भ्रष्टाचारविरुद्धको कारवाहीमा इमरानको उच्च प्राथमिकता

भ्रष्टाचारविरुद्धको कारवाहीमा इमरानको उच्च प्राथमिकता


पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई गिरफ्तार गरिएको छ । बिहीबार पक्राउमा परेका उनलाई भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्ने अदालतमा लगिने पाकिस्तानी सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

वर्तमान प्रधानमन्त्री इमरान खानका पूर्ववर्ती अब्बासी प्रतिपक्षी दलका नेताहरूमध्ये प्रभावशाली नेता मानिन्छन् । उनी पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल—एन) का नेता हुन् भने सो पार्टी पछिल्लो निर्वाचनमा नराम्ररी पराजित भएको थियो ।

नाम नखुलाउने शर्तमा एक अधिकारीले दिएको गिरफ्तारसम्बन्धी सूचनालाई अर्का सरकारी अधिकारीले पनि पुष्टी गरेका एएफपीले जनाएको छ ।

अब्बासीले सन् १९१७ को अगस्टदेखि २०१८ मेसम्म पाकिस्तानको प्रधानमन्त्रीय जिम्मेवारी सम्हालेका थिए ।

ज्ञात रहोस्, पूर्वराष्ट्रपति असिफ अली जर्दारीलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएको एक हप्तापछि पूर्वप्रधानमन्त्री अब्बासीलाई गिरफ्तार गरिएको हो ।

अब्बासीका पूर्ववर्ती प्रधानमन्त्री नवाज सरिफलाई भने यसअघि गत वर्ष नै सातवर्षे जेल सजायको फैसला सुनाइएको थियो ।

भ्रष्टाचारविरुद्ध काम गर्ने अधिकारीहरूले नवाजका भाइ शभाज सरिफलाई पनि लक्षित गरिरहेको बताइएको छ । पाकिस्तानमा भ्रष्टाचार ठूलो समस्याको रूपमा रहेको छ । एक वर्ष अगाडि प्रधानमन्त्रीका रूपमा इमरान खान निर्वाचित भएपछि उनले भ्रष्टाचारविरुद्धको कारबाहीलाई उच्च प्राथमिकता दिएका छन् ।