पूर्वबाट मनसुन शुरु, पश्चिम पुग्न केही दिन लाग्ने

पूर्वबाट मनसुन शुरु, पश्चिम पुग्न केही दिन लाग्ने


नेपालमा बिहीबारदेखि मनसुन शुरु भएको छ । मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया मनसुन जुन १० (जेठ २७ तिर) मा प्रवेश गर्छ । यस आधारमा यस वर्षको मनसुन १० दिन ढिलो भएको महाशाखाले जनाएको छ ।

यस वर्षको मनसुनी वर्षा प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही पश्चिमी भूभागमा औसतभन्दा कम हुने महाशाखाको अनुमान

साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि मानिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्छ । साउथ एसियन क्लाइमेट आउटलुक फोरम १४ मा आकलन गरिएअनुसार यस वर्षको मनसुनी वर्षा नेपालका प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही पश्चिमी भूभागमा औसतभन्दा कम हुने अनुमान महाशाखाको छ ।

सामान्यतया सरदर वर्षा भन्नाले स्थानविशेषको लामो समय (करिब ३० वर्ष)को औसत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९० देखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिकतम वर्षा भएको मानिन्छ ।

रासस