पूर्वीय सभ्यता र संस्कार : कति संस्कार कति कुसंस्कार ?



■ मदन दवाडी, बेल्जियम

विदेशमा बसेर आफू बसेको ठाउँमा यस्तो राम्रो छ उस्तो राम्रो छ भन्दै नेपालको चाहिँ यस्तोउस्तो भनेर सधैँ उछित्तो काडेर नथाक्ने, हिन्दूधर्मलाई अवैज्ञानिक र पूर्वीय संस्कारलाई ‘कुसंस्कार’ भन्नेहरूको लागि हाम्रो संस्कार चालचलन कति वैज्ञानिक छ र यी पाश्चात्य देशको चालचलन कति अवैज्ञानिक छ भन्ने कुरा आफ्नो अनुभवको आधारमा तुलनात्मक विश्लेषण गर्ने अभिप्रायले यो आलेख तयार गरिएको हो ।

हाम्रो पुस्ता जो ७० देखि ९० दशकको बीचमा गाउँमा जन्मियो, उनीहरूले एउटै जुनीमा धेरै कुरा देख्न पाए । पूर्ण रूपमा प्रविधिविहीन बाल्यकाल गुजारेर बाल्यकालमा कल्पनै नगरेको प्रविधिसँग वैश्यककाल बिताइरहेको छ यो पुस्ताले । पङ्क्तिकारको आफ्नै कुरा गर्ने हो भने पनि जीवनका ३९ वर्षलाई तीन फरक–फरक भागमा मूल्याङ्कन गर्दछु । एसएलसी दिँदासम्मको गाउँको बसाइको जिन्दगी एक, क्याम्पस पढ्दा र क्याम्पसकै अध्यापक हुँदाको जिन्दगी दुई र अहिले बिताइरहेको विदेशको जिन्दगी तीन । यस लेखनीको लक्ष्य पूर्वीय चालचलन र पाश्चात्य चालचलनमा कुन ठीक कुन बेठीक भनेर तुलनात्मक विश्लेषण गर्नु नै हो ।

बिहानको जीवनशैली :

पूर्वीय मान्यताअनुसार बिहानको कुखुराको डाकसँगै उठ्नुपर्छ अर्थात् बिहान सबेरै उठ्नुपर्छ । घाम झुल्कने बेलासम्म सुत्नुहँुदैन, अन्यथा ‘अलच्छिन’ लाग्दछ । पूर्वीय मान्यतामा जे–जस्तोलाई ‘लच्छिन’ भनिन्छ शरीर तथा स्वास्थ्यको लागि फाइदा हुने कुरालाई भनिन्छ र जे–जस्तोलाई अलच्छिन भनिन्छ शरीर तथा स्वास्थ्यलाई बेफाइदा हुने कुरालाई भनिने गरिन्छ । फाइदाबारे व्याख्या–विश्लेषण गरेर बताइरहनुभन्दा एकै शब्द ‘लच्छिन’ हो भन्दिने र बेफाइदाहरूबारे व्याख्या गरिरहनुको सट्टा एकै वाक्यमा ‘अलच्छिन’ भनिदिँदा सकिने भएर त्यस्तो शब्द प्रयोग गरिएको अनुमान गर्दा फरक नपर्ला ।

गुगलमा गएर दभलभाष्तक या धबपष्लन गउ भबचथि भनेर खोज्ने हो भने हजारौँ आर्टिकल भेटिन्छन् । बिहान घाम झुल्कनुभन्दा पहिला नै जागृत हुनुको धेरै फाइदा छ । बिहान सबेरै उठ्नाले स्वस्थ शरीर तथा दिमाग, गुणस्तरीय सुताइ, सकारात्मक सोच, उत्पादकत्वमा वृद्धि तथा परिवारलाई ज्यादा समय दिन सकिन्छ ।
भगवान् कृष्णले गीतामा भनेका छन्–

युक्ताहारविहारस्य युक्तचेष्टस्य कर्मसु ।
युक्तस्वप्नावबोधस्य योगो भवति दुःखहा ।।

अर्थात्, जो व्यक्ति खान, सुत्न, काम गर्न नियमित छ र सधैँ योग गर्छ उसको सारा दुःख नष्ट हुन्छ ।

हामी सानो छँदा (स्कुल पढ्दा) बिहान सधैँ ४ बजे नै उठिन्थ्यो पढ्नको लागि, किनकि बिहानको पढाइ सधैँ स्मरणमा रहन्छ भन्ने थियो । प्रायजसो विज्ञान, अङ्ग्रेजी र गणित विषयचाहिँ बिहान पढ्ने गरिन्थ्यो किनकि यी विषय असजिला हुन्थे र बिहान दिमाग सक्रिय हुनाले सोच्ने क्षमता वृद्धि हुन्छ । गणितको कतिपय समाधान गर्न नसकेको समस्याहरू बिहान उठेर पढ्ने भनेर छाडिन्थ्यो । बिहान कहिलेकाहीँ अल्छी गरेर उठिएन भने आमाले आएर पानी खन्याइदिनुहुन्थ्यो अनि जबर्जस्ती उठाएर कुनै एउटा असजिलो विषयको किताब अगाडि राखिदिनुहुन्थ्यो । गाउँका सबै मानिसहरू बिहान सबेरै उठेर आ–आफ्नो काममा लाग्दथे । बिहान सबेरै उठ्ने भएपछि बेलुका पनि समयमै सुत्ने गर्दथे । गाउँमा अझै पनि यो चलन कायमै छ ।

तर, पाश्चात्य देशहरूमा यसको ठ्याक्कै उल्टो चलन छ । मानिसहरू प्रायः बिहान अबेरसम्म सुत्ने चलन छ । यहाँको बिहान सबेरै काममा जानेबाहेक प्रायः सबै मानिस बेलुका अबेला सुत्ने अनि बिहान पनि अबेला उठ्ने गर्दछन् । बिहान उज्यालो भएपछि पनि सुतिरहनको लागि डिस्टर्ब नहोस् भनेर झ्यालहरूमा सटर तथा बाक्लो पर्दा हाल्ने चलन छ । बिहान अबेरसम्म सुत्नाले शरीरमा आलश्यता, सुताइमा कम गुणस्तर, स्मरण शक्तिमा ह्रास, परिवारलाई कम समयलगायत धेरै बेफाइदा हुन्छन् । यसैले पूर्वीय चालचलनमा घाम झुल्केपछि पनि सुतिरहनु अलच्छिनको प्रतीक भनिएको हो ।

खानपिन :

पूर्वीय चालचलनअनुसार खाना सामान्यतया दिनमा तीनपटक मात्र खाइन्छ । बिहानको खाना ८–१० बजे, दिउँसोको लन्च १–३ बजे अनि बेलुकाको खाना ६–८ बजे । बिहान ‘ब्रेकफास्ट’ खाने चलन हुँदैन । बिहानको खाना ओजिलो खाने चलन रहन्छ किनकि दिनमा काम गर्नुपर्ने हुन्छ काम गर्नको लागि बढी तागतको जरुरी पर्दछ । लन्च र डिनरचाहिँ हल्का खाने चलन हुन्छ । मेरी हजुरआमा बेलुकाको खाना थोरै खाए बल धेरै खाए मल भन्ने गर्नुहुन्थ्यो किनकि बेलुका खाएपछि काम केही हुँदैन बिहान उठेपछि दिशा गर्नपऱ्योअनि मल भएर जाने भयो । खासमा बेलुकाको खाना ओजनदार खाइयो भने पाचन प्रक्रियामा शरीर सक्रिय हुन्छ जसले गर्दा सुताइमा असर गर्छ । त्यस्तै त्यसले तागत सिर्जना गर्दछ, तर त्यो प्रयोगमा नआउने भएकाले पनि शरीरलाई हानिकारक हुन्छ ।

अझ आयुर्वेदले त रोगी, अशक्त, केटाकेटी र बूढाबूढीबाहेकले दिनमा दुईपटक मात्र खानुलाई स्वस्थकर मान्दछ ।

आयुर्वेदको एउटा भनाइ छ–

जिर्णे हितं भितं चाद्धान्नं बेगिनरयद् बलात्
न बेगितोड्न्यकार्यः स्थान्नजित्वा साध्यामाममयम्

अर्थात्, स्वस्थ रहन चाहनेले अघिल्लो खाना पचिसकेपछि मात्रै दोस्रो खाना खानुपर्दछ ।

जोगी एवम् सन्न्यासीहरूले दिनको एकपटक मात्रै खाने गर्दछन् र उनीहरू बढी स्वस्थकर रहन्छन् । खानामा हाम्रो खाना दाल, भात तरकारी र अचार खानाको उत्तम मिश्रण हो । दाल प्रोटिन, भात कार्बोहाइडेट, तरकारी भिटामिन एवम् मिनरल र अचार पाचक हो । त्यसमा अझ दूध, दही र मही थपेपछि सबैभन्दा उत्तम खानाको प्याकेज हुन्छ ।

हाम्रो परम्परागत शैलीमा खाना बनाउनको लागि भान्सा घरको अलि भित्री भाग कुनामा अरू भुइँभन्दा अलि उचो बनाएर बनाउने गरिन्छ । भान्सा उचो र अलि भित्री भागमा बनाउनुको अर्थ बाहिरको कीटाणुहरू हत्तपत्त प्रवेश गर्न नसकुन् भनेर हो । भान्सालाई हरेक बिहान खाना बनाउनुभन्दा पहिला ताजा गोबरमाटोले पोत्ने चलन हुन्छ भने खाना खाइसकेपछि पनि गोबरले खानाको झरेका टुक्राहरू टिप्ने चलन हुन्छ जसलाई जुठो लोटाउने भनिन्छ । जसले गर्दा कुनै भाइरस वा कीटाणु भान्सामा प्रवेश गर्न पाउँदैनन् । भान्सामा जुठो रह्यो वा जुठो भाँडा राखियो भने अलच्छिन लाग्छ भन्नुको तात्पर्य नै जुठो रह्यो भने त्यसले दूषित बनाउँछ भनेर हो । खाना पकाउने महिलाले पनि खाना पकाउने बेलामा छुट्टै चोखो कपडा लगाएर पकाउने गरेका हुन्छन् किनकि बाहिर लगाउने गरेको कपडा लगाएर भान्सामा गइयो भने कपडासँगसँगै कीटाणु प्रवेश गर्न सक्छ । यहाँ पाश्चात्य देशहरूमा पनि खाने कुरा उत्पादन गर्ने फ्याक्ट्रीहरूमा चाहिँ बाहिर लगाएको कपडा लगाएरभित्र जान पाइँदैन, भित्र छुट्टै कपडा लगाउनुपर्ने हुन्छ ।

हाम्रो परम्परामा खाना खाने बेलामा लुगा फेर्ने चलन पनि त्यही नै हो बाहिर गएर आएको कपडामा कीटाणुहरू हुन सक्छ र खानालाई त्यसले दूषित बनाउन सक्छ भनेर नै हो । खाना खाने बेलामा ‘औसेनी’ गर्ने चलन पनि वैज्ञानिक नै छ । खाना खानेवरिपरि पानी छर्कनु धुलोहरू नउडोस् भनेर हो भने थोरै खानालाई बाहिर राख्नु झिँगा माखा आयो भने पहिला बाहिरको खानामा बसोस् भनेर हो । खाना खाएको बेलामा नबोल्ने चलन पनि राम्रो हो ।

त्यसैगरी बाहिर अँगेनामा पकाएको नखाने, बोकेर लगेको नखाने चलन पनि छ । अँगेनामा गाईवस्तुहरूको लागि कुँडो पकाउने भएकाले र बोकेर लगेको खाना चिसो हुने र बाटोमा कीटाणु प्रवेश गर्न सक्ने भएकाले यो चलन रहेको हो । बूढापाकाहरू जहाँ गयो त्यहीँ पकाएर खान्छन्, तर अन्तै पकाएर बोकेर लगेको खाना खाँदैनन् । त्यस्तैगरी बासी खाना खान हुँदैन भन्ने चलन छ किनकि बासी भइसकेको खानाको पौष्टिकता गइसकेको हुन्छ । तर, पाश्चात्य संस्कृतिमा एक दिन खाना बनाएर हप्ताभरि खाने चलन हुन्छ । त्यस्तै, सुपरमार्केटबाट खान किनेर खाने गर्दछन् । त्यो फ्याक्ट्रीमा मेसिनद्वारा उत्पादन भएको खाना कसरी स्वस्थकर हुन्छ र ? बासी खानालाई माइक्रोवेभमा तताएर खाने चलन पनि ठीक होइन । माइक्रोवेभमा तताउँदा त्यसले सिर्जना गर्ने तरङ्गले सबै पौष्टिकता लैजान्छ । त्यस्तैगरी पाश्चात्य देशहरूमा जङ्कफुड खाने चलन हुन्छ । हुनत त्यसकै देखासिकी गरेर नेपालमा पनि प्रसस्त जङ्कफुडहरू प्रयोग गर्न थालिएको छ । जङ्कफुड खानु भनेको मल खाएसरह हो । त्यसमा पानीको मात्रा पनि हुँदैन सबै कृत्रिम रङ्गहरू हालेर जबर्जस्ती मीठो बनाइन खोजिएको हुन्छ । जङ्कफुड एकप्रकारको विष नै हो भन्दा पनि फरक पर्दैन ।

हाम्रो पूर्वीय संस्कारमा मासु पनि एकदमै कम खाने प्रचलन हुन्छ । मासुलाई एक अशुद्ध भोजनको रूपमा लिइन्छ, त्यसैले औँसी, पूर्णिमा, एकादसी, श्राद्ध, पूजापाठ लगाउँदा मासुलाई बिटुलो मानिन्छ । मान्छे मरेको बेलामा मासु खान हँुदैन भन्नुको कारण पनि मान्छे मरेपछि ऊ शोकमा, चिन्तामा हुन्छ र मासुमा बढी पौष्टिकता हुने हुनाले पचाउन शरीरले बढी शक्ति खर्च गर्नुपर्छ जुन शोकाकुल व्यक्तिको शरीरले त्यो शक्ति सिर्जना गर्न सक्दैन । गाउँघरतिर साकाहारीहरूले मान्छे मरे घाट जन्तु मरे पेट भनेर मासु खानेहरूलाई व्यङ्ग्य गर्दथे । हुन पनि मान्छे मरेर गाडेको ठाउँमा भूतप्रेत लाग्छ जान हुँदैन भन्ने अनि आफ्नो पेटमा चाहिँ कति जन्तु चिहान छ ख्याल नगर्ने ? पाश्चात्य खानपिनमा अत्यधिक मात्रामा मासुको प्रयोग हुन्छ । सुपरमार्केटतिर कुनै न कुनै मासु नमिसिएको खाना हँुदैहँुदैन भन्दा पनि हुन्छ । मासुमा अझ धेरै गाईको मासु प्रयोग हुन्छ । यहाँ त मासु भनेकै गाईको भनेर बुझिन्छ । गाईको मासुमा अत्यधिक रातोपना हुन्छ जुन एकदमै हानिकारक हो । त्यसैले यहाँ गर्भवती महिलालाई गाईको मासु नखान भनिन्छ ।

गाईको मासु हिन्दूहरूले किन खाँदैनन् भन्ने सन्दर्भमा एउटा अनुभव सुनाउन मन लाग्यो । म केही वर्ष पहिला एउटा फ्रेन्च मल्टिनेसनल कम्पनीमा काम गर्दथेँ । त्यहाँ काम शुरु गर्दा त्यहाँको पुराना कामदार (उनी मुस्लिम धर्मावलम्बी थिए)सँग हिन्दूहरूले गाईको पूजा गर्ने र गाईको मासु नखाने सम्बन्धमा डिसकस पऱ्यो । उनले के तर्क गरे भने, मान्छे एक चेतनशील प्राणी हो, त्यसैले मान्छे प्राणीमा सर्वश्रेष्ठ पनि छ । त्यो सर्वश्रेष्ठ प्राणीले गाई जो–जहाँ बस्छ त्यहाँ दिसा गर्छ त्यसलाई कसरी पूजा गर्न सक्छ । मैले उनलाई छुट्टै बोलाएँ र भनेँ– तिमी आफू मान्छे हो र चेतनशील हो भन्छौ भने त्यहीअनुसार सोच्ने बानी पनि बसाल । हिन्दूहरूले गाईलाई किन खाँदैनन् भने हिन्दूधर्म सबैभन्दा पुरानो धर्म हो परापूर्वकालमा जतिखेर मान्छेहरू जङ्गलमा बस्थे त्यतिखेर गाईलगायत अन्य जीवजन्तुहरू पनि सीमित हुन्थे । त्यतिखेर स्वास्थ्यचौकीहरू हुँदैनथ्यो, यदि कोही गर्भवती महिलाले बच्चा जन्माएपछि मृत्यु भयो भने बच्चालाई बचाउने एक मात्र उपाए भनेको गाईको दूध हुन्थ्यो । त्यतिखेर खानेकुराको पनि अभाव हुने हुनाले कसैले गाईलाई मारेर खायो भने त बच्चा पनि मर्ने भयो, त्यसैले गाईलाई आमा वा भगवान् मानेर पूजा गरिएको अनि नखाने चलन चलाइएको हो । तिमी आफैँ पनि गाईको दूध खाएर हुर्केका हौ । आफ्नी आमालाई सम्मान गर्ने अनि आमासरह दूध खुवाउने गाईलाई चाहिँ अपमान गर्ने भनिदिएँ । अनि गाईलाई बाँधेर राखिने भएकाले पो जहाँ बस्छ त्यहीँ दिसा गर्छ, सधैँ छाडा छाड्ने हो भने त उसले पनि फरक ठाउँमा गएर गरिहाल्छ नि । हिन्दूधर्मको हरेक चालचलन वैज्ञानिक छन्, ती सान्दर्भिक छन् । हुन सक्छ अहिलेको सन्दर्भमा कतिपय असान्दर्भिक होला, तर जतिखेर चालचलन चलाइए त्यतिखेर एकदमै सान्दर्भिक भएकाले चलाइएको हो ।

गाउँमा जिन्दगीभर एउटा सिटामोल पनि नखाईकन सय वर्ष बाँचेको मान्छे पनि देखेको छु । उनीहरू सधैँ स्वस्थ, हृष्टपुष्ट हुनुको कारण नै स्वच्छ खानपिन हो । कुनै ठूलो रोग लागेर अकालमा नै मृत्यु हुने भन्ने एकदमै नगन्य हुन्छ ।

पाश्चात्य देशहरूमा चाहिँ पूर्वीय ठीक उल्टो छ, खाना पटक–पटक खाने चलन रहेको हुन्छ । बिहानदेखि दिउँसोसम्मचाहिँ हल्का र प्रायः चिसो खाना खाने अनि बेलुका मात्र ओजनदार र तातो खाना खाने गर्दछन् । हामीले कसैसँग ‘हामी बिहान पनि भात खान्छौँ’ भन्दा ‘बिहान पनि तातो खाना खान्छौ ?’ भनेर प्रश्न गर्छन् । त्यसैगरी भान्साकोठा पनि प्रायः घरको तलको कोठा वा छेउको कोठा सानो ठाउँमा बनाइएको हुन्छ । धेरैजसो भान्सा कोठा र शौचालय सँगै बनाइएको हुन्छ जुन एकदमै अवैज्ञानिक हो ।

दिसापिसाब :

दिसापिसाब सम्बन्धमा मेरो ठुलोबुबासँगको एउटा किस्सा सुनाउन मन लाग्यो ।

‘त्यो सोह्रखुट्टेको नियारले घिउ लिएर लुगा भिरायो, अझ झन्डै ठमेलका नियारहरूको पाइखाना भएको जग्गा भिराइसकेको थियो, म बाठो भएर लुगासँग घिउ साटेँ, भज्जेले फसायो । तर, मैले पनि त्यसको तलाँ गएर हगिदिएँ ।’

०३२–३३ सालतिर मेरा ठूलोबुबाहरू गोरखाको गाउँबाट घिउ बेच्न भनेर काठमाडौं दुई दिन हिँडेर गएछन् । घिउ बेच्ने क्रममा सोह्रखुट्टे पुगेछन् । त्यहाँको एक कपडा पसलेले अगाडिको जग्गा दिएर घिउ साट्न खोजेछन् । त्यतिखेर सेह्रखुट्टेअगाडि सिस्नुघारी जङ्गल रहेछ जहाँ ठमेलका मान्छेहरूले दिसापिसाब गर्ने गर्दा रहेछन् । गाउँमा रजगजसँग बसेका मेरा ठूलोबुबालाई घिउसँग साट्न त के सित्तैमा दिए पनि त्यो जग्गा चाहिएन । सायद त्यतिखेर घिउसँग जग्गा साटेको भए अहिले अर्बपति भइसक्थे होलान् ।

पसलेले घिउ लिनलाई अनेक तिकडम गर्न थालेपछि भाग्नको लागि ठूलोबुबाले आइडिया लगाएछन्– म त बाहिर बस्न जानुपर्ने भयो (दिसा गर्न जानलाई बाहिर बस्न जाने भन्ने चलन हुन्थ्यो) । पसलेले ‘लु आऊ माथि’ भनेर लिएर गएर घरको सिरानको तलामा भएको ट्वाइलेटमा दिसा गर्न लगाएछ । दिसापिसाब भनेको घरबाट टाढा गएर गर्नुपर्छ भन्ने पूर्वीय संस्कारमा हुर्केका उनले घरको तलामाथि पनि दिसा गर्ने ठाउँ हुन्छ भनेर कहिल्यै कल्पना गरेका थिएनन् । अब तलामाथि नै दिसा गराएपछि यसले घिउ नलिई छाड्दैन भनेर त्यो पाइखानावाला जग्गाभन्दा केही कपडा लिएर उनी फर्केछन् ।

उक्त किस्साको प्रसङ्ग के हो भने पूर्वीय संस्कारमा दिसापिसाब घरभन्दा धेरै टाढा गएर गर्नुपर्दछ भन्ने संस्कार रहेको छ । त्यसैले शौचालय घरभन्दा अलि टाढा नै बनाइएको हुन्छ । तर, पाश्चात्य देशहरूमा ट्वाइलेट घरभित्र नै त्यो पनि कतिपय घरमा त भान्साकोठाको आडमा नै बनाइएको हुन्छ । त्यसले सजिलै शौचालयको कीटाणुहरू भान्सा कोठामा प्रवेश गर्छन् ।

पूर्वीय संस्कारमा दिसा गर्न जाँदा लगाएको धोती कपडा अलि पर नै फुकालेर जाने चलन कपडाहरू दूषित नहोस् भनेर हो भने दिसा गर्दा जनै कानमा राख्नुको चलन चलमल गर्न नमिलोस् भनेर हो । दिसा बस्दा यताउता फर्कनु, चलमल गर्नु उपयुक्त हुँदैन । त्यसैगरी दिसा गर्दा बोल्नुहँुदैन भन्ने मान्यता रहेको छ किनकि बोल्दा मुख खोलिन्छ श्वास–प्रश्वास बढी हुन्छ जसले हर्दा दूषित श्वास–प्रश्वास हुन जान्छ ।

अनि दिसा गर्न बस्दा टुक्रुक्क बसेर गर्ने चलन हुन्छ जसले गर्दा मांसपेसीहरू खुम्चन्छन् र दिसा क्लियर भएर जान्छ । यहाँको पाश्चात्य शैली कमोडमा बसेर दिसा गर्ने शैली एकदमै अवैज्ञानिक हो । यसरी बसेर दिसा गर्दा दिसा क्लियर नहुन सक्छ जुन शरीरको लागि हानिकारक हो । त्यसैगरी पूर्वीय शैलीमा पिसाब पनि टुक्रुक्क बसेर नै गर्ने चलन हुन्छ । किनकि धोती लगाउने चलन हुन्छ र धोती लगाएपछि उठेर पिसाब गर्न मिल्दैन । उठेर पिसाब गर्नुभन्दा टुक्रुक्क बसेर पिसाब गर्नु फाइदाजनक हुन्छ र पिसाब पनि निख्रन्छ । मुस्लिमहरूको कुरानमा पनि उठेर पिसाब गर्नुलाई हराम मानिन्छ । त्यसैले धर्ममा कट्टर मुस्लिमहरूले बसेर पिसाब गर्ने गर्दछन् । तर, पाश्चात्य देशहरूमा पिसाब गर्न उठेर गर्नुपर्ने गरी शौचालय बनाइएको हुन्छ र त्यही देखासिखी गरी नेपालमा पनि आधुनिक शौचालयहरू उठेर गर्ने गरी बनाइएको हुन्छ ।

दिसा गरिसकेपछि दिसा देब्रेहातले धुने चलन छ किनकि देब्रेहात खाना खान प्रयोग हुँदैन । त्यस्तै दिसा गरेपछि हातमुख धुनुपर्छ भन्ने चलन छ जसले स्वच्छ बनाउँछ । आयुर्वेदिक ग्रन्थ योग रत्नाकारमा लेखिएको छ ।

मेध्यं पवित्रामायुष्यमलक्ष्मीकालिनाÞनम्
पादयोर्मलमार्गाणाँ शौचाधानमभीक्ष्णशः

दुवै गोडाका साथै मल निस्कने मार्गहरू (मल निस्कने मार्ग भन्नाले शरीरको फोहोर फाल्ने अङ्गहरू) जस्तै (मलद्वार, मूत्रद्वार, आँखा, नाक, कान) पटक–पटक धुने गरेमा पवित्रता रहन्छ एवम् बुद्धि बढ्छ ।

तर, पाश्चात्य शैलीमा दिसा गरेपछि नधोईकन कागजले पुछ्ने चलन हुन्छ जुन अवैज्ञानिक हो । अझ कैयौँ घरहरूमा त ट्वाइलेटमा हात धुने ठाउँ पनि हुँदैन ।

मनोरञ्जन :

हाम्रो पूर्वीय जीवनशैलीमा मनोरञ्जन गर्न पाश्चात्यहरूको जस्तो जाँडरक्सी खाने, क्यासिनोमा जाने, जुवातास खेल्ने हुँदैन । मनोरञ्जन गर्ने भनेको बालन, भजन खेल्ने जसमा भगवान्हरूको बारेमा रोचक शैलीमा प्रस्तुत गरिएको हुन्छ । त्यस्तै चाडबाड, विवाह ब्रतबन्धहरूमा पनि रोचक शैलीमा मनोरञ्जन गर्ने गरिन्छ । विवाहलाई दुई दिन लगाएर गरिने बेहुला पक्षको मानिसहरू बेहुलीको घरमा एक रात बस्ने गर्दथे । खासमा विवाहमा सबै आफन्त र चिनेजानेकालाई बोलाउनुको अर्थ पहिला मागीविवाह हुने चलन थियो । मागीविवाहमा केटाकेटी परिचित नहुने केटाकेटी नै परिचित नभएपछि आफन्तसँग परिचित हुने कुरै भएन । त्यही परिचित गराउन सबै आफन्तलाई बोलाउने चलन गरिएको हो । त्यस्तैगरी विवाह जग्गेमा विभिन्न खेल खेलाउने, जुठो खुवाउने, दुलाहाले दुलहीलाई बोक्नुपर्ने, सासू र बुहारीबीच पनि खेल खेल्ने चलन पनि एक–आपसमा घुलमिल होस्, माया बढोस् भनेर हो ।

भ्रमण तथा यात्रामा पनि पाश्चात्यहरू कुनै समुद्रको किनारमा गएर सुत्ने तथा कुनै ठाउँमा गएर एकै ठाउँमा बस्ने गर्छन्, तर हाम्रोमा यात्रा भ्रमण गर्ने भनेको तीर्थव्रत जाने हो । तीर्थव्रत जाने भनेपछि मठ–मन्दिरमा जाने हो । यस्ता मठमन्दिर प्रायः अग्लो ठाउँमा मोटर नजाने ठाउँमा हुन्छ त्यहाँ जान हिँड्नुपर्छ । हिँड्नु शरीरको लागि अत्यन्तै फाइदाजनक हुन्छ ।

तीर्थयात्रा सम्बन्धमा शास्त्रमा लेखिएको छ–

एश्वर्य लोभान्मोहाद बागच्छेद यानेन यो नरः ।
निष्फल तस्य तत्तिर्य तस्माधान विवर्जयेते ।।

तीर्थयात्रामा कुनै सवारी वर्जित छ । सम्पत्तिको आडमा, मोहग्रस्त भएर वा लोभले वशीभूत भई जहाज वा सवारी चढेर गरिएको तीर्थयात्रा निस्फल हुन्छ । केही समयअघि हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायतको मृत्युको कारणलाई पनि कतिले हेलिकोप्टरद्वारा तीर्थ गएको प्रसङ्गसँग जोडेका थिए ।

यसैले गहिरिएर विश्लेषण गर्ने हो भने हाम्रो हिन्दू परम्परा वा पूर्वीय जीवनपद्धतिका शैली हरेक वैज्ञानिक छन् । हरेक चालचलनको पछाडि कुनै न कुनै तथ्य लुकेको हुन्छ । हरेक पद्धतिमा सत्यता र सकारात्मकता लुकेको हुन्छ । पूर्वीय सभ्यता सभ्य छ र कुनै पनि कुरा कुसंस्कार होइन, जतिखेर चालचलन चलाइयो त्यतिखेर र अहिलेको परिस्थिति बदलिएकाले मात्र त्यतिखेर सान्दर्भिक भएको कुनै कुरा अहिले असान्दर्भिक हुन सक्छ ।

प्रतिक्रिया