रासायनिक मलको अभाव हट्ने

रासायनिक मलको अभाव हट्ने


वर्खेधान बालीका निम्ति आवश्यक पर्ने रासायनिक मल डिएपीको अभाव केही दिनमै हट्ने साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड कार्यालय विराटनगरले जनाएको छ ।

तेस्रो मुलकबाट आयात गरिने रासायनिक मल बोकेका २७ ट्रक बाटोमै रहेकाले मल अभाव हट्ने कार्यालय प्रमुख नवीनचन्द्र झाले बताए । लिमिटेडको गोदाममा डिएपी ८०० बोरा तथा युरिया पाँच हजार बोरा मौज्दात रहेको उनले बताए । गोदाममा अहिले पोटास चार हजार ७४२ बोरा, एसएसपी ३५ हजार ८४ बोरा, एसएसबी १८ हजार ५१ बोरा, जिङ्क आठ हजार ९४७ बोरा र अल्मुनियम सल्फेट दुई हजार ४८ बोरा मौज्दात रहेको छ ।

डिएपी मलको अत्यधिक माग बढेको र मौज्दात कम रहेकाले विभिन्न कृषि सहकारी संस्थालाई अवस्था हेरी मल उपलब्ध गराइरहेको झाले बताए । उनले देशभर डिएपीको माग छ लाख मेट्रिक टन रहे पनि आपूर्ति दुई लाख ८० हजार मेट्रिक टन मात्र हुने गरेको बताए । विराटनगरका लागि एक लाख बोरा डिएपी मल ढुवानी गरिएको झाले बताए ।

यसैबीच कृषि सामग्री संस्थान विराटनगरले डिएपी मल मौज्दात नभएको जनाएको छ । कार्यालयमा हाल युरिया चार हजार ५४९ मेट्रिक टन, पोटास १८६.४ मेट्रिक टन र कृषि चुन १०.५ मेट्रिक टन मौज्दात रहेको कार्यालय प्रमुख गोविन्द पराजुलीले जानकारी दिए ।
–––