सिपाघाटमा नयाँ टेलिफोन एक्सचेन्ज

सिपाघाटमा नयाँ टेलिफोन एक्सचेन्ज


काभ्रेपलाञ्चोकको सिपाघाटमा नयाँ टेलिफोन एक्सचेन्जको उद्घाटन गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नयाँ स्थापित एक्सचेञ्जबाट सञ्चालित टेलिफोनमार्फत मण्डन देउपुर–६ का वडाध्यक्ष डिल्लीप्रसाद आचार्यलाई फोन गरेर एक्सचेञ्जको उद्घाटन गरेका हुन् ।

सो अवसरमा उनले ‘जहाँ जनता त्यहाँ विकास’ भन्ने नारालाई साकार पार्ने क्रममा सिपाघाटमा सञ्चार सेवा पुऱ्याइएको र यसबाट सस्तोमा भरपर्दो टेलिफोन तथा इन्टरनेट चलाउन पाइने बताए । समृद्ध नेपालको महाअभियानमा नेपाल टेलिकम अत्याधुनिक सूचना र सञ्चार सेवाको पहुँच मुलुकभर पुऱ्याएर महत्वपूर्ण सहयात्री बनिरहेको दाबी पनि उनले गरे ।

सो कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले देशका कुनाकाप्चाका वासिन्दालाई पनि सेवाको भावनाले सञ्चार प्रविधिका माध्यमबाट जोड्ने र समृद्धिको अभियानमा उनीहरुलाई पनि समेट्ने प्रयास नेपाल टेलिकमले गरिरहेको उल्लेख गर्दै नवशहरका रुपमा विकास भइरहेको सिपाघाटमा गरिएको टेलिफोन र इन्टरनेट सेवाको विस्तार समृद्धिमा सूचना प्रविधिको माध्यमबाट सहयोग पुऱ्याउने प्रयासको नमूना भएको बताए ।

कार्यक्रममा एक्सचेञ्च रहेको ६ नम्बर वडाका वडाध्यक्ष डिल्लीप्रसाद आचार्यले आफूहरुको मागबमोजिम नेपाल टेलिकमले एक महिनामै १ सय २८ लाइन टेलिफोन र उत्तिकै क्षमताको एडीएसएल इन्टरनेट सेवा समेत उपलब्ध हुनेगरी योजना सञ्चालन गरिदिएको भन्दै कम्पनीप्रति कृतज्ञता व्यक्त गरे भने काभ्रेको सदरमुकाम धुलिखेलबाट करिव २७ किलोमिटर उत्तरमा इन्द्रावती नदीको किनारमा रहेको वस्तीमा टेलिफोन र इन्टरनेट सेवाको पहुँच पुगेपछि विकासमा फड्को मारिएको महसुुस गरेको स्थानीय वासिन्दा बिदुर बानियाँले बताए । वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक प्रमोद कुमार परमारले एक्सचेञ्जको तत्कालको क्षमता १ सय २८ लाइनको भए तापनि आवश्यकता बमोजिम क्षमता अभिवृद्धि गर्न सकिने जानकारी दिए ।