रङ्गपत्रकार जीवनको जीवन चलाउने फर्मुला

रङ्गपत्रकार जीवनको जीवन चलाउने फर्मुला


केही वर्षअघिसम्म पत्रकारितालाई जीवन चलाउने पेसा मानिँदैनथ्यो । त्यसमाथि पनि मनोरञ्जन बिटमा काम गर्ने पत्रकारलाई त अझै गाह्रो थियो । अहिले भने रङ्गपत्रकारिताले निकै ठूलो फड्को मारेको छ । रङ्गपत्रकारिता गर्नेहरूलाई जीवनयापनमा खासै कठिनाइ परेको पाइन्न । आफ्नो कामलाई इमान र प्रतिबद्धताका साथ निरन्तरता दिने हो भने रङ्गपत्रकारिताबाटै जीवन सहज बनाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् चलचित्र पत्रकार जीवन पराजुली ।

एक दशक लामो पत्रकारिता यात्रामा पराजुलीले सिकेको एउटा महत्वपूर्ण सूत्र, जसका कारण आज पनि पत्रकारितामै उनलाई क्रियाशील बनाइरहेको छ, त्यो हो निरन्तरता । पत्रकारिताको यात्रामा अनेकौँ व्यवधानलाई परास्त गर्ने जीवनको एउटै मात्र अस्त्र थियो निरन्तरता, अनि आफ्नो कार्यप्रतिको आत्मविश्वास । आफैँले मनोरञ्जनात्मक अनलाइन न्युज पोर्टल चलाएर उनले पत्रकारितामा नयाँ फड्को मारेका छन् । ‘ठूलोपर्दा टीभी’ नामक युट्युब च्यानल पनि सञ्चालन गरेका छन् उनले जुन नेपाली भिडियो च्यानलमा उत्कृष्टमध्ये पर्छ । जीवनले एक वर्षसम्म नेपाल टेलिभिजनको चलचित्रसँग सम्बन्धित एक मात्र कार्यक्रम ‘चित्रपट’समेत सञ्चालन गरेका थिए ।

जीवन भन्छन्, ‘दर्शक, स्रोता र पाठकले दिएको हौसला र कर्म गर्दै जाँदा पाएका सम्मान र अवार्डहरूले मेरो पत्रकारिता यात्रा अर्थपूर्ण बनिरहेको महसुस हुन्छ, यससँगै मेरो जीवनचर्या सुखमय नै छ भन्नुपर्छ ।’ नेपालमा मनोरञ्जन पत्रकारितालाई व्यावसायिक बनाउन आवश्यक रहेको धारणाका साथ जीवनले थपे– ‘पत्रकारितामा आत्मसन्तुष्टि मिलेर मात्र हुँदैन, जीवन पनि चल्नुपर्छ, जसको लागि व्यावसायिक भएर काम गर्नुपर्छ ।’