सामान ढुवानीका लागि ई–ट्रान्सपोर्टेशन सर्भिस सञ्चालनमा

सामान ढुवानीका लागि ई–ट्रान्सपोर्टेशन सर्भिस सञ्चालनमा


सामान ढुवानी सेवाका लागि ई–ट्रान्सपोर्टेशन सर्भिस सञ्चालनमा ल्याइएको छ । ई–ट्रान्सपोर्टेशन सर्भिस प्रालिले सुचना प्रविधिको उपयोग गर्दै नेपालभर सामान ढुवानी सेवालाई सहज, सरल, व्यवस्थित र पारदर्शी बनाउन तथा निजी सवारी साधन प्रयोगकर्तालाई सडकमा सवारी साधन बिग्रेको अवस्थामा तत्काल सवारी मर्मत सेवा उपलब्ध गराउने उद्देश्यले ई–ट्रान्सपोर्टेशन सर्भिस संचालनमा ल्याएको हो ।

सेवाको विधिवत रुपमा नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबुर पण्डितले उद्धघाटन् गरे । उनले नविनतम सोचका साथ सुरु भएको उक्त सेवाको सफलताको शूभकामना व्यक्त गरे । उनले वर्तमान सरकार पनि ई–गभर्नेन्सतर्फ अघि बढिरहेको सुनाए । उनले भने,‘हामी ई–गभर्नेन्स प्रणालीमा छिटो जान चाहन्छ । र, निजी क्षेत्रबाट जुन यो प्रयास भएको छ । अझै धेरै प्रयास हुन जरुरी छ । यसको निम्ति सरकारको तर्फबाट गर्नुपर्ने जुन भूमिका निर्वाह गर्नुपर्छ, सामान्य र सहकार्य हुँदा पूरै सहयोग प्राप्त हुनेछ भन्ने म विश्वास दिलाउन चाहन्छु ।’

पण्डितले सरल र सहज सामान ढुवानी सेवाका लागि ई–टा«न्पोर्टेशन फलदायी हुने बताए । पेपरलेश क्याविनेट बनाउनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई ल्यापटप दिएको सुनाउँदै पण्डितले भने,‘मन्त्रिपरिषद पेपेरलेस भएर अघि बढेको छ । प्रमले एक महिनाभित्र यदि नियुक्त भएका मन्त्रीहरुले पेपेरलेश क्याबिनेटमा जान्नुभएन भने, ल्यापटप र मन्त्री पद पनि उपहार दिएर विदा गर्ने भन्नुभएको थियो । अहिले पेपरलेश छ ।’

उनले भविष्यमा संघीय संसदले पनि पेपशरलेशको तयारी गरिरहेको जनाए । पण्डितले थपे,‘त्यहाँ पनि पेपरलेश हुन्छ । सरकारको लगानी जुन पेपरमा लाग्छ, त्यो भन्दा धेरै सस्तो प्रविधिको प्रयोग गर्न सकिन्छ ।’ सकारी गाडीको दुरुपयोग रोक्नको लागि आँफैले ०७१ सालमा ट्रयाकिङ प्रणाली सञ्चालनमा ल्याउन खोजेको स्मरण गराउँदै निकट भविष्यमा उक्त प्रणाली लागु हुने मन्त्री पण्डितको भनाई छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले ढुवानी सेवामा प्रालीको उक्त थालनीसँगै सामान ढुवानी क्षेत्रमा भएका समस्या तथा विसंगतिहरु न्यूनिकरण गर्न महत्वपूर्ण सावित हुने विश्वास दिलाए ।

उनले भने,‘यातायात क्षेत्रमा भएका सबैखाले समस्या र विकृति तथा विसंगतिहरुको अन्त्यको लागि सरकार र निजी क्षेत्र दुवै मिलेर सहकार्य गर्नुपर्छ ।’ उनले नयाँ प्रविधिसहित सुरु भएको यो सेवालाई आफूहरुको पूर्ण साथ र सहयोग रहने पनि प्रतिबद्धता जनाए ।

ई–ट्रान्सपोर्टेशनसर्भिस प्रालिका प्रवन्ध निर्देशक सन्तोष मण्डलले उक्त सेवाको उपयोगिताको बारेमा प्रकाश पारेका थिए । उनकाअनुसार उक्त प्रा.लिले मुलतः नेपालभरी कुनै पनि ठाउँबाट जुनसुकै ठाउँमा सामान ढुवानीसँग सम्बन्धित सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।
त्यस्तै, उनले आफूहरुले यो सेवामार्फत निजी सवारी (गाडी) प्रयोगकर्तालाई लक्षित गरि जुनसुकै ठाउँमा गाडी बिग्रेको खण्डमा मर्मत सेवासमेत उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
उनले भने,‘यसका लागि सेवा प्रदान गर्ने यातायात व्यवसायी, चालक, सवारी मर्मत गर्ने वर्कशपहरु रजिष्ट्रर हुनुपर्ने छ र सेवा लिने अर्थात् सामान ढुवानी गर्ने कम्पनी वा व्यक्तिसमेत रजिष्ट्रर भएको हुनुपर्ने छ ।’ देशैभरिका सेवाग्राहीहरुले रजिष्ट्रेसन गरेपछि सबै ठाउँमा सेवा सुचारु हुने उनले स्पष्ट पारे ।