१४ अर्ब विद्युत महशुल उठेन, सबैभन्दा धेरै सडक बत्तितर्फ

१४ अर्ब विद्युत महशुल उठेन, सबैभन्दा धेरै सडक बत्तितर्फ


-छविलाल बगाले
नेपाल विद्युत प्राधिकरणले १४ अर्ब बढि विद्युत महशुल असुल गर्न बाँकी छ । यतिका रकम चालु आर्थिक बर्षको चैत मसान्तसम्म विद्युत उपभोग गरेका ग्राहकबाट उठ्न बाँकी रहेको हो ।

प्राधिकरणले सबैभन्दा धेरै सडक बत्तिको ५ अर्ब र अन्य ग्राहकबाट ४ अर्ब महशुल उठाउन बाँकी छ । बाँकी रहेको यतिका बक्यौता विगत लामोसमय अघिदेखि सर्दै आइरहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले घटना र बिचारलाई जानकारी दिए । उनका अनुसार ग्राहस्थतर्फ ४ अर्ब, गैह्र ग्राहस्थतर्फ ३ करोड, व्यापारीबाट ४१ करोड, ग्रह्र व्यापारीबाट २८ करोड, विभिन्न उद्योगले ३ अर्ब, सडक बत्तितर्फ ५ अर्ब विद्युत महशुल उठ्न बाँकी छ ।

यस्तै, सिंचाईतर्फ १९ करोड २८ लाख, खानेपानीबाट ७ करोड, मन्दिरतर्फ १७ करोड, यातायातबाट १८ लाख, सामुदायिक विद्युत संस्थाहरुबाट २ करोड ३१ लाख र विद्युत चोरीबाट १७ लाख रकम उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । ‘बक्यौता रकम भुक्तानीका लागि पटक पटक आग्रह गर्दा पनि ग्राहकले अटेर गर्दै आएका छन् ।’ प्रवक्ता अधिकारी भन्छन्, ‘महशुल तिर्न आनाकानी गर्दै आइरहेका ग्राहकको लाइन नै काट्ने तयारीमा प्राधिकरण छ ।’

ग्राहकको नाममा बिल काटिसकेपछि महशुल तिर्नुपर्ने अडान प्राधिकरण कर्मचारीको छ । सडक बत्तिसहित काठमाडौं महानगरपालिकाले बर्षौं अघिदेखिको १ अर्ब १३ करोड बक्यौता रकम तिर्न बाँकी छ । विद्युत महसुल नतिर्ने ग्राहकहरुमा सिंहदरबार परिसरभित्रै रहेका विभिन्न मन्त्रालयहरु समेत छन् ।
त्यसका अतिरिक्त दुग्ध चिस्यान केन्द्र, शीत भण्डार, जुट मिलबाट ठूलो रकम उठ्न बाँकी प्रवक्ता अधिकारी बताउँछन् ।

महालेखापरीक्षकको ५६औं वार्षिक प्रतिवेदनले पनि विद्युत बक्यौता बढेको पुष्टि गरेको छ । ठूलो परिमाणमा विद्युत बक्यौता देखिए पनि प्राधिकरणले उठाउन गम्भिरता नदेखाएको महालेखाले टिप्पणी गरेको छ । देशभरका महानगर, उप–महानगर, नगर र गाउँपालिकाले सडक बत्तीको विद्युत बक्यौता बुझाएका छैनन् । प्राधिकरणले विद्युत महसुल नतिर्ने ग्राहकलाई कालोसूचीमा राख्ने र कतिपयको विद्युत सेवा नै काटिदिने तयारी थालेको छ ।