ट्युनिसिया डुंगा दुर्घटनामा कम्तीमा ८० व्यक्ति डुबेको आशंका

ट्युनिसिया डुंगा दुर्घटनामा कम्तीमा ८० व्यक्ति डुबेको आशंका


ट्युनिसियामा भएको डुंगा दुर्घटनामा कम्तीमा ८० जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघ शरणार्थी निकाय (यूएनएचसीआर)ले बिहीबार बताएको छ । बुधबार राति भएको घटनामा कैयौँ व्यक्तिलाई जीवित उद्धार गरिएको यूएनएचसीआरले जनाएको छ । माछा मारी फर्किंदै गरेका माझीले दुर्घटनाग्रस्त डुंगाबाट चारजनालाई जीवितै उद्धार गरी अस्पताल पठाइएकोमा एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

दुईजनाको ट्युनिसियाको जार्जिसमा यूएनएचसीआरको सहयोगमा उपचार भइरहेको छ भने एकजनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको राष्ट्रसंघ शरणार्थी निकायले जनाएको छ ।

भूमध्यसागरीय क्षेत्रका लागि यूएनएचसीआरका विशेष दूत भिन्सेन्ट कोसेटलले भने, ‘आप्रवासीको सुरक्षाका लागि यथास्थितिले निरन्तरता पाउनु गलत हुनेछ । बुधबारको दुर्घटनामा कम्तीमा ८० जना डुबेको अपुष्ट समाचार यूएनएचसीआरले प्राप्त गरेको छ ।’

उनले भने, ‘सहज अवस्था वा विकल्प पाउँदासम्म डुंगाको खतरनाक यात्रा गरी कसैले पनि आफ्नो र आफ्ना परिवारको जीवनमाथि खतरा मोल्न तयार हुँदैन । यो उनीहरूको मजबुरी हो, यसबारे विश्व समुदाय र मानवअधिकारवादी संघसंस्थाको ध्यानाकर्षण हुनु जरुरी छ । हामीले नागरिकलाई अर्थपूर्ण विकल्प दिनुपर्छ जसले उनीहरूलाई डुंगामा पाइला राख्नुपर्ने बाध्यतालाई रोकोस् ।’