शिलन्यास भएको ११ बर्षमा माडीखोला पुल निर्माण, ऊर्जामन्त्रीद्वारा उद्घाटन

शिलन्यास भएको ११ बर्षमा माडीखोला पुल निर्माण, ऊर्जामन्त्रीद्वारा उद्घाटन


करीब एकदशकअघि आफैँले शिलान्यास गरेको रोल्पा माडीखोला पुलको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज उद्घाटन गरेका छन् ।

तीन वर्षभित्र निर्माण कार्यसम्पन्न गर्ने गरी विसं २०६५ मा तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठी र अर्थमन्त्रीको हैसियतले वर्षमान पुनले संयुक्तरुपमा उक्त पुल शिलान्याश गरेका थिए ।

सरकारले पहिलो निर्माण व्यवसायीले काम गर्न नसकेको भन्दै दोस्रोपटक टेण्डर आह्वान गरी अर्को निर्माण कम्पनीलाई उक्त पुल निर्माणको जिम्मा दिएको थियो । सत्र महीनाभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी एसियाटिक राज जेवि कन्ट्रक्सन रोल्पाले उक्त निर्माण कार्यको जिम्मा पाएको हो ।

अघिल्लो वर्ष असार ३१ गते सम्झौता गरी सोही वर्षको भदौ १ गतेदेखि निर्माण आरम्भ गरेको उक्त पुल ११ महीनामा सम्पन्न भइसकेको छ । उक्त पुल रु तीन करोड ३५ लाखको लागतमा निर्माण गरिएको हो ।

अघिल्लो निर्माण व्यवसायीसँग रु चार करोड बढी लागतमा निर्माणका लागि सम्झौता भएको थियो । निर्माण व्यवसायी वसन्त दशौदीले पटकपटक गरी एक करोड बढी भुक्तानी लिइसकेको सडक डिभिजन कार्यालय प्यूठानले जानकारी दिएको छ । उद्घाटन समारोहमा मन्त्री पुनसँगै पूर्वसभामुख ओनसरी घर्तीमगर, प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, प्रदेश सांसद दीपेन्द्रकुमार पुनमगर लगायतको उपस्थिति थियो ।

पुल वनेसँगै रोल्पाको पश्चिमी भू–भागमा उत्पादन हुने तरकारी, फलफूल, घीउ, दाल, जडीबुटी, खसीबोका सदरमुकाम लिवाङ ल्याउन सहज हुने भएको छ । पुल नहुँदा सदरमुकाम लिवाङ, सुलिचौरजस्ता बजार क्षेत्रमा खपत हुने अधिकांश तरकारी पश्चिम रोल्पाबाट सल्यान दाङ हुँदै पुनःरोल्पा आउने भएकाले लागत मूल्य पनि अधिक हुने गरेको थियो ।