कास्कीको रूपामा ‘एक घर एक धारा’ अभियान

कास्कीको रूपामा ‘एक घर एक धारा’ अभियान


कास्कीका पाँचवटा स्थानीय तहमध्ये खानेपानीको सबैभन्दा बढी अभाव भोग्दै आएको रूपा गाउँपालिकामा एक वर्षभित्रमा ‘एक घर एक धारा’ पुऱ्याइने लक्ष्य लिइएको छ । गाउँपालिकाको केन्द्र भिरकोटमा एक कार्यक्रमबीच प्रस्तुत गरिएको आर्थिक वर्ष ०७६–७७ को नीति तथा कार्यक्रममा खानेपानी आयोजनालाई निरन्तरता दिइएको हो । चालू आर्थिक वर्षमा ४२ खानेपानी योजनालाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेका २२ वटा सम्पन्न भइसकेको र २० योजना अन्तिम चरणमा रहेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

गाउँपालिकाका बासिन्दालाई ५०औँ वर्षसम्म पुग्ने गरी मादी गाउँपालिकाको थाक र चिप्लीबाट पानी ल्याउनका लागि डीपीआर तयार गरिएको बताउँदै उनले उक्त खानेपानी आयोजनाअन्तर्गत रूपासम्म ल्याउनका लागि कुल २६ किलोमिटरको दूरी रहेको जानकारी गराए । गाउँपालिकामा संघ र प्रदेश सरकारबाट १६ ठूला खानेपानी आयोजना सञ्चालन भइरहेको प्रस्तुत गरिएको नीति तथा कार्यक्रम उल्लेख छ । सम्पन्न भएका योजनाबाट हालसम्म एक हजार आठ सय धारा जडान गरिसकिएको जानकारी दिँदै अध्यक्ष ओझाले हंसपुरको कुर्लुङखोला खानेपानी योजनाबाहेका सम्पूर्ण घरमा पाँच महीनाभित्र एक घर एक धारा अभियान पूरा हुने विश्वास व्यक्त गरे ।

गाउँपालिकामा सञ्चालित ४२ खानेपानी आयोजनाका लागि कुल १० करोड रुपैयाँको बजेट विनियोजन गरिएको बताउँदै उनले त्यसका लागि संघ र प्रदेश सरकारबाट डेढ–डेढ करोड, दातृ निकायको दुई करोड र पाँच करोड रुपैयाँ गाउँपालिकाबाट खर्च गरिएको बताए । गाउँपालिकाको वडा नं. ७ हंसपुरमा सञ्चालित कुर्लुङखोला खानेपानीका लागि पाँच करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उल्लेख गर्दै उनले उक्त योजनाबाट पाँच सयभन्दा बढी घारा जडान गरिने बताए । गाउँमा चार हजार पाँच घरपरिवार रहेका छन् ।

गाउँपालिकाभित्र ‘एक घर एक धारा’ कार्यक्रम सम्पन्न गर्न आवश्यक पर्ने विभिन्न साइजका दुई लाख १७ हजार २४० मिटर एचडीपीई पाइप खरिद गरी निर्माण कार्य अगाडि बढाउनुका साथै कतिपय उपभोक्ता समितिलाई वितरण गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ । सञ्चालनमा रहेका खानेपानी आयोजना सम्पन्न गरी सिंगो गाउँपालिकामा चार हजार पाँच घरधुरीमा एक घर एक धारा पुऱ्याउने अभियानका लागि आगामी आर्थिक वर्षमा आवश्यक रकम विनियोजन गरिने अध्यक्ष ओझाको भनाइ छ । गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङका अनुसार एक घर एक धारा अभियानले एक गाग्री पानीका लागि बिहान खर्चिनुपर्ने बाध्यताबाट स्थानीय बासिन्दा मुक्त भई सो समयलाई थप आयआर्जनमा लगानी गर्न सहयोग पुग्नेछ ।

नीति तथा कार्यक्रममा सडक निर्माण, सिँचाइ, कृषि तथा पशुपालन, प्राविधिक शिक्षा, भकारो सुधार, युवा रोजगार, पर्यटन, स्वास्थ्य एवं बाँदर व्यवस्थापनलगायतका विभिन्न क्षेत्रलाई समेटिएको छ ।

हरि बास्तोला (रासस)