पूर्व श्री ५ लेख्नुहुन्छ- ‘राजा बनेर देश हाँक्ने कुनै रहर थिएन’





आफ्नो अन्तर्मनको मेरो स्पन्दन !

■ ज्ञानेन्द्र शाह

सिङ्गो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता श्री ५ त्रिभुवनको पौत्र र नेपाली राष्ट्रवादका पृष्ठपोषक राजा महेन्द्रको मध्यम पुत्र एवम् विकास–चिन्तक राजा वीरेन्द्रका भ्राताका रूपमा हाम्रो मातृभूमि नेपालमा म पैदा भएँ ।

सदा शान्त, सौम्य, सुन्दर यो गौरवशाली स्वाधीन नेपाल राष्ट्रमा जन्मन पाएको, यहाँकै माटोमा हुर्कन पाएको र यहीँको धर्तीको सेवामा जुट्न–रम्न पाएकोमा म आफूलाई भाग्यशाली ठान्दछु ।

म नेपालको भक्त हुँ । देशभक्ति मेरो रक्त कण–कणमा प्रवाहित छ । नेपालको प्रकृतिप्रति मेरो अगाध प्रेम छ । यही मनोहारी प्रकृतिको संरक्षण सम्वर्द्धन र सम्मोहनमा मेरो मन निमग्न रहेको पनि हो । मेरो त्यो आस्था, आफ्नो प्रकृतिसँगको त्यो नाता, मोहममता आज पनि उत्तिकै छ ।

हो, म राजकुलमा जन्मेँ । नेपालको राजपरम्परा सदा नै लोकहितकारी रह्यो, त्यसमा मलाई गर्व छ । आफ्नो देश, आफ्नै देशको माया गर्ने र आफ्नो वंश परम्पराको सम्मान गर्ने एक भावुक प्रकृतिको मान्छे म । म डाँडाकाँडा घुमेँ । पाखापर्वत पुगेर रमाएँ । तराईका वैभवशाली समथर फाँट एवम् बस्ती–बस्तीमा पुगेर मैले हाम्रो प्राकृतिक तथा सामाजिक विविधता तथा विकास र पछौटेपनको सूक्ष्म अध्ययन पनि गरेँ । कैयन नदीनाला खोलाखाल्सी तरेँ । भावुकतावश यही नेपालको गीत गुनगुनाएर रमाएँ ।

नेपालको इतिहास, यहाँको प्रकृति, सामाजिक संरचना र अवस्था व्यवस्थालाई आत्मसात् गरेर प्रकृति संस्कृति तथा परिस्थितिमा रमाएको मलाई नेपालको ठूलो महान् र विशिष्ट मान्छे बन्ने लालसा थिएन । मैले पछि थाहा पाएँ, अबोध बाल्यावस्थामै मेरो शिरमा नेपाल राष्ट्रको श्रीपेच पहिऱ्याइयो । त्यो इतिहासले अङ्कित गरेको विषय भएर पनि मलाई त्यस मानेमा गर्वको कुनै अनुभव रहेन । जान्ने–बुझ्ने भएपछि मैले आफ्ना बुबाज्यू राजा महेन्द्रको शासनकालमा र दाज्यैज्यू राजा वीरेन्द्रको राज्यकालमा उहाँहरूलाई सघाउने तथा उहाँहरूका समीप भावपूर्वक रहेर नेपाली प्रकृति तथा यसको समुन्नतितर्फ नै आफूलाई समर्पित राखेँ ।

वि.सं. ०५८ को जेठमा आएर नेपालमा एक अकल्पनीय, दुःखद, अत्यन्त मर्माहत घटना घट्यो । जो सबैका निम्ति त्रासदीपूर्ण थियो, आश्चर्यकारी थियो । अचानक ममाथि ठूलो बज्रपात भयो । सोच्दै नसोचेको आफ्नै वंश नासको पीडा मैले भोग्नुपऱ्यो । राजा वीरेन्द्र, रानी ऐश्वर्य, मेरा दाजु–भाउजू, भाइ–भतिज, धेरैको वियोगको वेदना भोग्नुपऱ्यो ।

जेठ १९ गतेको त्यो अकल्पनीय त्रासदीपूर्ण पीडादायी घटना मेरा आँखामा प्रत्यक्ष रहेन । म राजधानीबाहिर थिएँ, घटनाउप्रान्तको बीभत्स दृश्य मात्र मैले देख्नुपऱ्यो, सहनुपऱ्यो । दरबारभित्रको त्यो कार्यक्रममा मेरी श्रीमती कोमल पनि सम्मिलित थिइन् । त्यो घटनामा मेरी श्रीमतीलाई भगवान्ले कसरी बचाए कुन्नि, उनीलाई पनि गोली लागेको थियो । ठूलै शल्यक्रियापछि पनि अझै पनि उनको शरीरमा गोलीका टुक्राहरू बाँकी रहेको कुरा चिकित्सकहरू व्यक्त गर्दछन् । मलाई कता–कता पीडाबोध भइरहन्छ ।

त्यतिखेर परिस्थिति, विधि र परम्पराको बाध्यताभित्र रहेर मलाई नेपाल राष्ट्रको राजा बन्नुपर्ने अवस्था आयो । मैले सार्वजनिक, औपचारिक, अनौपचारिक तथा आमसाञ्चारिक क्षेत्रको त्यो पीडा एवम् बाध्यता पटक–पटक अभिव्यक्त पनि गरिसकेको छु । मैले धेरै ठाउँमा भनेँ– प्रकृतिमा रमाएको र आफ्नै भावनामा बगेको एक राष्ट्रभक्त चरित्र मलाई राजा बनेर देश हाँक्ने कुनै रहर र लहड थिएन ।

तर, नेपालको परम्परा, संवैधानिक व्यवस्था तथा तत्कालीन घटनाचक्रको अवस्थाभित्र रहेर मैले नेपालको राजगद्दी सम्भाल्नुपऱ्यो । नेपाली राजपरम्पराको लोककल्याणकारी आदर्शकै अवलम्बन गरेर अब मैले राष्ट्र, राष्ट्रवासी र राष्ट्रिय व्यवस्था–अवस्थामा आफूलाई लगाउनुपऱ्यो, लगाएँ, लागेँ र प्रजातान्त्रिक आदर्शलाई अगाडि बढाउँदै आफूलाई संवैधानिक दायराअनुरूप नै आफ्नो धर्मनिर्वाह गरेँ ।

नेपालको राजदरबारभित्र भएको अकल्पनीय घटनापश्चात् आएको राजनीतिक घटनाक्रमको शृङ्खलामा फेरि पनि अनेकथरी गतिविधिहरू भए । तत्कालीन संवैधानिक व्यवस्थाभित्र अनेक व्यवधानहरू खडा गर्ने बखेडा विद्रोह आदि भए । संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय शासन प्रणालीलाई चल्न नदिन अनेक अवरोधक परिस्थितिहरू पैदा भए । चल्दै आएको सुचारु परिपाटीले काम नचलेपछि अरू कुनै वैकल्पिक सोचले केही हुन्छ कि भनेर सोचियो । वार्ता, संवाद, सहमति र सुचारु गतिविधिका अनेक उपायहरू पनि गरियो ।

वि.सं. ०६२/६३ र ०६४/६५ सम्म आइपुग्दा देशको परिस्थितिले के–के कोल्टो फेऱ्यो । त्यतिखेर कतिलाई अतीतको बोध हरायो, कतिलाई भविष्यको अनेक सपना तानाबानाले तान्यो । नमालुम के–के भयो के–के । राजनीतिमा देशी–विदेशी र राज्य व्यवस्थाका दिग्गज पण्डितहरू नै दिग्भ्रमित भएपछि मैले राजपाठ परित्यागको एउटा सामयिक अठोट गरेँ । उदारतापूर्वक परिवर्तनकारी शक्तिहरूबाटै यो मातृभूमिको उत्तरोत्तर प्रगति होला कि भन्ने सोच राखेर नासोका रूपमा श्रीपेच सुम्पेर नारायणहिटी राजदरबारबाट निस्किएँ ।

०६५ जेठ २९ गते नारायणहिटी राजदरबारमा भएको पत्रकार सम्मेलनमार्फत देशवासीलाई सम्बोधन गर्दा मैले भनेको थिएँ– राष्ट्राध्यक्षको हैसियतमा काम गर्दा मैले कुनै कसैको अधिकार हनन् हुने काम गरिनँ । अहिले पनि म आफ्नो अन्तर्हृदय पोख्दछु कि मैले आफ्नो सातवर्षे त्यो राज्यकालमा जे गरेँ, त्यो तत्कालीन संवैधानिक जटिलता र अवरुद्धताको कार्य–कारणमै भएर गरेको हो । अन्यथा मेरा यावत् कार्यकलाप देशहितविरुद्ध थिएनन् ।

अनि त्यतिखेर मैले भनेको थिएँ, ‘म जुनसुकै हैसियत र अवस्था रहे पनि नेपाल राष्ट्रको स्वतन्त्रता, अखण्डतामा समर्पित रहने प्रण गर्दछु, किनकि मलाई स्वतन्त्र राष्ट्र नेपालको माया छ ।’ अहिले पनि १२ वर्षअघिको आफ्नो त्यो कथनको स्मरण गर्दै मेरो अन्तर्मन भन्छ– हाम्रो यो प्यारो देश नेपाल हामी सबै मिलेर बचाउने हो, बनाउने हो । हामी सबै मिलेर हाम्रो देश सिँगार्ने हो अनि हामी सबै जुटेर हाम्रो देशका सबै जनतालाई सुखी र समृद्ध बनाउने हो ।

अहिले हाम्रो मुलुक नयाँ परिवर्तनमा छ । राजनीतिक परिवर्तनको इच्छा र समसामयिक सन्दर्भलाई बुझेर मैले लोकसम्मत आधारलाई अख्तियार गरेँ । तत्पश्चात् पनि एक स्वतन्त्र नागरिकका हैसियतले मैले राष्ट्रभक्ति तथा जनहितकारी कार्यविधिलाई नै आफ्नो राष्ट्रिय धर्म ठान्दै आएको छु । गहन जिम्मेवारी र शासकीय अभिभाराबाट पृथक रहेर पनि मैले यताका १०–१२ वर्षमा निकैपटक देश दर्शन गरेको छु । धेरै–धेरै जनताका हृदय–स्पन्दन छामेको छु र राष्ट्रको अवस्थाको बोध गर्दै आएको छु ।

सायद धेरैको चाहना, भावना वा त्यस्तै केही महत्वबोधका कारणले होला मैले पटक–पटक भनेका, बोलेका कुराहरूलाई सङ्ग्रहित गरेर यो सङ्ग्रह प्रकाशन गरिएकोजस्तो लाग्छ । जे होस्, यो आमजनसमक्ष छ, जे, जसरी र जसले यसलाई अर्थ्याउन् । मेरो अभ्यन्तरको, मेरो अन्तर्मनको आफ्नो स्पन्दन आफ्नो धड्कन त त्यत्ति हो– यो राष्ट्रले उँचो गति लेओस्, यसको स्वाधीनता स्वाभिमान नगुमोस् र नेपाली जनता सुखी र शान्त रहुन् ।

आफ्नो ७३औँ जन्मदिनको सन्दर्भमा मप्रति शुभेच्छा, सद्भाव प्रकट गर्नुहुने सबैप्रति पनि म आफ्नो अन्तर्मनदेखि हार्दिक कृतज्ञताको भाव स्फुरण गर्दछु आफ्नो अन्तर्मनको यो हृदय–स्पन्दनमार्फत । धन्यवाद । जय नेपाल ।

(पूर्व श्री ५ ज्ञानेन्द्रको ७३औँ जन्मदिवसका अवसरमा प्रकाशित ‘सन्देश सङ्ग्रह’बाट)

प्रतिक्रिया