खेलकुदको बेथिति ‘क्लिनस्विप’ गर्ने सिलवालको उद्घोष

खेलकुदको बेथिति ‘क्लिनस्विप’ गर्ने सिलवालको उद्घोष


■ श्रीविक्रम भण्डारी

नेपाली खेलकुदलाई बेथितिले कति गाँजेको छ त्यो कसैबाट छिपेको छैन । लोकतन्त्रको उदयसँगै खेलकुदमा भित्रिएको बेथिति गणतन्त्रमा अझ मौलाएको छ । साँचो रूपमा भन्नुपर्दा नेपाली खेलकुद नाम मात्रको ‘खेलकुद’ बनेको छ । खेलकुदमा खेलाडीभन्दा राजनीतिक दलका कार्यकर्ता सर्वेसर्वा भएका छन् । यसको ज्वलन्त उदाहरण हो– ७७ जिल्लामध्ये ७६ जिल्लामा एउटै राजनीतिक दलका खेलकुद कार्यकर्ता खेलकुद पदाधिकारी बन्नु । यो वर्तमान अवस्थाको सजीव तस्बिर हो, त्यसभन्दा अगाडि अर्कै राजनीतिक दलका कार्यकर्ताले त्यहाँ ढलिमली गरेका थिए ।

खेलकुदमा त्यस्तो कुनै राजनीतिक दल अछुतो छैन जसले खेलकुदमा धावा नबोलेको होस् । काङ्ग्रेस, एमाले, माओवादी, मधेसी र राप्रपालगायत सबै दलले खेलकुदको उछित्तो काढ्न कुनै कोणबाट बाँकी राखेका छैनन् । वर्तमान अवस्थामा मुलुकमा नेकपाको सरकारसँगै खेलकुदमा यही दलका कार्यकर्ताको हालीमुहाली छ । यी कार्यकर्ताले खेलकुदलाई कसरी सञ्चालन गरिरहेका छन् त्यो खेलकुदको हरेक पक्षमा देखिएको विवादबाटै प्रस्ट हुन्छ । अहिलेको तीतो सत्य यही हो, जुन ऐनाजस्तै छर्लङ्ग छ ।

यस्तो अवस्थामा हालै राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवको जिम्मेवारी रमेशकुमार सिलवालले पाएका छन् । यतिबेला सिलवालका लागि अवसर र चुनौती दुवै छन् । खेलकुद बुझेको र खेलकुदलाई माया गर्ने व्यक्ति भएकै कारण सिलवालबाट खेलकुदले आशा होइन, निकै विश्वास गरेको छ । यसमा सिलवाल कति खरो उत्रिन्छन् त्यो उनको लागि अग्निपरीक्षाभन्दा कम हुनेछैन । राखेपको सदस्यसचिवमा आफ्नो नियुक्तिको पहिलो सातामै सिलवालले थुप्रै प्रतिबद्धता जाहेर गरेका छन् । जसमा उनले पहिलो प्राथमिकतामा ‘परिवर्तन’लाई अगाडि सारेका छन् ।

खेलकुदलाई शुद्धीकरण गर्न ‘परिवर्तन’ मूल अस्त्र हुने सिलवालको ठम्याइ छ । पहिले आफूले यो कुरालाई संस्थागत गर्ने र त्यसपछि खेलकुदको समग्र विकासमा होमिने सिलवालको प्रतिबद्धता छ । त्यसको लागि कार्यभार सम्हालेको पहिलो साताभित्रै सिलवालले देखाएको छनकबाटै पनि अड्कल काट्न सकिन्छ । नयाँ ढङ्गले व्यवस्थित रूपमा खेलकुदलाई सञ्चालन गर्ने सिलवालको प्रतिबद्धताप्रति आमखेलप्रेमीको सकारात्मक धारणा रहे पनि ‘नयाँ जोगीले धेरै खरानी घस्छ’ भन्ने उक्तिलाई यहाँ बिर्सन सकिँदैन । तसर्थ यो कुरा नवनियुक्त सदस्यसचिवमा कत्तिको लागू हुन्छ त्यो उनले गर्ने कार्यमा भर पर्नेछ ।

सदस्यसचिव सिलवालले भने, ‘मसँग जादुको छडी छैन, केही समय लाग्ला, तर मलाई विश्वास छ, खेलकुदमा परिवर्तन गर्न सक्छु भन्ने ।’ सरकारले मलाई निकै विश्वासले पठाएको छ, म यो विश्वासमा खरो उत्रिन चाहन्छु । धेरै बोल्नुभन्दा पनि कामबाटै सबैको जवाफ दिन चाहन्छु । यसर्थमा कि एउटा एक्सन कति महत्वपूर्ण हुन्छ र त्यसको दूरगामी प्रभाव कति पर्छ त्यसलाई आफूले राम्रोसँग आत्मसात् गरेको सिलवालको गर्जन थियो । सिलवालको यो गर्जन आफैंमा स्वागतयोग्य भए पनि जबसम्म कार्यान्वयन हुँदैन तबसम्म गर्जनमै सीमित रहनेछ । यसर्थमा कि खेलकुदका हरेक सङ्घसंस्थामा यति विवाद छ कि त्यो महाभारतभन्दा कम छैन ।

यस्तो अवस्थामा खेलकुदको बेथितिलाई ‘क्लिनस्विप’ गर्ने सिलवालको उद्घोष भविष्यमा कति प्रभावकारी साबित होला त्यो प्रतीक्षा गर्नु नै राम्रो होला । सिलवालको खेलकुदमा भर्खरै नियुक्ति भएको छ, उनी यतिबेला खेलकुदको केस्राकेस्रा केलाउने ध्याउन्नमा छन, जब खेलकुदका हरेक अङ्गमा लागेको क्यान्सर पत्ता लाग्नेछ, त्यसपछिको सिलवालको कदम हेर्न लायक हुनेछ । त्यसपछि सिलवाल खेलकुदमा जागिर खान आएका हुन् कि काम गर्न उनको ‘एक्सन’बाट थाहा हुनेछ ।

स्पष्ट वक्ता र खरो स्वभावका धनी सिलवालले अहिले अनुशासनलाई पहिलो हतियार बनाएका छन् । त्यसैले होला, अहिले सदस्यसचिवको सचिवालयबाट यसको शुभारम्भ भएको छ । हिजोसम्म मुलुकको सदस्यसचिवलाई आफ्नो पार्टीको कार्यकर्ता सम्झिँदै खुलेआम सदस्यसचिवको कार्यकक्षमा सलहजस्तै प्रवेश गर्नेमाथि प्रतिबन्ध लागेको छ । अहिले खेलकुद पदाधिकारी, कर्मचारी र सञ्चारकर्मीले अनुमतिबिना उनको कार्यकक्षमा प्रवेश गर्न नपाउने भएका छन् । यो सिस्टम राम्रो हो, हुनु पनि पर्छ, तर कहिलेसम्म प्रश्न यति मात्रै हो ।

यदि सदस्यसचिव सिलवाल भोलि यो कुरामा अडिग रहन सकेनन् भने त्यसपछिको अवस्था चिन्ताजनक हुन सक्छ । किनकि खेलकुदका कर्मचारी र पदाधिकारी कति चाकरी र चाप्लुसीवाज छन् त्यो सिलवालले बुझ्नु जरुरी छ । छिनछिनमा छेपारोको झैँ रंग फेर्न माहिर उनीहरू यो अवरोध तोड्न मन्त्रीदेखि हेडक्वार्टरसम्म पुग्न बाँकी राख्ने छैनन् । साथै यो अवरोधलाई अर्थपूर्ण बनाउन सिलवाल खुदले पार्टीको सदस्यसचिवभन्दा माथि उठेर मुलुकको सदस्यसचिवको रूपमा प्रस्तुत हुनुपर्नेछ ।

खेलकुदमा कति विकृति र विसङ्गति छ, त्यसको राम्रो ज्ञान छ सदस्यसचिव सिलवाललाई । त्यसैले उनले सबै खेलाडी र पदाधिकारीसँग सहयोगका लागि अपिल गरेका छन् । जसले खेलकुदलाई विवादको थलोको रूपमा परिणत गरिरहेका छन् त्यस्ता तत्वलाई सामाजिक रूपमा बहिष्कार गर्नुपर्ने धारणा सार्वजनिक रूपमा राखेका छन् । यो राखेपमा खेलकुद संस्था दर्ता गरेर म्यानपावरको धन्दा र आफ्नो व्यक्तिगत स्वार्थसिद्ध गर्दै खेलकुदलाई विवादमा तान्ने र बदनाम गर्दै आएकाप्रति लक्षित छ । सदस्यसचिव सिलवाल यो कुरा सीधा रूपमा पनि भन्न सक्थे, तर उनले घुमाउरो पाराले किन भने त्यसको पछाडि अवश्य कारण छ । सिलवालले ती पदाधिकारीहरूलाई सच्चिन मौका दिएका छन् भन्ने अनुमान लगाउन सकिन्छ । तर, विडम्बना ! राइफलको गोलीले समेत प्वाल पार्न नसक्ने र गैँडाका छालासरी भइसकेकाहरूलाई यो कूटनीतिक भाषाले कति असर गर्ला आफैँमा सोचनीय बनेको छ ।

यतिबेला खेलकुदका सबैभन्दा चर्चित सङ्घ तेक्वान्दो, कराते र कुस्ती विवादमा छन् भने विवाद समाधान गरिएका भनिएका सङ्घहरूको पनि स्थायी रूपमा विवाद समाधान हुन सकेको छैन । युवा तथा खेलकुद मन्त्रालयले केही सङ्घको विवाद समाधान गर्दै तीन महिनाभित्र निर्वाचन गर्न निर्देशन दिएको थियो । तर, ती सङ्घहरूको अहिलेसम्म निर्वाचन हुन सकेको छैन अर्थात् ती सङ्घहरू तदर्थ समितिमै सीमित छन् । यस्तोमा कुस्ती सङ्घको विवादले अझै आगोमा घ्यू थप्ने कार्य गरेको छ ।

राखेपमा दर्ता भएको नारायणदेव राणाको कुस्ती सङ्घले निर्वाचनको लागि स्वीकृति माग्दा विघटन गरिएको छ । सङ्घ विवादबाहेक अन्य विभिन्न कारणले खेलकुदको राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियमा समेत बदनाम भइरहेको छ । यसरी खेलकुदलाई बदनाम बनाउने कारकतत्वमा राष्ट्रिय खेलकुद सङ्घ र तिनका खेलाडी, प्रशिक्षक र पदाधिकारी छन् । जुन अहिले खेल्ने वहानामा अमेरिका, क्यानडा र कोरियालगायतका देशमा पलायन भएका छन् । तर, अन्तर्राष्ट्रियस्तरमा नेपालको बदनाम गराउने उनीहरूप्रति सम्बन्धित निकायले अहिलेसम्म कुनै कारबाही अगाडि बढाएको छैन ।

यस्तो दयनीय अवस्थामा गुज्रिरहेको खेलकुदमा आफ्नो कार्यकाललाई पारदर्शी, परिणाममुखी, स्वच्छ र अनुशासित बनाउने सदस्यसचिव सिलवालको प्रतिबद्धताले कसरी सार्थकता पाउला ठूलो प्रश्नचिह्न खडा भएको छ । आँट, साहस र लक्ष्य आफ्नो ठाउँमा होला, तर खेलकुदको वातावरणको कल्पना गर्दा भैंसीको आहालभन्दा कम दूषित छैन । यस्तो विषम परिस्थितिमा खेलकुदको बेथितिलाई ‘क्लिनस्विप’ गर्ने सिलवालको उद्घोष आफैँमा चुनौतीपूर्ण हुने कुरामा दुईमत छैन । खेलकुदको यो तीतो सत्यको जानकारीका बाबजुद पनि नवनियुक्त सदस्यसचिव सिलवालले जुन प्रतिबद्धता जाहेर गर्नुभएको छ त्यो आफैँमा साहसिक कार्यचाहिँ पक्कै बनेको छ । सफलताको शुभकामना, जय होस् ।