प्रदेश २ को नामाकरण र राजधानी तय गर्न प्रक्रिया सुरु

प्रदेश २ को नामाकरण र राजधानी तय गर्न प्रक्रिया सुरु


प्रदेश २ को नामाकरण र स्थायी राजधानीका लागि औपचारिक रुपमा प्रक्रिया सुरु भएको छ । सत्तारुढ समाजवादी पार्टी र राजपाका नेताहरू मधेश प्रदेश नामाकरण हुनुपर्ने भन्दै आएका छन्, जबकि प्रदेशको नाम मिथिला प्रदेश, जानकी प्रदेश, मध्यमधेश, मिथिला भोजपुरा लगायतबारेमा समेत बहस चलिरहेको छ ।

प्रदेशसभा सचिवालयले प्रदेशको नाम र स्थायी राजधानीबारे प्रस्ताव दर्ता गराउन आह्वान गरेको छ । प्रस्ताव दर्ता गर्न चाहने प्रदेश सांसदहरूले आगामी भदौ ५ गते साँझ ५ बजेसम्म प्रस्ताव दर्ता गराउन सक्ने जानकारी सचिवालयले दिएको छ ।

यसअघि प्रदेश सरकारले नामाकरण र राजधानीका लागि राय सल्लाह संकलनका लागि सम्वाद सुझाव आयोग गठन गरेको थियो । सो आयोगले आफ्नो प्रतिवेदन बुझाइसकेको छ ।

आयोगको प्रतिवेदनअनुसार सबभन्दा बढी ६८ प्रतिशत मत मधेश प्रदेशको पक्षमा रहेको आयोगका सदस्य तथा राजपाका सहमहासचिव रामप्रवेश बैठाले जनाएका छन् । तर, प्रदेश २ को नाम ‘मधेस’ नै रहनेमा अझै निश्चितता भने नभएको सो प्रदेशका एक सांसदले बताए ।