संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदको अवरोधका कारण बोल्न नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले आजै (मंगलबार) साँझ पत्रकार सम्मेलन गरेर आफ्ना भनाइ राख्ने भएका छन् । प्रधानमन्त्री ओलीले साँझ पाँच बजे सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।
संसदमा बैठक शुरु भएपछि पहिले आफ्नो पार्टीको नेताले बोल्न पाउनुपर्ने माग कांग्रेसका सांसदले गरेका थिए । तर, सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न समय उपलब्ध गराएकोले विपक्षी कांग्रेसका सांसदले आफूहरूले पहिले बोल्न पाउनुपर्छ भन्दै रोष्ट्रमअघि नाराबाजी गरेका थिए । तर, सभामुख महराले समय उपलब्ध गराएपछि रोष्ट्रममा पुगेका प्रधानमन्त्री ओलीले विपक्षीको अवरोधबीच आफ्ना भनाइ राख्न सकेनन् ।
सभामुख महराले प्रधानमन्त्री ओलीले संसद्लाई सम्बोधन गरेपछि विपक्षीलाई बोल्ने समय उपलब्ध गराउने बताए पनि विपक्षीहरूले सभामुखको कुरा नसुनी निरन्तर अवरोध गरेपछि प्रधानमन्त्रीले सम्बोधन गर्न नसकेका हुन् । त्यसपछि सभामुख महराले भोलि (बुधबार) ११ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।
सभामुख महराले बैठक स्थगित गरेपछि संसद् भवनबाट बाहिरिने क्रममा सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले बेलुका सबै कुरा थाहा हुने बताए । उनले भने, ‘बेलुका पाँच बजे पत्रकार सम्मेलन हुन्छ, सबै कुरा त्यहीँ बताउँला ।’
प्रतिक्रिया