भुल्यौ कि गाउँलेहरु हो

भुल्यौ कि गाउँलेहरु हो


■ पुरुषोत्तम ढकाल

भुल भुलैयामा
भुल्यौ कि गाउँलेहरु हो !
नसुनेर मेरो आवाज बिर्सियौ कि ?
नदेखेर मेरो आकृति
हरायो कि मन मस्तिष्कमा
भूगोलको अर्को कुनाको तिम्रो साथी
हो म यतै छु तर मन मेरो त्यतै छ ।

तादिको बालुवा र ढुंगा सोहोरेर
उजाड बनेको बगरमा मेरो पाइलो मेटियो होला
नहरको मुहान भत्किँदा मैले थुनेको चपरीको माटो बगायो रे
चौघडाको पारीतिर जोड्ने फड्के फेरेर पुल जोड्दासम्म
हो साथीसँगै थिएँ म, छेरिखोला हुँदै कालिमाटी कुँदेर
गड्खारदेखि पट्टाबारी चहारी हिँड्ने डुलुवा
चौताराको शितल छहारी, कुवाको त्यो मिठो पानी
सँगै पिउनुपर्छ भन्ने म, खहरेलाई निर्धक्क बग्न दिउँ भन्थे।

किनापती, पाउँदुरे, माझिपानी र रावलस्वारा
तल्लोखानी, ढकालगाउँ र शिखरकठेरी मात्र हो र ?
चारसय बन, चौताराडिही बनै बनको थाकल चुस्दै
म उडुवा घुमिरहन्थे र घुमाइरहन्थे साथी र सखा
विर्सेको छैनौ भने बतासेको चौतारामा सुस्ताउनु एक पल
त्यो चिसो चिसो हावाको झप्कोमा मेरो याद आउला
हो तादीको दोभानमा पौडने दिन गयो
वर्षादमै सहि छाल र भंगला भुल्किदा
त्यो खोलाको किनारामा उभिएर नियाल्नु
मेरो तस्बिर देखिन्छ तर छालझैँ निमेषमै हराउँछ ।

छोई-छिटोमा बाँडिएको दोस्तीलाई
चौथी र देउसीमा जोड्ने सहभोज कति मिठो खान्थ्यौँ
हेक्का छ भने ब्रम्हाक्षेत्र पुगेर अँध्यारो होइन उज्यालो
मृत्यु होइन जीवन, एक्लै भट्ट्याउने म, सुन्ने एक हुल साथी
चेतनाको त्यो लहर कतै थामियो कि दलको दलदलमा
सुन्छु बास पनि पाउन धौ छ’रे मेरो गाउँमा
भोकमा भोजन त लोक कथा जस्तै
स्वागतम् सुन्न पनि दुर्लभ छ रे मेरो ठाउँमा ।

फलेर के गर्नु, पिप्ले र गैरीफाँट विषालु बनेको रहेछ
गुरुङडाँडाको स्वादिलो उखु र तरुल जाति नै मासियो’रे
गड्खारको आँप र कालिबनको कालीजुत उहिल्यै नासियो
थानसिंहको गोरुजुधाईमा हराएको साथी प्लटिङ गर्दैछ रे
त्यो प्लट बनाउदा गरा नमास्नु है, मेरो याद पनि मासिने छ
ठिकै छ, भूगोलको अर्को कुनाको तिम्रो साथी विर्सेर केही हुन्न
त्यो खोलामा वत सकियो, हेर त हाम्रो वतन पनि सकियो
रनबन सकियो, खहरे र खोला सक्ने मेसो जोडतोडले
जानुु त छ एकदिन तादिको तीरमा जल्न, जलाउनेले सोध्ला
कहाँ छ त्यो मान्छे त्यतै जाउँ भन्ला…
त्यो दिन तिम्रो म हुन्न यो धर्तीमा ।।

हाल : लसएन्जलस, संयुक्तराज्य अमेरिका