असार मसान्तभित्र दुई सय मेगावाट विद्युत् थपिने



नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रशारण प्रणालीमा चालू आर्थिक वर्षको अन्त्यसम्म करीब २०० मेगावाट क्षमता बराबरको विद्युत् थप हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार सरकारी तथा निजी लगानीका आयोजनाबाट कूल १९५ मेगावाट विद्युत् थप हुन लागेको हो ।

सरकारले चालू आवको अन्त्यसम्म करिव २ सय ८० मेगावाट विद्युत् थप हुने लक्ष्य राखेको थियो । तर केही आयोजना सम्पन्न हुने अवस्थामा पुगे पनि प्रसारण लाइनको अभाव तथा सम्बन्धित आयोजनाकै काम नसकिएका कारण तोकिएअनुसारको विद्युत् उत्पादन भने हुन नसक्ने देखिएको हो ।

माथिल्लो त्रिशूली थ्री ए, कुलेखानी तेस्रो जस्ता नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेका आयोजना सम्पन्न भएका छन् । माथिल्लो त्रिशूली थ्री ए ६० मेगावाट क्षमताको आयोजना हो भने कुलेखानी तेस्रो १४ मेगावाट क्षमताको आयोजना हो । यस्तै निजी क्षेत्रले १२१ मेगावाट विद्युत् प्राधिकरणको प्रणालीमा थप गरेको छ ।

चालू आवभित्रै २२ मेगावाट क्षमताको वाग्मती साना आयोजना, मदक्यू खोला १३ मेगावाट, माई साना क्यासकेड आठ मेगावाट, रुदी खोला ८.८ मेगावाट, सुपर माई ७.८, मोलुङ खोला सात मेगावाट, ठेउले खोला १.५ मेगावाट गरी कूल ११ आयोजना यसअघि नै सम्पन्न भइसकेको छ । चालू आव सकिन केही दिन अझै बाँकी रहेकाले पनि केही मेगावाट विद्युत् थप हुने देखिएको छ ।

आगामी आवको अन्त्यसम्म करिव एक हजार मेगावाट क्षमताका आयोजना सम्पन्न भई राष्ट्रिय प्रशारण प्रणालीमा थप हुने उर्जामन्त्रीको दाबी छ । उक्त क्षमतामा विद्युत् थप भएपछि नेपाल ऊर्जामा क्रमशः आत्मनिर्भर हुन बताइछ ।

प्रतिक्रिया