रवि लामिछानेमाथि थप अनुसन्धान गर्न पाँच दिनको म्याद थप

रवि लामिछानेमाथि थप अनुसन्धान गर्न पाँच दिनको म्याद थप


पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीनजनाविरुद्ध थप अनुसन्धान गर्न पुनः ५ दिनको म्याद थप गरिएको छ । पहिलो चरणको पाँच दिनको म्याद सकिएपछि चितवन प्रहरीले थप समय माग गर्दै मंगलबार तीनैजनालाई अदालतमा पेस गरेको थियो ।

प्रहरीको मागबमोजिम जिल्ला अदालत चितवनले लामिछानेसहित न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेल र रुकु भनिने नर्स अस्मिता कार्कीलाई हिरासतमा राख्न थप ५ दिनको म्याद दिएको हो ।

अदालतले म्याद थपेसँगै अब उनीहरू तीनैजना (रवि, युवराज र अस्मिता) ले थप पाँच दिनसम्म प्रहरी हिरासतमै रहनुपर्ने भएको छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धानका लागि उनीहरू तीनैजनालाई काठमाडौंबाट पक्राउ गरी प्रहरीले गत बिहीबार चितवन लगेको थियो । आत्महत्या गर्नुअघि मृतक पुडासैनीले आफूलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै उनीहरूको नाम लिएको भिडियो सार्वजनिक भएपछि अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले अस्मिता र युवराजको साबिती बयान लिइसकेको जनाएको छ । रविको भने मंगलबार बिहान मात्र बयान लिने क्रम शुरु भएको प्रहरीले जनाएको छ । उनको बयान लिने क्रम नसकिएको भन्दै प्रहरीले समय थपको माग गरेपछि अदालतले सो समय दिएको हो ।

उनीहरूलाई एकैपटक पाँच दिनभन्दा बढी समय थप गर्दा रविको समर्थनमा भइरहेका प्रदर्शन अझ प्रभावित हुने कुरालाई मध्यनजर गर्दै पाँच दिन मात्र समय थप गरिएको प्रहरी स्रोतको भनाइ छ ।

पत्रकार पुडासैनी साउन २० गते चितवनको कंगारु होटेलको २०२ नम्बर कोठामा झुन्डिएरको अवस्थामा मृत फेला परेका थिए ।