उसु महासंघको सचिवमा लाक्पा मनोनित

उसु महासंघको सचिवमा लाक्पा मनोनित


नेपाल उसु महासंघका महासचिव लाक्पा छिरिङ लामा दक्षिण एसियाली उसु महासंघका सचिवमा मनोनित भएका छन् । दक्षिण एसियाली उसु महासंघको नेपालमा सम्पन्न बैठकले लाक्पालाई सचिवमा मनोनित गरेको नेपाल उसु महासंघले जनाएको छ ।

त्यस्तै, नेपाल उसु महासंघका कोषाध्यक्ष लानम लामालाई बैठकले सदस्यमा मनोनित गरेको छ ।

दक्षिण एसियाली उसु महासंघका अध्यक्ष मल्लिकको अध्यक्षतामा बसेको बैठकले नेपालमा सेप्टेम्बर २४ देखि २९ तारिखसम्म दक्षिण एसियाली जज सेमिनार आयोजना गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा नेपालसहित बंगलादेश, श्रीलंका र पाकिस्तानको सहभागिता रहेको थियो भने एसियाली उसु महासंघका अध्यक्ष लोन फकको पनि उपस्थिति थियो । सो अवसरमा बंगलादेश उसु संघका अध्यक्षले नेपाल उसु महासंघका अध्यक्ष एवं निवर्तमान सदस्यसचिव केशवकुमार विष्ट र महासचिव लामालाई मायाको चिनो प्रदान गरेका थिए ।