लामो गन्तब्य नपाएको भन्दै आलोचनामा परेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही भदौ १२ गतेदेखि जापानको ओसाका उडान गर्ने भएको छ । जापान उडानबारेको अन्यौललाई चिर्दै निगमले ओसाका गन्तव्यमा सिधा उडानको औपचारिक तालिका सार्वजनिक गरेको हो ।
ओसाका उडानका लागि सम्पूर्ण तयारी भएको निगमले मंगलबार पत्रकारसम्मेलन गरी जानकारी दिएको छ । निगमका अध्यक्ष मदन खरेलले आगामी २९ अगष्ट २०१९ अर्थात भदौ १२ गतेदेखि जापानमा नियमित उडानको तयारी गरिएको बताएका हुन् ।
भदौ १२ देखि जापानको ओसाका पहिलो ‘सेडुवल फ्लाइट’ गर्ने र त्यसका लागि सम्पूर्ण तयारी गरिसकेको भन्दै उनले जापान उडान हुन्छ कि हुँदैन भन्ने विभिन्न आशङ्का र अन्योलबारे स्पष्ट पार्नको लागि कार्यक्रम गरिएको बताए ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ओसाका कन्साई इन्टरनेशनल एयरपोर्टमा निगमले २७४ यात्रु क्षमताको वाइड बडी ए ३३०–२०० जहाजबाट नियमित उडान गर्ने योजना र साताको तीन मङ्गलबार, बिहीबार र शनिबार काठमाडौँ–ओसाका नियमित उडान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको छ । उक्त गन्तव्यमा दुईतर्फी भाडा रु ७२ हजार ८१४ कायम गरिएको छ । यो प्रवद्र्धनात्मक भाडा दर हो । एक महिनापछि नयाँ भाडादर कायम गरिने निगमले जनाएको छ ।
काठमाडौँदेखि ओसाका उडानको समयावधि छ घण्टाको छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ । शुरुका महीनामा केही समस्या भए पनि दशैँ, तिहारदेखि व्यावसायिक सफलता पाउने निगमले प्रक्षेपण गरेको छ ।
जापान सिधा उडान भएपछि पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । कम्तीमा पनि वार्षिक ४० हजार पर्यटक भित्र्याउने निगमले जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै जापान उडानको योजना बनाइएको पनि अध्यक्ष खरेलले बताए ।
निगममले वाइड बडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलो पटक उडान भर्न लागेको हो ।
प्रतिक्रिया