प्रचण्डलाई मिल्यो ‘महान् मौका’

प्रचण्डलाई मिल्यो ‘महान् मौका’


नेकपा अध्यक्ष प्रचण्डका निम्ति यो साता निकै उपलब्धिमूलक भएको मानिएको छ ।

पार्टी एकीकरणपश्चात् दुई अध्यक्षात्मक प्रणाली कार्यान्वयनमा ल्याइए पनि प्रचण्डले कुनै पनि बैठकको अध्यक्षता गर्ने अवसर पाएका थिएनन् । अर्का अध्यक्ष केपी शर्मा ओलीसँग समय नरहँदा या उनी बिरामी पर्दा बरु बैठक स्थगित गर्ने गरिन्थ्यो, तर प्रचण्डलाई बैठक सञ्चालनको अनुमति मिल्दैनथ्यो ।

पार्टीको सचिवालय, संसदीय दल या अन्य तहका बैठकहरूमा केपी ओलीका निम्ति भव्य सोफा राखिन्थ्यो भने अन्य सबैका लागि एकै स्तरका कुर्सीको व्यवस्था गरिन्थ्यो । प्रचण्ड पनि अध्यक्ष भएको झल्को दिने गरी बैठकमा उनको बस्ने व्यवस्था मिलाउने गरिँदैनथ्यो । पहिलोपटक प्रचण्डले गत सोमबार (भदौ ९) केपी ओली बसेकै ठाउँमा बसेर बैठक सञ्चालन गर्ने मौका पाए ।

पार्टी सचिवालयले महत्वपूर्ण सबै विषयको टुङ्गो केपीकै अध्यक्षतामा बैठक बसेर लगाइसकेको थियो । पहिले नै सहमति बनिसकेका केही साना विषयलाई मात्र प्रचण्ड अध्यक्षतामा बसेको बैठकद्वारा औपचारिकता दिइएको छ । कुनै महत्वपूर्ण निर्णय लिन नपाउने भए पनि प्रचण्डका निम्ति आफ्नो अध्यक्षतामा बैठक बस्नु नै महत्वपूर्ण घटना या उपलब्धि हुन पुगेको छ ।

भिडियो कन्फरेन्सका माध्यमबाट मन्त्रिमण्डलको अध्यक्षता गर्ने केपीले चाहेका भए सोही प्रविधिको प्रयोग गरी सचिवालय बैठक पनि राख्न सक्थे । तर, कुनै महत्वपूर्ण निर्णय लिनुपर्ने अवस्था नभएकोले हुन सक्छ ओलीले प्रचण्डलाई बैठकको अध्यक्षता गर्ने रहर पूरा गरिदिएका छन् ।