आफ्नै पहलमा खेलस्थलको निर्माण गर्ने घोषणा

आफ्नै पहलमा खेलस्थलको निर्माण गर्ने घोषणा


नेपाल फेन्सिङका अध्यक्ष सुनिलकुमार श्रेष्ठले आफ्नै पहलमा फेन्सिङको खेलस्थलको निर्माण गर्ने घोषणा गरेका छन् । हालै सम्पन्न फेन्सिङ संघको साधारणसभाको उद्घाटन समारोहमा उनले उक्त कुरा बताएका हुन् ।

यतिबेला फेन्सिङ खेलको सबैभन्दा ठूलो चुनौती नियमित प्रशिक्षणका लागि खेलस्थलको अभाव हो । यसको समाधानको लागि सम्बन्धित निकायको पटक–पटक ध्यानाकर्षण गर्दा पनि सुनाई नभएको श्रेष्ठले बताए ।

विगतमा पनि संघले यो विषयमा आवाज उठाउँदै आएको र अहिले पनि उठाईरहेकोमा राज्यले व्यवास्था गरेको श्रेष्ठको आरोप थियो । राज्यले खेलस्थलका लागि उचित स्थानमा जग्गा उपलब्ध गराएको खण्डमा संघले सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको फेन्सिङको खेलस्थल र प्रशिक्षण स्थलको निर्माण गर्ने श्रेष्ठले दाबी गरे ।

साथै यसको लागि राज्यले विशेष चासो दिनुपर्ने र यथासिघ्र कदम अगाडि बढाउनु पर्नेमा श्रेष्ठको जोरदार माग गरेका थिए । यदि सम्बन्धित निकायले यो विषयमा उपेक्षा गर्दै गयो भने संघ चुप लागेर नबस्ने र आफ्नै पहलमा फेन्सिङको खेलस्थलको निर्माणको अभियानमा जुट्ने घोषणा गरेका थिए ।

नेपालको खेल क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल फेन्सिङले आफ्नो स्थापना कालदेखि नै फेन्सिङको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निभाउँदै आएको छ । छोटो समयमै स्वदेशभित्र राष्ट्रिय प्रतियोगिताको र विदेशमा सहभागिता जनाउँदै आएको फेन्सिङले पछिल्ला वर्षहरुमा आफ्ना गतिविधिहरुलाई उत्कृष्ट बनाउँदै आएको श्रेष्ठले दावी थियो । उपकरणको प्रयोग गरेर खेलिने खेल भएकोले नेपालको लागि फेन्सिङ खेल चुनौतीपूर्ण भएको पनि श्रेष्ठले बताए ।

नेपालको लागि निकै सम्भावना बोकेको खेल भएपनि भौतिक पूर्वाद्धारको कमीले गर्दा खेलाडीले आशातीत प्रदर्शन गर्न सकेका छैनन् । यस्तो चुनौतीपूर्ण अवस्थामा पनि फेन्सिङ खेलबाट खेलाडीको भविष्य बन्न सक्छ भन्ने कुरामा आफु विश्वस्त रहेको श्रेष्ठको कथन थियो । राज्यले व्यक्तिगत स्पर्धाका खेलहरुलाई प्राथमिकतामा राखेर लगानी गर्ने र त्यहि अनुरुप वातावरण तयार गरिदिने हो भने फेन्सिङले उल्लेख्य सफलता हासिल गर्ने श्रेष्ठले दाबी गरे ।

फेन्सिङको व्यापक विकास र विस्तारका लागि सम्वन्धित निकायसंग प्रशिक्षकको माग गर्दा कुनै चासो नदेखाएको खुलासा गर्दै यसले खेलाडीहरुमा निरासा छाएको श्रेष्ठले बताए । सम्बन्धित निकायको यस्तो गैरजिम्मेवारी ब्यवहारले गर्दा यतिबेला संघ आफै कदम चाल्ने स्थितिमा पुगेको र निकट भविष्यमै प्रशिक्षक उत्पादन र प्रशिक्षकको स्तोरोन्नतिका लागि जुट्ने पनि श्रेष्ठले बताए । साथै नवनिर्वाचित कार्यसमितिले यसको लागि अहिलेदेखि नै होमवर्कमा जुटने र फेन्सिङको वृहत्तर विकासको लागि कार्य गर्ने बताए ।