राजस्व कार्यालय भरतपुरमा ३० अर्ब राजस्व संकलन





आन्तरिक राजस्व कार्यालय भरतपुरले अघिल्लो आर्थिक वर्षमा भन्दा गत वर्ष रु. आठ अर्ब २१ करोड ५४ लाख नौ हजार बढी राजस्व संकलन गरेको छ ।

सो कार्यालयले गत आर्थिक वर्षमा रु. ३० अर्ब दुई करोड ९० लाख सात हजार राजस्व संकलन गरेको छ । गत वर्षको रु. ३५ करोड राजस्व थपिने क्रममा रहेको छ । अघिल्लो आर्थिक वर्षमा रु. २१ अर्ब ८१ करोड ३५ लाख ९८ हजार राजस्व संकलन भएको थियो ।

कार्यालयका सूचना अधिकारी धनेश्वर अर्यालका अनुसार संकलित राजस्वमध्ये सबैभन्दा बढी अन्तःशुल्कको छ । अन्तःशुल्कमा रु. २६ अर्ब दुई करोड ७४ लाख ९९ हजार संकलन भएको छ ।

त्यसैगरी आयकर रु. दुई अर्ब २१ करोड ३४ लाख ९५ हजार, मूल्य अभिवृद्धि करतर्फ रु. एक अर्ब ५७ करोड ८६ लाख ३१ हजार, ब्याज करतर्फ रु. १० करोड ३९ लाख तीन हजार, वहाल करतर्फ रु. पाँच करोड ९३ लाख ४९ हजार राजस्व संकलन भएको छ । यस्तै, स्वास्थ्य सेवा करतर्फ रु. तीन करोड, ३४ लाख १९ हजार, शिक्षा सेवा शुल्क रु. एक करोड २७ लाख ११ हजार राजस्व संकलन भएको छ । कार्यालयलाई विभागले तोकेको लक्ष्य पूरा गर्न सफल भएको उनले जानकारी दिए ।

उनका अनुसार विभागले कार्यालयलाई रु. ३० अर्ब एक करोड ३६ लाख ५३ हजार राजस्व संकलनको लक्ष्य तोकेको थियो । उनका अनुसार विभागले तोकेको लक्ष्य प्राप्तिका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, करदाता शिक्षा कार्यक्रमलाई गाउँगाउँमा पुऱ्याउने, करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउने, कर दातालाई कर दाखिला गराउनका लागि पटकपटक ताकेता गर्नेलगायतका काम गरिएको थियो ।

कार्यालय प्रमुख सुवप्रसाद रिजालले उद्योगी, व्यवसायी, करदाता, उद्योग वाणिज्य संघ, उद्योग संघ, कर्मचारीलगायतको सामूहिक प्रयासका कारण लक्ष्यअनुसार कर संकलन गर्न सकिएको बताए । मन्त्रालय र विभागबाट भएको सकारात्मक सहयोगले पनि कर्मचारीमा थपिएको ऊर्जाले लक्ष्यमा पुग्न सकिएको उनको भनाइ थियो । कार्यालयमा हाल आयकरतर्फ ५३ हजार ५३३, मूल्य अभिवृद्धि करतर्फ आठ हजार ४५९, अन्तःशुल्कतर्फ रु. पाँच हजार १०३ र व्यक्तिगत स्थायी लेखा नम्बर लिने ४३ हजार ४८३ करदाता रहेका छन् ।
rss

प्रतिक्रिया