राष्ट्रपति ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित

राष्ट्रपति ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित


अमेरिकी संसदको तल्लो सदन द हाउस अफ रिप्रिजेन्टेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरेको छ । द हाउस अफ रिप्रिजेन्टेटिभले चार महिला सांसदलाई लक्षित गरी शृंखलाबद्ध रूपमा राष्ट्रपति ट्रम्पले गरेको रंगभेदी ट्विटको निन्दा गर्नेसम्बन्धी सो प्रस्ताव पारित गरेको छ ।

डेमोक्य्राटिक पार्टीको नियन्त्रण रहेको तल्लो सदनमा ट्रम्पको टिप्पणीलाई निन्दा गर्नेसम्बन्धी प्रस्ताव २४० मतले पारित भएको हो । प्रस्तावको विपक्षमा १८७ मत परेको जनाइएको छ ।

डेमोक्य्राटिक पार्टीका चार महिला नेतृको समूह ‘द स्क्वाड’सँग सभामुख पेलोसीको गएको हप्ता भएको विवादपछि ट्रम्पले उनीहरूविरुद्ध रंगभेदी ट्विट गरेका थिए ।

राष्ट्रपति ट्रम्पले ल्याटिन तथा अफ्रिकन मूलका महिला नेतृलाई लक्षित गर्दै आइतबार ट्विटमा लेखेका थिए, ‘मूल रूपमा राज्यसत्ता पूर्ण रूपमा खराब रहेको देशबाट आएकाहरूले सुझाव दिनुपूर्व आफ्नो मूल देश फर्किए हुन्छ ।’