जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले रु. एक करोड २० लाख ४८ हजार जरिवाना (राजस्व) संकलन गरेको छ । आर्थिक वर्ष ०७५–७६ को अवधिमा सवारी कारबाहीबाट उक्त जरिवाना संकलन गरिएको हो ।
सवारीसाधन कारबाहीबाट जरिवाना रकम संकलन गरेको यो रकम अहिलेसम्मकै उच्च रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यस वर्ष बढी राजस्व संकलन भएको प्रहरी नायब निरीक्षक विष्णु बस्नेतले जानकारी दिए । सिन्धुलीमा सवारी चाप बढ्दै जाँदा सवारीसाधनहरूले नियम उल्लंघन गर्दा कारबाहीको संख्या पनि बढेको उनको भनाइ छ ।
सवारी कारबाहीबाटै एक महिनामा न्यूनतम सात लाख राजस्व संकलन भएको छ । एक आवमा १७ हजार ७ सय २२ सवारीसाधन कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । नियमविपरीत चलेका दुई हजार ६ सय ४८ बस, आठ हजार ८ सय ११ ट्रक, चार हजार ६ सय ६९ जिप तथा कार, ७४५ ट्याक्टर, तीन हजार ७ सय ४४ मोटरसाइकल र एक हजार २ सय ३८ टेम्पो कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । सवारी कारबाहीबाट सबैभन्दा कम साउन महिनामा सात लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक प्रहरीले भदौमा १२ लाख २५ हजार, कात्तिकमा ११ लाख ९२ हजार, पुस, फागुन, चैत र वैशाखमा १० लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।
बीपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा सवारीको चाप बढ्दै जाँदा सवारीको कारबाही संख्या पनि बढ्दै गएको हो । आव ०७४–७५ मा ट्राफिकले एक करोड आठ लाख ५४ हजार ५ सय राजस्व संकलन गरेको थियो ।
बीपी राजमार्गको सिन्धुली सडकखण्डमा ‘टाइमकार्ड’ लागू गरिएपछि दुर्घटना कम भएको प्रहरी निरीक्षक बस्नेतको भनाइ छ । सिन्धुली हुँदै काठमाडौं र काठमाडौं हुँदै तराईका विभिन्न जिल्लालाई गन्तव्य बनाएर दैनिक ७ सयभन्दा बढी सवारी साधन गुड्ने गरेका छन् ।
rss
प्रतिक्रिया