भारतीय कांग्रेसकी नेतृ शीला दीक्षितको निधन

भारतीय कांग्रेसकी नेतृ शीला दीक्षितको निधन


छिमेकी भारतको प्रमुख प्रतिपक्षी दल ‘भारतीय काङ्ग्रेस’को शीर्ष तहकी नेतृ शीला दीक्षितको आज (४ साउन, शनिबार) निधन भएको छ । उहाँ ८१ बर्षको हुनुहुन्थ्यो ।

भारतीय कङ्ग्रेसको तर्फबाट दिल्लीको मुख्यमन्त्रीका रूपमा १५ वर्ष नेतृत्व सम्हालेकी उहाँको एस्कर्ट अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो ३ः५५ बजे निधन भएको अस्पतालले जानकारी दिएको बताइएको छ । दीक्षितलाई केही दिन पहिले स्वास्थ्यमा समस्या देखिएपछि केही दिन पहिले अस्पताल भर्ना गरिएको थियो ।

दीक्षित कङ्ग्रेसका पूराना नेता उमाशंकर दीक्षितकी बुहारी हुनुहुन्थ्यो भने भारतको केन्द्रीय मन्त्रीका रूपमा पनि जिम्मेवारी सम्हाल्नुभएकी सफल नेतृ रहेको कङ्ग्रेसका नेताहरूले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

दीक्षितको निधनप्रति दुःख व्यक्त गर्दै भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, प्रतिपक्षी दलका नेताहरू सोनिया गान्धी, राहुल गान्धीलगायतले शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको एएनआईले जनाएको छ ।

सोनिया गान्धीको अत्यन्त निकट दीक्षितलाई दिल्लीको अनुहार बदल्न सफल नेतृको रूपमा लिइन्छ ।