कता घुम्दैछ आगामी एनआरएनए केन्द्रिय प्रतिस्पर्धाको सुई ?

कता घुम्दैछ आगामी एनआरएनए केन्द्रिय प्रतिस्पर्धाको सुई ?


■ डिल्ली अम्माई

गैरआवासीय नेपाली संघको केन्द्रिय महाधिवेशन नजिकिँदै गर्दा आगामी नेतृत्वको प्रतिस्पर्धामा विभिन्न अडकलबाजी शुरु भएका छन् । वर्तमान अध्यक्ष भवन भट्टले आगामी कार्यकालको लागि आफ्नो उम्मेदवारी नरहने घोषणा गरिसक्नुभएको छ । उहाँले यो वा त्यो कसैलाई समर्थन नगर्ने देखिए पनि अन्तमा कसलाई समर्थन गर्नुहुन्छ भन्ने प्रश्नले गहन महत्व राख्ने नै छ ।

अध्यक्ष भट्टको समर्थनमा रहेका एनआरएनहरूलाई आगामी नेतृत्वको लागि उहाँले बाहिरी रूपमा इशारा दिने अध्यायको समाप्ति हुनु वर्तमान उपाध्यक्ष कुमार पन्तको लागि सुखद हुँदाहुँदै पनि भवन र शेष घलेको आन्तरिक र रणनैतिक संकेत एकै दिशामा ध्रुवीकृत भयो भने आगामी नेतृत्वको प्रतिष्पर्धाले भिन्न रुप लिने सम्भावनालाई पनि नकार्न सकिँदैन । अर्कोतर्फ कुमार पन्तलाई भवन भट्टको पूर्ण समर्थन रहने सम्भावना भने प्रवल छ । क्षेत्रिय सम्बन्धको निकटताले मात्र नभई अघिल्लो चुनावताकाको सहमति, सरकार–प्रमुखहरूको आन्तरिक पहल, लगानी सम्बन्धहरू र अहिलेसम्मका सम्पूर्ण गतिविधिहरूलाई नियाल्नेहरूले स्वाभाविक रूपमा पन्तलाई सघाउन भट्ट खुलेर लाग्ने संकेत देखेको बताउँछन् ।

त्यसमा यस्ता धेरै कुराहरू जोडिन आउँछन्, जसको नजरअन्दाज गर्न सबैले सक्दैनन् । हल्लाका भरमा कुनै उम्मेदवारले उहाँको मलाई समर्थन रहन्छ भन्दैमा पत्याउन सकिँदैन । पत्याउनको लागि धेरै सामिप्यता र आधारहरूलाई जोडेर हेर्नुपर्ने हुन्छ ।

एनआरएनए केन्द्रको चुनावमा पुग्ने प्रतिष्पर्धामा रहेका र पुगिसकेकाहरूका आफ्ना कतिपय ब्यवसायिक र ब्यक्तिगत रुचिहरूले विगतका चुनावी रणनीतिहरू प्रभावित हुने गरेका छन् । त्यसमा कसलाई जिताउँदा आफ्नो इन्ट्रेस्टको सम्बोधन हुन्छ भन्नेमा एनआरएनएका संस्थापकदेखि पूर्वअध्यक्षहरूको आन्तरिक चलखेललाई नजरअन्दाज गर्न मिल्दैन । वर्तमान अध्यक्ष भवन भट्टको ‘आवश्यक परे ब्याक सिटबाट फेरि फ्रन्ट सिटमा आउन सक्ने छु’ भन्ने वाक्यांशले त्यतै संकेत गरेको छ ।

वर्तमान घटनाक्रमले अबको नेतृत्वमा वर्तमान उपाध्यक्ष कुल आचार्यको उम्मेदवारीलाई अझ निखारीदिएको छ । उहाँले मुख नै खोलेर घोषणा नगरे पनि कुनै आमसहमतिको अर्को खेल मन्चन भएन भने अध्यक्षमा उम्मेदवारी दिने र प्रतिस्पर्धामा जाने पक्का जस्तै छ । अहिलेसम्मको उहाँका समर्थकहरूको रुचि, नेपाली कांग्रेसका उपाध्यक्षले डेनमार्कको प्रशिक्षण कार्यक्रमको अन्तिम दिन बनाएको भनिएको (कुल आचार्यलाई जिताउने पार्टीसम्बद्ध तीनजनाको केन्द्रिय न्युक्लियस) टिम र अन्य गृहकार्यले उपाध्यक्ष कुल आचार्य चुनावमा होमिनेतर्फ नै संकेत गर्दछ । तर पनि यसबीचमा आमसहमतिको लागि प्रशस्त प्रयास हुने छन् । यसले राजनैतिक ध्रुवीकरणलाई निम्ता गर्ने सम्भावना अझ बढाएर लैजाने छ । तर उपाध्यक्ष कुल आचार्यको राजनैतिक आस्थाअनुसार नेपाली कांग्रेसका सबैले उहाँलाई मतदान गर्लान् ? ठोकेर भन्न सकिने अवस्था छैन ।

उपाध्यक्ष पन्तको हकमा पनि त्यही कुरा सत्य हो । उहाँले ‘एनआरएलाई राजनैतिक हतियार प्रयोग गरेर नेतृत्व लिने कुरा गलत हो र मबाट त्यो कदापि हुँदैन’ भन्नुभएको छ । तर उहाँको विभिन्न कार्यकालमा एनआरएनएलाई राजनैतिक आधारले वर्गीकरण नगरेको, इमान्दारीपुर्वक एनआरएन अभियानमा खटेको र प्रक्रियागत रुपमा समेत नेतृत्व गर्ने पालो उहाँकै भएकोले सके उहाँको नेतृत्वमा सहमति नभए प्रतिस्पर्धाबाट उहाँलाइ यसपटक अध्यक्ष बनाउनु पर्छ भन्ने आवाज पनि त्यतिकै प्रवल छ । बाहिर जे–जति अडकलबाजी भए पनि आगामी नेतृत्वमा पुर्वनेतृत्वहरूको आफ्ना निजी आकांक्षाहरूको टक्कर पर्ने निश्चित छ । मतदाताहरूका आधारभूमिहरू राजनैतिक आधारमा विभाजन गर्न खोजिए पनि त्यो सम्भव छैन । किनकि, यदि राजनैतिक आधारमा एनआरएनएलाई लग्न खोजियो भने त्यसले दीर्घकालीन रुपमा संगठनको गरिमामा असर पार्ने कुरालाई कसैले इन्कार गर्न सक्दैन । त्यसको बेलैमा खबरदारी सुरु गर्नु जरुरी हुन्छ । त्यो प्रवृत्ति स्वयम् त्यसपछि बन्ने नेतृत्वको लागि समेत घातक हुन्छ ।

त्यसैले अबको सम्भावनालाई पुर्वनेतृत्वहरूले पनि न्यायिक, पारदर्शी र संगठनको गरिमाअनुकुल प्रतिष्पर्धामा जाने सल्लाह दिनु, महत्वाकांक्षी सर्तहरू नलाद्नु र अनावश्यक हस्तक्षप नगर्नुमै हितकर हुने छ । अन्यथा क्षमतावान हुँदाहुँदै पनि उपयुक्त ब्यक्ति नेतृत्वमा पुग्ने नसक्ने, सम्पूर्ण एनआरएनहरूको विश्वास गुम्ने र संगठन केही ब्यक्तिको मनोगत महत्वाकांक्षा वा राजनैतिक चक्रब्युहमा फसिरहने खतरा रहन्छ ।

बहालवाला अध्यक्ष भवन भट्टले आगामी चुनावमा नेतृत्व नगर्ने औपचारिक घोषणा गरेपछि एनआरएनएको परिदृश्य के होला त ? सबैको जिज्ञासा हो यो ? यसमा विगत र वर्तमानका घटनाक्रमहरूलाई हेर्दा केही सम्भावनाहरूलाई यसरी आँकलन गर्न सकिन्छ –

■ केन्द्रिय अधिवेशन सम्ममा सहमतिको लागि अनगिन्ती औपचारिक र अनौपचारिक छलफल हुनेछन् र आगामी नेतृत्व कुमार पन्त पछि कुल आचार्यलाई दिन सकिने सर्तलाई सहमतिको आधार बनाउने सम्भावना अत्याधिक रहन्छ ।

■ सहमितिको सम्भावना भए पनि अबको प्रतिस्पर्धा दुई ध्रुवीय हुने सम्भावना प्रवल छ । वर्तमान उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्तबीच चर्को प्रतिस्पर्धा रहने सम्भावना देखिएको छ । त्यसमा शेष घलेको समर्थन कता हुन्छ खुलेको छैन । भवन भट्टको आन्तरिक समर्थन कुमार पन्तलाई हुनेमा त्यो खेमा ढुक्क देखिन्छ । त्यो अवस्थामा कुमार पन्तले अधिक बहुमतका साथ बिजय गर्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन ।

■ पुर्वअध्यक्ष शेष घलेले आफ्ना नजिकका केही आकांक्षीहरूलाई ब्यवस्थापनको लागि पूर्वसर्त राख्ने सम्भावना रहन्छ । त्यसको लागि उपाध्यक्ष कुल आचार्यसँग कुराकानी भइरहेको बुझिन्छ । अर्कातर्फ कुमार पन्तसँग पनि वार्तालाप हुनेछ । उहाँहरूको मिलन कता हुने अझै निर्क्योल भैसकेको छैन । श्रोतका अनुशार कांग्रेस पृष्ठभूमि भएका केही सम्भावित उम्मेदवारहरू कुल आचार्यसँग नजिक देखिन्छन् भने बामपन्थी पृष्ठभूमि भएकाहरू कुमार पन्तसँग समीकरण होस् भन्ने चाहन्छन् । समग्रमा भने ’एनआरएन नेतृत्वमा स्वभाविकतालाई सम्बोधन गरेर सहमति भयो भने एनआरएनएको इतिहासमा नयाँ अभ्यासको नजिर बन्ने थियो’ भन्नेहरू धेरै छन् ।

■ ‘यो मौलिक एजेन्डाहरूको साझा फोरम हो । यसभित्र पसिसकेपछि आस्था स्वतः निस्क्रिय हुनुपर्छ र हाम्रा साझा एजेन्डा प्रवाहित हुनुपर्छ ।’ कुमार पन्तको यो भनाईले सार्थकता पाउन पनि उनको नेतृत्वको परिक्षण हुनुपर्ने मध्यपुर्व, एसिया प्यासिफिक, अष्ट्रेलिया, युरोप, अफ्रिका र अमेरिकाका धेरै एनआरएनहरूको राय रहेको देखिन्छ । तर उनीहरूको एउटै आवाज के छ भने उहाँ निर्णयमा स्वतन्त्र हुनुपर्छ र एनआरएनएलाई सामुहिक निर्णयको स्पिरिटमा हाँक्न हरसम्भव प्रयास गरिरहनु पर्छ ।

■ सबैको थोरै आशा सहमतितर्फ पनि छ । कुल आचार्यले एकपटक पुन उपाध्यक्षमा बस्न स्वीकार गर्नुभयो भने त्यो असम्भव छैन । कतिले भनेका पनि छन्, ‘कुमारजी दुईपटक उपाध्यक्षमा बस्न हुने कुलजी किन नहुने ?’ उठ्ने कुरामा कुल आचार्यले अडान लिनुभयो भने चुनावलाई कसैले टार्न सक्दैन । प्रतिस्पर्धामा गएपछि जित–हारको कुरा त हुन्छ नै । त्यसमा शेष घले, भवन भट्ट र कुल आचार्य गठबन्धन बन्यो भने प्रतिस्पर्धा तीव्र हुन्छ । केही एनआरएनहरू त्यो सम्भावना रहन सक्ने बताउँछन् । तर वर्तमान अध्यक्ष भवन भट्ट र पुर्वअध्यक्ष शेष घले लगायत पूर्वनेतृत्वहरूले आफ्नो प्रतिष्ठा र गरिमामा आँच आउने गरेर आफ्ना चेलाहरूको कित्ताकाट गर्ने र गुट–उपगुट बनाउँदै हिँड्ने आशंकालाई पत्याइहाल्ने कुनै आधार भने देखिँदैन ।

आगामी अगस्ट ३ र ४ तारिक इटालीको रोममा हुने युरोपियन क्षेत्रीय बैठकमा आगामी चुनावी प्रतिष्पर्धाको अमुर्त चित्र देखिने लगभग पक्का छ । त्यसमा को कसको समीकरणबारे कुराकानी चुहिन्छ त्यसले आगामी निर्वाचनमा धेरै अर्थ राख्ने छ । त्यसैले त्यो चित्र हेर्न युरोपियन क्षेत्रीय सम्मेलनसम्म कुर्नैपर्छ ।