पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धान गर्न टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने समातिएपछि चितवनमा भएको प्रदर्शनका क्रममा आज (शनिबार) प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
उच्छृङ्खलता प्रदर्शन गरी प्रहरीमाथि ढुङ्गा हानेपछि पाँच जनालाई पक्राउ गरिएको चितवनका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिएका हुन् । उनीहरुलाई कानूनअनुसार कारवाही हुने बताउँदै कोइरालाले प्रदर्शनले अनुसन्धानलाई कुनै फरक नपार्ने जानकारी पनि दिए ।
यसअघि शुक्रबार पनि चितवनमा प्रदर्शन भएको थियो । माउन्टेन टेलिभिजनका पत्रकार पुडासैनी यही साउन २० गते चितवनको नारायणगढस्थित होटल कङ्गारुको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।
घटना हुनुअघि उनले न्यूज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालक रवि लामिछाने, सोही कार्यक्रमका प्रस्तोता युवराज कँडेल र ओखलढुङ्गाकी रुकु भन्ने अस्मिता कार्कीको नाम लिएर आफूलाई यो अवस्थामा पुऱ्याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको भिडियो सार्वजनिक भएको थियो ।
उक्त भिडियोका आधारमा प्रहरीले अनुसन्धानका लागि उनीहरुलाई बिहीबार काठमाडौंबाट पक्राउ गरी चितवन लगेको थियो । उनीहरुलाई प्रहरीले शुक्रबार चितवन जिल्ला अदालतमा पेश गरेकामा अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ ।
तर, विनाछानबिन रविलाई रिहा गर्नुपर्ने मागसहित हजारौँ समर्थकहरुले चितवनस्थित प्रहरी कार्यालयबाहिर प्रदर्शन गर्दै आएका छन् ।
प्रतिक्रिया