डा. हेमराज शर्माले महासचिवमा उम्मेदवारी दिने

डा. हेमराज शर्माले महासचिवमा उम्मेदवारी दिने


■ डिल्ली अम्माई, बेल्जियम

बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिक शास्त्रका प्राध्यापक तथा गैरआवासीय नेपाली संघको नयाँ विधान (२००७ मा परिमार्जित) को खाका र नियमावलीका मस्यौदाकार समेत रहेका गैरआवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्माले आगामी कार्यकालका लागि महासचिवमा उम्मेदवारी दिने आशय ब्यक्त गरेका छन्।

बेल्जियमको आन्त्वेर्पेनमा क्षेत्री समाजले गरेको सम्मान ग्रहण गर्दै मन्तब्यको क्रममा उनले एनआरएनएले अनुभवी महासचिवको आवश्यकता महसुस गरेकोले साथीहरुसँगको ब्यापक परामर्श र आग्रहपछि चुनावी मैदानमा आउनु परेको जानकारी दिए । आफू अझै पनि सहमतिको पक्षमा रहेको उल्लेख गर्दै उनले महासचिवकै आकांक्षी सहकर्मी जानकी गुरुङसँग यस विषयमा छलफल गर्ने बताए।

पहिला जस्तो अवस्था छैन, उम्मेदवारहरु पहिलेको तुलनामा कम नै छौँ भन्दै जानकीजीलाई उपयुक्त स्थानमा व्यवस्थापन गरेर सहमतिमा जान सकिने अवस्था रहेको पनि उनले प्रष्ट्याए । साथीहरुको आत्मसम्मानमा ठेस नपुग्ने गरी सम्मानित समायोजनको पक्षमा आफू रहेकोले निरन्तर छलफलहरु गर्न सकिने उनको प्रष्टोक्ति थियो ।

सम्मान कार्यक्रममा बोल्दै बाग्लुङ स्थाई घर भएका प्राध्यापक शर्माले राजनैतिक पोलोराइजेशनले संगठन ध्वस्त हुने तर्क गर्दै सम्पूर्ण एनआरएनहरु खराव प्रवृत्तिको विरुद्ध एक ढिक्का हुन अनुरोध समेत गरे।

त्यस्तै, क्षेत्री समाजको सम्मान कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय परिषदका महासचिव बद्री केसीले समेत आगामी अक्टोवरमा हुने चुनावमा आफू उपाध्यक्षको आकांक्षी रहेको बताएका थिए।

क्षेत्री समाज बेल्जियमले सम्मान कार्यक्रमको आयोजना गरी प्राध्यापक तथा गैरआवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्मा र महासचिव बद्री केसीलाई सम्मान गरेको हो। सो अवसरमा समाजका महासचिव मीन क्षेत्री, अध्यक्ष मुना केसी, सल्लाहकार किशन केसी, एनआरएनए कृषि प्रवर्द्धन समिति तथा मुना कार्यदलका संयोजक युवराज गुरुङ लगायतको विशेष उपस्थित रहेको थियो।