पुरानो राज्य संरचनाका कारण काम गर्न सकिएन : अध्यक्ष दाहाल





नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो राज्य संरचनाका कारण काम गर्न कठिन भएको बताएका छन् । अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले बुधबार चितवनमा आयोजना गरेको अच्युत स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ वितरण समारोहलाई सम्बोधन गर्दै दाहालले आन्दोलनको बलले नयाँ नेतृत्वको सरकार आए पनि पुरानै राज्य संरचनाका कारण सोचेअनुसारको काम गर्न कठिन भएको बताएका हुन् ।

हिजो राजाहरु निरंकुश हुँदा शुरु भएको स्कुल नभत्किएको भन्दै दाहालले भने, ‘यही स्कुल छ, राज्य संरचनाको स्कुल । पञ्चायतको बेलामा जे छ त्यही स्कुलमा चलेको छ ।’ नियमकानुन पनि तिनै रहेको भन्दै उनले कानुन बदलिँदा पनि काम गर्ने सोच, तरिका र शैली उही रहेको उल्लेख गरे ।

परिवर्तनपछि राजनीतिक नेतृत्वले जित्छ कि परम्परागत ढंगले चल्दै आएको राज्य संरचनाले जित्छ भन्ने थाहा नै नपाई लडाइँ चल्ने गरेको उनको भनाइ थियो । राजनीतिक नेतृत्वले अब जित्न नसके मुलुक ठूलो दुर्घटनामा जाने दाहालको भनाइ छ ।

दुईतिहाइको सरकारबाट जनताले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै उनले त्यसतर्फ सरकार अघि बढिरहेको भए पनि सफलता प्राप्त गर्न कठिन भइरहेको बताए । दाहालले भने, ‘जनताको अपेक्षालाई हामीले जुन उचाइ र गहिराइबाट सम्बोधन गर्न सक्नुपथ्र्यो सायद हामीले त्यही स्तरबाट गर्न सकेनौँ ।’ प्रयास भने जारी रहेको भन्दै उनले यद्यपि प्रयास पर्याप्त हुन नसकेकामा चिन्ता व्यक्त गरे । उनले भने, ‘जनताले हामीबाट अझ धेरै त्याग र मिहिनेत चाहेका छन् ।’

छिमेकी दुई देशलाई जोडेर नेपाललाई समृद्ध मुलुक बनाउनुपर्ने उनको भनाइ थियो । छिटो विकासका लागि नेपालमा प्रसस्त सम्भावना रहेको उनले बताए । बाँकेनिवासी अच्युतराज सुवेदीको वि.सं २०७२ को भूकम्पमा परी निधन भएको थियोे । उनी पूर्वउपसभामुख पूर्णकुमारी सुवेदीका छोरा हुन् । दाहालले उनीसहित भूकम्पमा ज्यान गुमाएकाको स्मरण गर्दै त्यो विपतले नेपालमा संविधान बन्न सहज बनाएको बताए ।

संविधान निर्माणको अन्तिम चरणमा घटना घटेपछि आफूले विपक्षी दलको नेताको हैसियतले सरकारलाई सहयोग गरेर उद्धारसँगै सबैलाई संविधान निर्माणमा जुटाएको स्मरण सो अवसरमा दाहालले गरे । कार्यक्रममा नेकपाका नेता सुरेन्द्र पाण्डेले देशको समृद्धिका लागि सिंगो पार्टी गोलबद्ध भएर लाग्नुपर्ने बताए । पार्टी एकीकरणको प्रक्रिया ढिलो हुँदा नेता–कार्यकर्ता एक वर्षदेखि बेरोजगार बनेका भन्दै छिटो टुंग्याउन अध्यक्ष दाहाललाई उनले आग्रह गरे ।

सो अवसरमा राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ बाट सशस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका जवान ओम सलामी मगरलाई रु. २५ हजारसहित ताम्रपत्रबाट सम्मान गरिएको थियो । कार्यक्रममा वर्ष व्यक्तित्व सम्मान २०७६ बाट वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. शारदा रानाभाट कुँवरलाई सम्मान गरिएको थियो ।
rss

प्रतिक्रिया