नेपालमा लगानी गर्न ओमान सरकारलाई राजदूत ढकालको आग्रह

नेपालमा लगानी गर्न ओमान सरकारलाई राजदूत ढकालको आग्रह


■ आरके श्रीवास्तव, ओमान

ओमानमा नेपाली राजदूतावास द्वारा ‘नेपालमा लगानीको सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रमको सम्पन्न भएको छ । राजधानी मस्कटस्थित डब्ल्यू होटलमा सन् २०१९ जुलाई १ तारिक सोमबारका दिन ओमानका लागि नेपालका राजदुत शर्मिला पराजुली ढकाल, प्रमुख अतिथि अहमद बिन हसन अलदिव, दक्षिण एसिया विभागका प्रमुख पराराष्ट्र मन्त्रालयका हिलाल मारोन अल मामारी, अर्थतन्त्र क्षेत्रका प्रमुख तथा पराराष्ट्र मन्त्रालयका डा. याह्या अब्दुल्लाह अल फन्नाह, ओमान चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका सिइओ अब्दुल अधैम अल बाहराइनीले संयुक्त रुपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन समारोहमा नेपाल र ओमानको राष्ट्रिय गानसँगै मालश्री धुन समेत बजाइएको थियो । सोही कार्याक्रममा २९–३० मार्च ,२०१९ मा काठमाडौंमा आयोजित ‘नेपाल इन्भेष्टमेन्ट समिट २०१९’ मा नेपालका प्रधानमन्त्री केपी ओलीलगायत अन्य देशका प्रमुख व्यक्तिहरुद्वारा सम्बोधित प्रमुख विषयहरुलाई भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।

राजदुत ढकालले मन्तव्यका क्रममा समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य पूरा गर्नको लागि नेपालमा लगानीको महत्वबारे प्रकाश पार्नुभयो । कृषि, उर्जा, आधारभूत संरचना, शिक्षा, औद्योगिक संरचना, सहरी आधारभूत संरचना, यातायात लगायतका लगानीका क्षेत्रबारे उहाँले धारणा राख्नुभएको थियो ।

मन्तव्यकै क्रममा सम्बन्धित क्षेत्रका भिडियोहरु पनि सँगै प्रस्तुत गरिएका थिए । कार्यक्रममा राजदुतले ढकालले लगानी अनुकूल वातावरण बनाउन नेपाल सरकारद्वारा विभिन्न सरकारी र संस्थागत नीतिमा ल्याएका सुधारहरुबारे पनि जानकारी दिनुभएको थियो । नेपालको सामाजिक–आर्थिक विकासको लागि विश्वका सहयोगी हातहरुलाई सहयोगको लागि उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि अहमद बिन हसन अलदिब लाई राजदुत ढकालले मायाको चिनो प्रदान गर्नुभयो ।

विभिन्न देशका राजदुत, मिसन प्रमुख, विभिन्न एम्बेसीका आर्थिक तथा व्यापार सल्लाहकार, इन्भेस्टमेन्ट प्रोमोशन तथा निर्यात विकासको लागि सार्वजनिक प्राधिकरण (आइटिएचआरएए) ओमान र स्टेट जनरल रिजर्भ कोषका विशेष प्रतिनिधिहरु सहित करिब ५५ जनाको कार्यक्रममा सहभागिता रहेको थियो ।

उपस्थित मिसन हेड र राजदूतहरुले लगानीको सम्भावनाको लागि विशेष चासो देखाउनुभएको थियो । ओमान सरकारका तर्फबाट लगानीको लागि छलफल भइरहेको बेला सो कार्यक्रमले थप सहयोग गरेको ओमान सरकारका प्रतिनिधिले प्रतिक्रिया दिए ।

उक्त कार्यक्रमको अन्त्यमा नेपाली दुतावासद्वारा जानकारीको लागि सूचना प्याक वितरण गरिएको थियो । साथै भविष्यमा नेपाली दुतावास मस्कटले सूचना डेक्स खुला राख्ने निर्णय गरेको नेपाली दुतावास मस्कट ओमानले जनाएको छ।