धान दिवस कि अपमान उत्सव ?

पाखण्डीहरूद्वारा धानको बिउको अपमान





■ स्वयम्भूनाथ कार्की

विगतका केही वर्षदेखि ‘असार १५’ ले नयाँ पाखण्ड गर्ने अवसर जुटाइदिएको छ । यी पाखण्ड कृषिकर्म तथा किसानको अपमान गर्ने खालका हुने गरेका छन् । अपवादको रूपमा केही राम्रा कार्यक्रम नभएका पनि होइनन्, तर ती नगण्य नै छन् । गैरसरकारी संस्थाहरू नेपालको मौलिकता अनि रैथाने पद्धति मास्न दत्तचित्त छन् । यसका उदाहरणहरू हुन् हात धुने दिवस, मुख पुछ्ने दिवसजस्ता महत्वहीन दिवसहरू । धोती दिवस, टोपी दिवस, गम्छा दिवस, गुन्यू दिवसजस्ता केही दिवस शुरु भइसके केही शुरु हुँदै छन् । राष्ट्रवादको नाममा राष्ट्रिय भ्रान्तिवादका नसाले लठ्ठ पारेकाहरूको सनकले हो वा नेपालको मौलिक चलनमा चोट गर्ने गैससका कदमको रूपमा हो– असार १५ राष्ट्रिय धान दिवस भएको छ ।

कोही–कोही यसलाई दहीचिउरा दिवस पनि भन्न पछि परेका छैनन् । असार १५ को के चलन हो ? किन यो विशेष दिन भयो सम्भवतः धेरैलाई थाहा छैन । अचानक प्रख्यात भएको जुम्लेली मार्सी र त्यससँग जोडिएको जेठ १५ को त विषेश महत्व छ । बाबा चन्दननाथले कस्मिरबाट आफ्नो जटामा लुकाएर ल्याएको मार्सी धानको बिउ जेठ १५ मा भिजाइन्छ जुम्लामा । भनिन्छ त्यो दिन कुनै जुम्ली यदि घर आइपुगेन भने त्यो जीवित नभएको मानिन्छ । यो जुम्ला विशेषको महत्वपूर्ण दिन हो धान खेतीको निमित्त । त्यसै गरेर पहाडी भूभागहरूमा असार महिना धान रोप्ने महिना हो । भर असारमा धान रोपाइँ सकिनुपर्दछ ।

यस कारणले मध्यअसार अर्थात् असार १५ गते पहाडी क्षेत्रमा किसानको निमित्त सबैभन्दा चटारोको दिन हो, बेफुर्सदीको दिन हो । सामान्यतया असारको २०–२५ पछिको रोपोले फस्टाउने समय पाउँदैन । गाँज हाल्न नसक्ने हुनाले उत्पादन घट्न थाल्छ । त्यसैले असार १५ सबैभन्दा बेफुर्सदीको मात्र नभएर तनावयुक्त दिन पनि हो । यो तनाव कम गर्न प्रचलनमा आएको पर्व हो असार १५ । त्यो दिन रमाइलो गर्ने, खेतमा अरू बेला श्रम नगर्ने परिवारका सदस्यहरूले पनि अनिवार्य हिलोमा जानैपर्ने हुँदा परिवारको श्रम शक्ति बढ्ने हुन्छ । यो नै असार १५ को महत्व हो ।

कृषकको यो अपमानको दण्ड प्रकृतिले पक्कै दिनेछ ।

तराई वा मैदानी क्षेत्रमा भने रोपाइँ असारपछि साउनमा हुने गर्दछ । असारको अन्त्य, भरसाउन र भदौको पहिलो हप्तासम्म मैदानी इलाकामा रोपाइँ चल्ने चलन छ । पहाडी इलाकामा भन्दा ज्यादा लामो समयसम्म तराईमा रोपाइँ चल्छ । त्यसैले तराईमा केही असनाधान भन्ने असोज, कात्तिकमा पाक्ने धानबाहेक अन्य धानको चटारो असार १५ मा हुँदैन । अचेल रैथानेभन्दा विकासे धानका प्रजातिका खेती हुने भएकाले तराईमा चैतेधानको पछौटे बाली काट्ने समयको पनि अन्त भएको हुन्छ असार १५ मा । अब यसलाई राष्ट्रिय भ्रान्तिवाद मानेर राष्ट्रिय धान दिवस मान्ने हो भने कुरा बेग्लै हो, तर धान उत्पादनको प्रमुख क्षेत्रमा असार १५ ले केवल पर्वको मात्र महत्व राख्छ ।

असार १५मा घोषणा गरिएको धान दिवसको औचित्यबारे केही प्रश्न नै नउठाउँदा पनि त्यो दिवस मनाउने तरिकाबारे प्रश्न भने उठाउनैपर्छ । मन्त्रीले रोपाहारलाई खेदेर अँगाल्नेदेखि वातानुकूलित कार्यकक्षमा गमलामा धान रोपेर धान दिवस मनाउनुको औचित्य के ? यो किसानलाई गरिएको अपमान होइन र ? त्यसमाथि जिउमा हिलो लाग्ला, मैलो भइएला भन्ने डर राखेर एक–दुई गाभा गाड्नु त झन् अपमानको परकाष्ठा नै हो । त्यस्ता पाखण्डीहरूको थालमा ज्युनारको निमित्त आएको भुजा बन्ने धान त्यही उनीहरू घिनाएर नटेकेको हिलोमा गाडिएर किसानले पैदा गर्छ । के यस्तालाई त्यो भुजा ज्युनार गर्ने अधिकार छ ?

माटोमा रोपेर फलाउन पर्ने बिउलाई जमराजस्तै माला लगाउने पाखण्डीहरूले धानको बिउको अपमान गरेका हुन् । अब त थपमा उरोज, कटी अनि बस्ती प्रदेश धानको बिउले छोपेर फोटो खिचाउने उत्ताउलीहरू पनि देखिन थाले । राष्ट्रिय धान दिवस भनेर कृषक, कृषि अनि अनाजको थप अपमान गर्नुको साटो त्यो दिन साँच्चै धानको, कृषकको अनि कृषिको अभिनन्दन गरेर धान दिवस मनाउने हो भने स्वागत छ नत्र कृषकको यो अपमानको दण्ड प्रकृतिले पक्कै दिनेछ ।

प्रतिक्रिया