घरायसी विवाद मिलाउँछु भन्दै प्रहरीले नै लिए घुस

घरायसी विवाद मिलाउँछु भन्दै प्रहरीले नै लिए घुस


घुस लिँदै गरेको आरोपमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक पदम कटुवाललाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।

उनलाई शनिबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले रु सात हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो । दाजुभाइमा घरायसी विवाद हुँदा विपक्षीलाई पक्राउ गर्ने नाममा कटुवालले घुस मागेपछि पीडितले अख्तियारमा खबर गरेका थिए । सो पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले रु सात हजार घुस रकमसहित अख्तियारको टोलीले कटुवाललाई नियन्त्रणमा लिएको बताएका छन् । प्रहरी सहायक निरीक्षक कटुवालमाथि प्रहरीले पनि आवश्यक अनुसन्धान शुरु गरिएको उनले बताए ।