मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुईको मृत्यु, चार घाइते

मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुईको मृत्यु, चार घाइते


सर्लाहीको हरिपुर नगरपालिकामा गएराति दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।

हरिपुर नगरपालिका–७ चिताईस्थित भित्री सडकखण्डमा ना.२५प ६९२२ नम्बरको मोटरसाइकल र ज.२प ७८८६ नम्बरको मोटरसाइकल एकआपसमा गएराति करिब १०ः३० बजेको समयमा ठोक्किँदा ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र ईश्वरपुर नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै मोटरसाइकलचालक हुन् ।

दुवै मोटरसाइकलमा चालकसहित तीन–तीनजना बसेका थिए । मोटरसाइकलको पछाडि बस्ने चारैजना घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठोरले जानकारी दिए । ना.२५प ६९२२ नम्बरको मोटसाइकलपछाडि बस्ने अच्छेलाल चौधरी र रामबाबु चौधरी समान्य घाइते छन् । दुवैको स्थानीय अस्पतालमा उपचार गराई घर फर्केका छन् भने ज.२प ७८८६ नम्बरको मोटरसाइकल पछाडि बस्ने ईश्वरपुर नगरपालिका–१४ का १७ वर्षीय धीरेन्द्र चौधरी र लालबन्दी नगरपालिका–२१ का सन्तोष चौधरी गम्भीर घाइते भएका छन् । गम्भीर घाइते दुवैलाई उपचारका लागि वीरगञ्ज अस्पताल सिफारिस गरिएको छ भने मृतकको शव परीक्षणका लागि सर्लाही अस्पताल मलंगवामा राखिएको छ ।