जाग्ला त काङ्ग्रेस ?

जाग्ला त काङ्ग्रेस ?


■ विनोद नेपाल

काङ्ग्रेसको पहिलो चरणको जनजागरण अभियान सकिएको छ । यस अवसरमा जेठ २६ गते सभापति शेरबहादुर देउवाद्वारा जारी विज्ञप्तिमा काङ्ग्रेसका ‘हिमाल, पहाड, तराई–मधेस, नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियान’को प्रथम चरण पार्टीका आमसाथीहरूमा नवीन ऊर्जा अभिवृद्धि गर्दै सम्पन्न भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा सो अभियानप्रति चासो प्रकट गर्ने र शुभेच्छा राख्ने सबैमा सम्मान पनि व्यक्त गरिएको छ । अभियान वैशाख २५ गते प्रारम्भ भई जेठ २५मा सम्पन्न भएको हो ।

उक्त विज्ञप्तिमा गाउँगाउँसम्म पुगेर पार्टीको विचार सम्प्रेषण गर्ने प्रतिनिधिहरूको क्रियाशीलताको प्रशंसा गरिएको छ भने सबै जिल्ला समितिदेखि स्थानीय तहसम्मका सबैलाई बधाई ज्ञापन गरिएको छ । विज्ञप्तिमा जागरण अभियानका क्रममा प्राप्त सुझाव ग्रहण गरेर नेपाली काङ्ग्रेसलाई सुदृढ र थप गतिशील बनाउँदै अघि बढ्ने सङ्कल्प साझा दायित्व भएको उल्लेख छ । काङ्ग्रेसले लोकतान्त्रिक संविधानप्रति अपनत्वको दायरा विस्तार गर्दै सङ्घीयताको सफल कार्यान्वयन गर्न÷गराउन दबाबको प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ । काङ्ग्रेस जागरण अभियानमार्फत यो दिशामा प्राप्त ऊर्जालाई पुँजीकृत गर्दे अघि बढ्ने पनि जनाइएको छ । यसैगरी विज्ञप्तिमार्फत सभापति देउवाले अधिनायकवादउन्मुख वर्तमान सरकारका गतविधिविरुद्ध थप जागरण बढाउँदै एकताबद्ध ढङ्गले कार्य गर्न अनुरोध गरेका छन् ।

काङ्ग्रेसले आफ्ना नेता, कार्यकर्तालाई पार्टीको संशोधित विधान बुझाउन र निर्वाचनको पराजयमा निराश कार्यकर्ता र मतदातामा नयाँ ऊर्जा थप्ने अभिप्रायले जागरण अभियानको रूपमा जनताबीच जाने एउटा कार्यक्रम बनाएको हो । वास्तवमा यस्तो अभियान निकै अघि चलाइसक्नुपर्ने थियो । तर, ढिलै भए पनि यस्तो कार्यक्रम हुनु आफैँमा सकारात्मक हो । नेपाली काङ्ग्रेस मुलुकको पुरानो लोकतान्त्रिक शक्ति हो । लामो समय मुलुकको नेतृत्व गरेको काङ्ग्रेस अहिले सङ्घीय संसद् तथा प्रदेश सभामा समेत अत्यन्त सङ्कुचित स्थानका साथ प्रमुख प्रतिपक्षीको हैसियतमा छ । काङ्ग्रेस कमजोर हुँदा जुन चिन्ता उसका शुभेच्छुक र नेता–कार्यकर्तामा छ, त्यही चिन्ता मुलुकका प्रति समेत छ । यस्तो स्थितिमा काङ्ग्रेसले अभियानमार्फत आफूलाई सक्रिय बनाउने प्रयास गर्नु राम्रै हो ।

जनजागरण अभियानसहित जिल्लाजिल्लामा पुगेका काङ्ग्रेस नेताहरूलाई कार्यकर्ताले पार्टीभित्र रहेका गुट, उपगुटका कारण पार्टी कमजोर र भद्रगोल भएको भन्दै गुटको राजनीति बन्द गर्न सुझाएका थिए । जागरण अभियानका क्रममा आमजनता र कार्यकर्ताबाट काङ्ग्रेस नेतृत्वलाई सशक्त भूमिका निर्वाह गर्नुपर्ने सुझाव पनि प्राप्त भयो । आवश्यक परेको ठाउँमा सरकारलाई दबाब नै दिनुपर्ने पनि राय काङ्ग्रेस कार्यकर्ता र समर्थकको छ । मुलुकमा भएका ठूलाठूला क्रान्ति र परिवर्तनको नेतृत्वकर्ता शक्ति काङ्ग्रेस कमजोर हुँदा लोकतन्त्र नै सङ्कटमा पर्नेप्रति पनि आमजनताको चिन्ता रहेको छ । यस स्थितिमा काङ्ग्रेसले आन्तरिक विवाद र परस्परका मतमतान्तरलाई बिर्सेर जनताको चाहनाअनुरूप आफूलाई अगाडि बढाउनु आजको आवश्यकता हो ।

काङ्ग्रेस सत्ताको मोहमा यति नराम्ररी फस्यो कि त्यसमा अलमलिँदाअलमलिँदै आफ्नो पतन हुन थालेकोसमेत भेउ पाउन सकेन । कहिले परिवारवादको जञ्जालमा फस्यो कहिले गुटबन्दीले प्रश्रय पायो । तैपनि जहिलेसम्म वाम शक्तिहरू एक भएनन् तहिलेसम्म उसले राज गर्ने अवसर पाइरह्यो ।

लामो समय सत्तामा रहेको काङ्ग्रेस जो सत्ताको स्वादमा भुल्यो, जनता नजिक भएन, जनताबाट टाढियो, उसले निर्वाचनमा पराजयपछि एउटा पाठ अवश्य सिकेको छ । त्यसैको परिणाम यो जनजागरण अभियान हो । यसको पहिलो चरण सकिए पनि आगामी दिनमा अन्य चरण अगाडि बढ्नेछन्, तिनमा थप जिम्मेवार हुनुपर्छ । स्वार्थमा अल्झने होइन देश र जनताको पक्षमा अनि लोकतन्त्रको रक्षाका लागि समेत काङ्ग्रेसले आफूलाई जिम्मेवार ढङ्गमा प्रस्तुत गर्नुपर्छ । काङ्ग्रेसमा निराशा छ । कार्यकर्तामा छटपटी छ । यस्तो अवस्थामा कार्यकर्ता र समर्थकलाई आश्वस्त तथा आशावादी बनाउनका लागि पनि सङ्गठन विस्तार तथा सुदृढीकरण आवश्यक छ । विभाजित काङ्ग्रेस एकताबद्ध हुनुको साथै सिद्धान्तप्रति प्रतिबद्ध र गन्तव्यप्रति स्पष्ट पनि हुनु आवश्यक छ ।

काङ्ग्रेस पछिल्लो समय आफ्ना नेता एवम् आदर्श पुरुष बीपी कोइरालाका विचारबाट विचलित भएको छ । यतिञ्जेल त न उसले सङ्गठन सुदृढीकरणमा ध्यान दियो न त जनताका दुःखपीडामा सहयोगी हुनेतर्फ नै चासो दियो । पहिलो पुस्ताका नेताले गरेको सङ्गठन र आर्जन गरेको विश्वासमै वर्तमान पुस्ता रमाइरह्यो । काङ्ग्रेस सत्ताको मोहमा यति नराम्ररी फस्यो कि त्यसमा अलमलिँदाअलमलिँदै आफ्नो पतन हुन थालेकोसमेत भेउ पाउन सकेन । कहिले परिवारवादको जञ्जालमा फस्यो कहिले गुटबन्दीले प्रश्रय पायो । तैपनि जहिलेसम्म वाम शक्तिहरू एक भएनन् तहिलेसम्म उसले राज गर्ने अवसर पाइरह्यो । जब कम्युनिस्टहरू एक भए तब ऊ नराम्ररी पछारियो । बल्ल उसले महसुस ग¥यो कि काङ्ग्रेसभित्र केही कमजोरी छ । सुधारको आवश्यकता छ । अब कम्युनिस्टहरूका चुनौतीको सामना गर्न सशक्त हुनुपर्ने भयो । सम्भवतः यही सोचले नै जनजागरण अभियानको नाममा जनतासमक्ष पुग्ने, जनताको घरदैलोमा जाने योजना बनेको हो र यो आफैँमा सकारात्मक पक्ष पनि हो ।

हाम्रा दलहरू विचार र सिद्धान्तले चल्छन् वा कसैको सनकको भरमा, जिज्ञासाको विषय बन्दै आएको छ । केन्द्रीय समितिका बैठकहरू नियमित रूपमा नबस्नु र नेतृत्वको निर्णय नै लादिनु ठूला दलको नियति भएको छ । पछिल्लो समय पनि यसमा सुधार भएको छैन । चाहे काङ्ग्रेस होस् वा नेकपा दुवैमा उस्तै स्थिति छ । यस्तो अवस्थामा सङ्गठनका सम्पूर्ण तहलाई सक्रिय बनाउनु आवश्यक छ । निर्णय प्रक्रिया सभागितामूलक एवम् विधानसम्मत हुनु आवश्यक छ । यस सन्दर्भमा काङ्ग्रेसले आफ्नो केन्द्रीय समितिका रिक्त पदहरू पूर्ति गर्ने तथा आफ्ना भ्रातृ सङ्गठनहरूलाई पूर्णता दिने, सक्रिय बनाउनुका साथै काङ्ग्रेसमा गुट–उपगुट र भागबन्डा गर्ने संस्कारको अन्त्य भएको सन्देश दिनु आवश्यक छ । यसो हुन सकेमा मात्र तल्लो तहसम्म नयाँ ऊर्जा थपिनेछ ।

पहिलो चरणमा सम्पन्न अभियानको प्रभाव के–कस्तो पऱ्यो भविष्यले बताउनेछ । तर, सतहमा देखिएका विषयहरूका सन्दर्भमा यही चरणमा पनि ठाउँठाउँमा गुटहरूबीच सङ्घर्ष नै भयो भने कतिपय ठाउँमा नेतृत्वप्रतिको असन्तुष्टि खुलेर आयो । ठाउँठाउँमा तमासा नै पनि भए । जेसुकै होस्, काङ्ग्रेसले ढिलै भए पनि जागरण अभियानको आवश्यकता महसुस गऱ्यो, अभियानको पहिलो र तल्लो तहसम्म पुग्ने चरण सम्पन्न गऱ्यो । जनताबाट टाढिएको काङ्ग्रेसका लागि यो नै एउटा ठूलो उपलब्धि हो । तर, काङ्ग्रेस जाग्यो वा जाग्ला कि नजाग्ला त्यो भविष्यकै गर्भमा छ । यसक्रममा प्राप्त सुझावहरूलाई आत्मसात् गर्ने र प्रथम चरणको अभियान सम्पन्न भएको सन्दर्भमा सभापतिद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएझैँ कमी–कमजोरी महसुस गरी आवश्यक सुधार गर्ने तथा नेतृत्व निष्पक्ष हुने हो भने आगामी दिनमा काङ्ग्रेसले पुनर्जीवन पाउने कुरामा आशावादी हुन सकिन्छ ।