तीन अर्ब राजस्व छली गर्ने पन्ध्रविरुद्ध मुद्दा दायर

तीन अर्ब राजस्व छली गर्ने पन्ध्रविरुद्ध मुद्दा दायर


विभिन्न व्यक्तिको नाममा फर्म दर्ता गरेर नक्कली बिजक तयार एवं बिक्री गरी एक समूहले करिब तीन अर्ब रुपैयाँ राजस्व छलेको पाइएको छ ।

सुनसरीको इनरुवा नगरपालिका–९ बलाहा घर भई हाल भक्तपुरको ठिमी बस्ने गोपालप्रसाद भट्टराईसहित १५ जनाले कर छली गरी ठगी गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ । उनीहरूविरुद्ध रु. दुई अर्ब ९८ करोड ५७ लाख ५७ हजार ११५ बिगो कायम गरी बिगोको दुई गुणा जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित काठमाडौं जिल्ला अदालतमा बिहीबार मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

उनीहरूले विनोद धमला, सन्तोषकुमार कार्की, मेघबहादुर श्रेष्ठ, धनबहादुर भोम्जन, भरतबहादुर दुम्जन, विमल पुतुवार, नारायण कोइराला (दमाईं) र पार्वती सूचीकारका नाममा आठवटा फर्म दर्ता गरेर नक्कली बिजक तयार गरी राजस्व छलेको अनुसन्धानमा खुलेको मैनालीले जानकारी दिए ।

उक्त फर्मबाट गोपालप्रसाद भट्टराई र रिम्बरध्वज कार्कीले वस्तु तथा सेवाको खरिदबिक्रीको कारोबार नै नगरी झुटा बिजक बनाएर राजस्व चुहावट गरेको खुल्न आएको छ ।

यस्ता फर्महरूले बिजक मात्र जारी गर्ने गरेको, वस्तु तथा सेवाको वास्तविक खरिद–बिक्री नगरी झुटा तथा नक्कली बिजक जारी गरेको र त्यसबाट प्राप्त हुने लाभमा सबैको समानुपातिक हिस्सेदारी भएकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिमको कसुर गरेको विभागको दाबी छ ।

राजस्व चुहावटमा फर्मका प्रोपाइटर भट्टराई र कार्कीको मुख्य संलग्नता देखिएकाले कर छली गरेको रकमको बिगो असुल गरी बिगोको दोब्बरसम्म जरिवाना तथा तीन वर्षसम्म कैद सजायको माग गरिएको छ ।

कर सहयोगी ललितराज कन्दङ्वा र गौरी मैनालीले राजस्व चुहावटमा सहयोग गरेको तथा लेखापरीक्षक जगन्नाथ गुरुङ, शरणबहादुर खड्का र टंकनाथ नेपालले गलत लेखा परीक्षण प्रतिवेदन तयार गरेकाले भट्टराई र कार्कीलाई हुने सजायको आधा सजायको माग दाबी गरिएको महानिर्देशक मैनालीले जानकारी दिए । उक्त घटनामा विभागले चार महिनाअघिबाट अनुसन्धान थालेको थियो ।

यसअघि विभागले ८१ मुद्दामा रु. १८ अर्ब ३२ करोडको बिगो तथा जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित २३८ जनाविरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गरिसकेको छ ।

rss