विश्व च्याम्पियनसिपको उपाधि जितेपछि पीवी सिन्धुलाई मोदीको वधाई

विश्व च्याम्पियनसिपको उपाधि जितेपछि पीवी सिन्धुलाई मोदीको वधाई


भारतीय ब्याडमिन्टन स्टार पीवी सिन्धुले विश्व च्याम्पियनसीपको उपाधि जितेर इतिहास रचेकी छिन् । स्वीट्जरल्यान्डको वासेलमा आयोजित ब्याडमिन्टनको विश्व च्याम्पियनसीप फाइनलमा स्वर्ण पदक जितेर उनले इतिहास रचेकी हुन् ।

फाइनलमा जापानकी चर्चित खेलाडी निजोम ओकुहारालाई केवल ३६ मिनेटमा २१–७, २१–७ ले पराजित गर्दै पीवी विश्व च्याम्पियनसीपको उपाधि जित्ने पहिलो भारतीय खेलाडी बनेकी हुन् ।

यसअघि दुई पटक विश्व च्याम्पियनसीपको फाइनलमा पुगे पनि उनी उपाधि जित्नबाट वञ्चित बनेकी थिइन् । पीवी सन् २०१७ मा जापानकी खेलाडी ओकुहारा र २०१८ मा स्पेनकी केरोलिना मरिनसँग पराजित भएकी थिइन् । तेस्रोपटक फाइनलमा पुग्न सफल भएकी पीवीले यसपटक आफ्नो सपना पूरा गरेर छाडेकी छिन् । यो ऐतिहासिक विजयसँगै पीवीले पहिलो स्वर्ण पदकका साथ पाँच पदक जितेकी छिन् ।

अगष्ट २५ मा विश्व च्याम्पियनसीपको उपाधि जितेपछि पीवीले ब्याडमिन्टन इतिहासमा भारतको नाम स्वर्ण अक्षरले लेखिदिएकी छिन् । ऐतिहासिक उपाधि हासिल गरेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र खेलकुद मन्त्री किरण रिजिजुले पीवीलाई बधाई दिएका छन् । प्रधानमन्त्री मोदीले ट्वीट गर्दै ‘प्रतिभाकी धनी पीवी सिन्धुले एकपटक पुनः भारतलाई गौरवान्वित गरेकी छिन’ भनेर लेखेका छन् । साथै, यो उपलब्धि भारतीय खेलाडीको लागि प्रेरणा बन्ने पनि मोदीले उल्लेख गरेका छन् ।