समाजवाद हुँदै साम्यवादको स्थापना हाम्रो लक्ष्य हो

समाजवाद हुँदै साम्यवादको स्थापना हाम्रो लक्ष्य हो


पार्टीमा हुनुपर्ने बहस मिडियामा हुन थाल्यो

यशोदा सुवेदी नेकपाकी नेतृ हुनुहुन्छ । दाङमा जन्मिनुभएकी यशोदा ०३६ सालमा विद्यार्थी आन्दोलनदेखि राजनीतिमा सम्बद्ध हुनुभएको हो । ०४५ सालमा प्रजातन्त्रका लागि जेल पर्नुभएकी उहाँ माओवादी युद्धका क्रममा ०५३ देखि ०५६ सम्म पटकपटक जेल पर्नुभयो । ०६४ सालमा संविधानसभामा सभासद्को भूमिका निर्वाह गर्नुभएकी उहाँ अहिले प्रतिनिधिसभा सांसद हुनुहुन्छ । प्रस्तुत छ सांसद सुवेदीसँग बबिता बस्नेतले गर्नुभएको कुराकानी :

■ पार्टी एकता भएपछि कस्तो महसुस गरिरहनुभएको छ ?
पार्टी एकता एउटा उत्साहका साथ गरेका हौँ । शान्तिप्रक्रियामा आइसकेपछि आन्दोलनको उद्देश्यका साथ गरिएको एकता भएकाले हामी अहिलेसम्म उत्साहित नै छौँ । आन्दोलनको उद्देश्यका साथ भनेको नयाँ जनवादी व्यवस्थाको स्थापना हो । यो व्यवस्था स्थापना गर्न दुईवटा मुख्य पहलु पूरा गर्नुपर्ने हुन्छ । एउटा सामन्तवादको अन्त्य, अर्को उपनिवेशवादको अन्त्य । नेपाललाई अर्धसामन्ती र अर्धउपनिवेशिक राष्ट्रबाट मुक्त गर्नका लागि यी उद्देश्य लिएर हामीले जनयुद्ध लड्यौँ । एकैपटक हामीले यो उद्देश्य पूरा गर्न नसकेको अवस्था हो । गणतन्त्रको स्थापनापछि सामन्तवादको हामीले अन्त्य गऱ्यौँ । अर्धउपनिवेशवादको अन्त्यको लडाइँ सकिएको छैन । जसका लागि सबै कम्युनिस्ट विचारहरू एक हुनु जरुरी थियो । पार्टी एकतापछि त्यस्तो निराशै बन्नुपर्ने अवस्थामा पुगेकी छैन ।

■ उपनिवेश र सामन्तवादको लडाइँमा सामन्तवादलाई परास्त गरियो अब उपनिवेशवादसँग सम्झौता गरेर अघि बढ्नुपर्छ भन्ने भनाइ हो ?
– होइन, मिलेर जाने भन्ने त कुरै आउँदैन नि ।

■ जनयुद्ध लड्दा त भारतमैँ बस्नुभयो त ?
– त्यो भौगोलिक कुरा मात्र हो । हामी त्यहाँ बस्यौँ, त्यही भएर सम्झौता गरौँ भन्ने हुँदैन ।

■ भनेपछि १२बुँदे सम्झौता पनि भौगोलिक कुरा मात्र थियो ?
– भूगोलको उपयोग भयो भनौँ । यद्यपि मिडियाले भारतसँग मिलेर सम्झौता गरेको आरोप लगाए, तपाईंको प्रश्न पनि यसैमा लक्षित छ । सामन्तवादको अन्त्यपछि अब राष्ट्रलाई कुनै पनि हस्तक्षेपबाट मुक्त गर्न सक्यौँ, पञ्चशीलको आधारमा परराष्ट्रनीति तय गर्न सक्यौँ भने मिडिया गलत, हामी सही हुनेछौँ । जालझेलमा पर्दै गयौँ भने परिस्थिति फरक पनि हुन सक्छ ।

■ पार्टी नेतृत्वबाट अहिले जुन प्रकारको भूमिका निर्वाह भइरहेको छ, त्यसबाट हामी गलत भन्ने लाग्दैन ?
– यस्तो निष्कर्षमा पुग्नुपर्ने अवस्थाको निर्माण भएको छैन ।

■ यो एकताले यहाँहरूले परिकल्पना गर्नुभएको नौलो जनवादी क्रान्तिको लक्ष्य पूरा गर्न सक्छ ?
– शाब्दिक हिसाबले तलमाथि होला, तर जनयुद्धको उद्देश्य नौलो जनवादको स्थापना थियो । एमालेबाट जनताको जनवाद र माओवादीबाट नौलो जनवादको मिश्रणबाट समाजवाद हुँदै साम्यवादको स्थापना हाम्रो लक्ष्य हो । यो एकताले कम्तीमा सामाजिक न्यायमा आधारित समुन्नत नेपालको निर्माण गर्न सक्नुपर्छ । यति गर्न सकेन भने हामीमाथि प्रश्न उठ्नेछ ।

■ प्रश्न त अहिले पनि उठिरहेकै छ नि, सामन्तवादको अन्त्य गऱ्यौँ भन्नुभयो, तर कम्युनिस्टहरूबाट सामन्ती व्यवहार भएको भनी आलोचना भइरहेको छ… ?
– हामी कम्युनिस्टहरू कति प्रतिशत कम्युनिस्ट भनी लेखाजोखा गर्ने बेला पनि हो यो । जीवनशैली कस्तो हुने भनी वैचारिक बहस गर्नु आवश्यक छ । हाम्रो समाज सामन्ती र पुँजीवादी समाज हो । कम्युनिस्ट आचरण, वर्गप्रतिको प्रतिबद्धता, सादगी जीवनका लागि विचारको परिमार्जन र सङ्घर्ष जरुरी हुन्छ । कम्युनिस्ट आदर्शलाई लिएर पार्टीभित्र बहस हुन सकेको छैन । पार्टी एकतापछि सङ्गठनात्मक ढाचालगायतका कुरामा केन्द्रित हुँदा वैचारिक पक्ष फितलो बन्न पुगेको छ ।

■ पार्टी मिले पनि माओवादी र एमालेबीच मन मिल्न त सकेको देखिँदैन नि ?
– ठूलो उद्देश्यले पार्टी एकता गऱ्यौँ, तर भावनात्मकलगायतका सबै प्रक्रिया टुङ्गिएका छैनन । यसमा केही समय लाग्न सक्छ ।

■ नेताहरूका एक–अर्काप्रतिका भावना छरपस्ट बाहिर आइरहेका छन्…
– हो, विशेषगरी कतिपय दोस्रो पुस्ताका नेताहरूको भूमिका शीर्षस्थ नेताहरूलाई पार्टी एकताप्रति दृढ र आत्मविश्वास दिलाउने प्रकारको हुनुपर्नेमा पश्चाताप गराउने खालका देखिएका छन । पार्टीभित्र हुनुपर्ने बहस मिडियामा देख्दा अप्ठ्यारो लाग्नु स्वाभाविकै हो । हामीलाई पनि कहिलेकाहीँ यो कू हुन लागेको हो ? जस्तो लाग्छ । पार्टी एकतापछिका व्यावहारिक समस्याहरू कायम छन् । ती बेलाबेलामा एक–अर्कामा टक्राउँछन् । सङ्गठनात्मक सेटिङ पूरा नभइसक्दा तेलमा पानी मिलेजस्तो देखिएको छ । वैचारिक बहस शुरु भएपछि पानीमा चिनी घुलेझैँ हुन्छ । वैचारिक बहसको सुरुवात भएपछि कसैले कसैप्रति असन्तुष्टि जाहेर गर्न मिडियामा गइरहनुपर्दैन, पार्टीभित्रै ठाउँ हुन्छ ।

■ सांसदलाई विकासका लागि छुट्टै पैसा चाहिँदैन भनेर तपाईंले संसदमै बोल्नुभएको थियो । तर, पैसा त थपिएर आयो, ६ करोड भयो । तपाईंको विरोध कायमै छ कि सकियो ?
– हो, सांसदले खर्च गर्ने स्थानीय पूर्वाधार विकास कार्यक्रमबारे मैले असहमति राखेकी हुँ । यसमा दुई कोणबाट बहस गर्नु आवश्यक छ । पहिलो, यो कार्यक्रम कति प्रभावकारी छ ? दोस्रो, अहिलेसम्मको उपलब्धि के रह्यो ? यसको समीक्षा गर्नुपर्छ भनी मैले सम्बन्धित कर्मचारीहरू र अर्थमन्त्रीलाई नै भनेकी छु । मेरो विचारमा यो वितरणमुखी छ, परिणाममुखी छैन । विगतमा सांसदले खर्च गर्ने गरी यो नाममा एकमुष्ट ६ अर्ब पैसा खर्च हुन्थ्यो । अहिले १० अर्ब हुन्छ । यति पैसा एकै ठाउँ लगाउन सकियो भने विकासको राम्रो काम गर्न सकिन्छ । हुम्ला या मनाङमै बाटो पुऱ्याउन सकिन्छ । अरू नै केही गरे पनि उल्लेख्य गर्न सकिएला । सांसदको काम नीति–कानुन बनाउने हो, सरकारका काममा वाचडगको भूमिका निर्वाह गर्ने हो । तर, यहाँ त सांसदहरूले दुई–चार लाखका काम लिएर मन्त्रालय चहार्नुपर्ने अवस्था छ । व्यवस्था बदलियो, चिन्तन बदलिएन, म चिन्तन बदलियोस् भन्ने पक्षमा थिएँ । तर, फेरि पनि यो सबैको जडचाहिँ हाम्रो चुनावसँग सम्बन्धित छ ।

■ तपाईंहरू आफैँले ल्याएको व्यवस्था र निर्वाचन प्रणाली छ, दोष कसलाई दिने ?
– हो, समस्या निर्वाचन प्रणालीमा छ । अहिले हामी मिश्रित निर्वाचन प्रणालीमा छौँ । जसले सांसदहरूबीच ठूलो विभाजन ल्याइदिएको छ । एकथरी राणाकालका ब्याइतेजस्ता अर्काथरी ल्याइतेजस्ता । निर्वाचन यति महँगो भयो कि प्रत्यक्षका उम्मेदवारलाई समानुपातिक उम्मेदवारले आर्थिक सहयोग गर्नुपर्ने, खट्नु पनि बराबरी अनि व्यवहारमा असमानता । चुनाव लड्नका लागि ठूला नेताका आफ्नै स्थायी ठाउँहरू छन । यो प्रणालीले भ्रष्टाचार पनि बढायो । आर्थिक अवस्था सामान्य भएका नेताले निर्वाचनमा प्रतिस्पर्धा गर्न नसक्ने भए, त्यसैले अब पूर्ण समानुपातिक प्रणालीमा जानुपर्छ ।

■ समानुपातिकमा झन् बढी पैसा, सम्बन्धलगायतको चलखेल भइरहेको देखिन्छ ?
– जब पार्टी जिम्मेवार हुन्छ, यस्ता सबै कुरा गौण हुन्छन् । निर्वाचनमा व्यक्ति होइन पार्टी जिम्मेवार हुने प्रणाली हो पूर्ण समानुपातिक प्रणाली ।

■ तपाईं संसदमा महिलाका मुद्दा उठाइरहने सांसदभित्र पर्नुहुन्छ, अहिले महिलाका खास मुद्दा के हुन् ?
– अहिले पनि हाम्रो देशमा नीतिनिर्माणमा महिलाको सहभागिता, घरेलु हिंसा र आर्थिक अधिकारको सुनिश्चितता नै महिलाका मुख्य मुद्दा हुन् । छोरीलाई छोरासरह समान अंशियार बन्ने कानुन बनाइयो, तर व्यवहारमा कति छोरीले अंश पाए ? अबको मुद्दा व्यावहारिक अभ्यासको हो, परिणाममै समानताको हो ।

■ तपाईं ब्राह्मणकी छोरी गुरुङ (नेता देव गुरुङ) सँग अन्तरजातीय विवाह गर्नुभो । धेरैजसो अन्तरजातीय विवाहहरू सफल भएका देखिँदैनन् । अन्तरजातीय विवाहलाई सफल बनाउन के गर्नुपर्ने रहेछ ?
– मैले अहिलेसम्म देखेका विवाहमा कथित उच्चो जातको महिलाले कथित तल्लो जातको पुरुषसँग विवाह गरे भने ती टिकेका छन् । यसको उल्टो हुँदा असफल भएका छन् । जहाँसम्म मेरो कुरा छ, अन्तरजातीय भएकाले झट्ट हेर्दा प्रेमविवाहजस्तो देखिए पनि हाम्रो मागी विवाह हो । पार्टीले खोजेर गरिदिएको विवाह । हाम्रो पालामा अभिभावक भनेकै पार्टी हुन्थ्यो, पार्टीमा जातथरको कुरा हुँदैनथ्यो । मैले देव गुरुङजीलाई विवाहकै दिन देखेकी हुँ । विवाह दिगो हुनका लागि कि प्रेमभावनाले समर्पित हुनुपऱ्यो, कि विचारले निर्देशित हुनुपऱ्यो । आममहिलाको झैँ मेरो पनि विवाहपछि नै प्रेम भएको हो । प्रेम, भावनासँगै विचार थपिएकाले हुन सक्छ विविध समस्याबीच पनि सम्बन्ध गाढा नै छ । अन्तरजातीय विवाहमा समस्या त कति हो कति । म विवाहपछि श्रीमानको घर मनाङमा पाँच वर्ष बसेँ, त्यहीँ बसेर पार्टीको काम गरेँ । संस्कृति, भाषा, खानपान केही मिल्दैन । चुनौतीहरू धेरै थिए, तर विचार, भावना र प्रेमले तिनलाई मेट्ने कोसिस गरेँ । कोसिस अझै जारी छ ।