिँदै छ त्यति नै चर्चा–परिचर्चा शुरु भएको छ । ओलम्पिक कमिटीले भदौ २० गते निर्वाचनको घोषणा गर्दा एकढिक्का देखिएका ओलम्पिक कमिटीका पदाधिकारी अहिले गुट–गुटमा विभाजित भएका छन् । हिजोसम्म नाइटो जोडिएकाहरू अहिले एक–आपसमा भिड्ने मनस्थितिमा छन् । यस्तो विषम परिस्थिति सिर्जना हुनुमा ओलम्पिक कमिटीभित्रको उकुसमुकुसको वातावरणलाई प्रमुख मानिएको छ । हिजो के भएको थियो, कसरी चलेको थियो, अब कसरी अगाडि बढ्नुपर्छ ? त्यो नै ओलम्पिक कमिटी पहिलो मुद्दा बनेको छ । त्यसैलाई सार्थक तुल्याउन भदौ ४ गते ओलम्पिक कमिटीको निर्वाचनका लागि विभिन्न २७ वटा राष्ट्रिय खेलकुद सङ्घबाट प्रतिनिधि बनेर आएका अहिले जोड, घटाउ र भागा गर्न लागेका छन् । उनीहरूले गरेको जोड, घटाउ र भागामा आफ्नो गुटको हिसाब दुरुस्त देखाए पनि शेष कति रहन्छ भन्ने कुरामा भने प्रस्ट भइसकेका छैनन् । यसरी अहिले दुवै गुट आफ्नो जितमा ढुक्क भएका छन् । तर, परिणाम निर्वाचनपछि आउने भएकोले उनीहरूले निर्वाचनअघिको टीका–टिप्पणीभन्दा आफ्नो रणनीतिलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

ओलम्पिक कमिटीको निर्वाचनको घोषणासँगै अध्यक्षको उम्मेदवारको चर्चा हुनु स्वाभाविकै हो । वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठले पहिल्यै अध्यक्षको उम्मेदवारको घोषणा गरे पनि अध्यक्षको उम्मेदवारमा उमेशलाल श्रेष्ठको चर्चा पनि कम थिएन । अहिले यो कुरा सत्य भएको छ, उमेशलालले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उमेशलालको अध्यक्षमा उठ्ने घोषणासँगै ओलम्पिक कमिटीको निर्वाचनको समीकरण बदलिएको मात्र नभई यी दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने सङ्केत देखिएको छ । कसले जित्ला त्यो निर्वाचनको परिणामले देखाउने भए पनि यसपटकको निर्वाचन अघिल्लो संस्करणभन्दा निकै टप हुने कुरामा विश्वास गर्न सकिन्छ । यसर्थमा कि उमेशलाल पहिलेभन्दा सुदृढ अवस्थामा र जीवनराम साङ्गठनिक रूपमा बलियो देखिनुले पनि कसले ओलम्पिक कमिटीमा बाजी मार्ला त्यो यतिबेला कठिन बन्दै गएको छ । दुवै गुटले विजयको शङ्खनाद गरेको अवस्थामा प्रतिनिधिहरूले कस्तो मानसिकता बनाएका छन् र उनीहरू के चाहन्छन् त्यो नै अहिले सबैभन्दा चासोको विषय बनेको छ । २७ जना प्रतिनिधिमध्ये केही खुलेर आफ्नो गुटको समर्थनमा उत्रिए पनि अधिकांशले मौनता साँधेका छन् । प्रतिनिधिको यही मानसिकताले गर्दा ओलम्पिक कमिटीको निर्वाचन रोमाञ्चक मोडमा पुगेको हो । अब सस्पेन्सको पर्दा निर्वाचनको परिणामपछि नै हट्ने देखिएको छ । त्यसभन्दा अघि अड्कल र अनुमान मात्रै लगाउन सकिने सम्भावना बढेर गएको छ ।

गत संस्करणको निर्वाचनमा उमेशलाल नै जीवनरामसँग भिडेका थिए । त्यसबेला परिणाम जीवनरामको पक्षमा गएको थियो । तर, अहिले बागमतीमा धेरै पानी बगिसकेको छ । जीवनरामका अतिविश्वासी पात्रसमेत यतिबेला धरमराएको अवस्था छ । यो कुराको मेसो खुद जीवनरामले पाएका छन् । तर, अध्यक्षको उम्मेदवारीका कारण उनी खुलेर प्रस्तुत हुन सक्ने अवस्था छैन । पदको आकाङ्क्षी एउटालाई सपोर्ट गर्दा अर्को विचलित हुने हुँदा जीवनराम अहिले निकै अप्ठ्यारोमा परेका छन् । जीवनराम अहिले ‘चुँ’ समेत नगरी हरेक कदम सावधानीका साथ अगाडि बढाइरहेका छन् । उनको यो रणनीति भविष्यमा कति सफल हुन्छ, त्यो ठोकुवा गर्न सक्ने अवस्था नभए पनि ब्यालेन्स गर्नमा भने मद्दत पुग्ने देखिन्छ । उता उमेशलालको गुटले अध्यक्ष र महासचिवमा आफ्नो उम्मेदवारी खडा गरिसकेको छ । प्राप्त जानकारीअनुसार उमेशलालको गुटबाट पुरेन्द्रविक्रम लाखे महासचिवमा उम्मेदवार बनेको बुझिएको छ । यसबाहेक अन्य उम्मेदवारको टुङ्गो लगाएपछि उमेशलाल सार्वजनिक रूपमा प्रस्तुत हुने सूत्रले दाबी गरेको छ । साँचो रूपमा भन्नुपर्दा यतिबेला ओलम्पिक कमिटीको चित्र स्पष्ट हुन सकेको छैन । हिजोसम्म जीवनरामको निर्विरोधको सम्भावना अघि बढ्दै गएको अवस्थामा एक्कासि आएको नयाँ मोडले उनलाई चुनौतीमाथि चुनौती थपिदिएको छ । जसले उनको सहज मार्गमा अवरोध मात्रै गरेको छैन कडा चुनौतीको सामना गर्नुपर्ने बाध्यतासमेत पैदा गरिदिएको छ ।

जीवनरामको गुटबाट को महासचिवको उम्मेदवार हुने त्यसको अहिलेसम्म टुङ्गो लागेको छैन । सुनिनमा आएअनुसार ट्रायाथलनका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठ र विवादास्पद टेबुलटेनिस सङ्घका अध्यक्ष चतुरानन्द वैद्यले महासचिवमा उम्मेदवारी दिने चर्चा चलेको छ । तर, जीवनरामले भने दुईजना नभई तीनैजना महासचिवका दाबेदारहरू आफ्नो मान्छे भएको खुलासा गरेका छन् । साथै जीवनरामले यो अहिलेसम्मको चर्चा हो भोलि के हुन्छ हेर्दै जाउँसमेत भने । आफ्नो सपोर्ट सबै साथीहरूलाई भए पनि महासचिव एउटै बन्ने र समयले त्यस्तो उम्मेदवार खडा गर्ने दाबीसमेत गरे । उता नीलेन्द्र श्रेष्ठले आफू नै महासचिवको उम्मेवार भएको दाबी गर्दै आफूलाई उक्त पदमा उठ्न कसैले रोक्न नसक्ने बताए । साथै उनले आफूले चार वर्षसम्म गरेको कार्यको मूल्याङ्कन पनि साथीहरूले गर्ने बताए । उता विवादास्पद सङ्घको अध्यक्ष चतुरानन्दले सार्वजनिक रूपमा महासचिवमा आफ्नो दाबेदारी प्रस्तुत नगरे पनि अध्यक्ष जीवनरामसमक्ष उनले महासचिवमा उठ्ने चाहना प्रकट गरेको थाहा भएको छ । एनओसीको गत संस्करणको निर्वाचनमा चतुरानन्द सचिवमा पराजित भएका थिए । उनलाई तत्कालीन बक्सिङ सङ्घका अध्यक्ष राजीव श्रेष्ठले गोलाप्रथाको आधारमा पराजित गरेका थिए । स्मरण रहोस्, नीलेन्द्र र चतुरानन्द अध्यक्ष जीवनराम सबैभन्दा निकट व्यक्ति मानिन्छन् । यी दुवै व्यक्ति अहिले महासचिवको आकाङ्क्षी बनेपछि जीवनराम निकै अप्ठ्यारोमा परेका छन् ।

त्यस्तै उमेशलाल श्रेष्ठको गुटबाट महासचिवको उम्मेदवार दिने घोषणा पुरेन्द्रविक्रम लाखेले आफ्नो टिम कुनै गुट नभएर ‘पारदर्शी टिम’ भएको बताएका छन् । यसपटक ‘अपारदर्शी टिम’को अन्त्य हुने भन्दै सोही किसिमको रणनीति बनाएर आफूहरू अगाडि बढेको प्रस्ट पारे । ‘जसले पनि म जित्छु भनिहाल्छ, हाम्रो स्थिति पहिलेभन्दा निकै राम्रो छ, त्यो कुरा निर्वाचनको परिणामले बताउँछ,’ लाखेको दाबी थियो । लाखेका शब्दलाई सापटी लिँदा अब भदौ २० गते हुने नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा ‘पारदर्शी टिम र अपारदर्शी टिम’का बीच भिडन्त हुने पक्का भएको छ । यतिबेला ओलम्पिक कमिटीका पदाधिकारीहरू खुलेर आएको अवस्था छैन, जो आएका छन् ती सीमित छन् । त्यसाहेक कति पदाधिकारीको गुटको पहिचान भए पनि उनीहरू ‘च्याँखे’ दाउ हान्नमै व्यस्त छन् । कुर्सीको मोह सबैमा छ, पाए सबै कुर्सीमा विराजमान हुन चाहन्छन् । यस्तोमा आउँदो ओलम्पिकको निर्वाचनमा कसको भाग्य बल्ने हो, त्यो भने अहिले यसै भन्न सकँदैन ।