चिनियाँ र रुसी राष्ट्रपतिबीच भेटवार्ता

चिनियाँ र रुसी राष्ट्रपतिबीच भेटवार्ता


चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार रुसमा भेटवार्ता भएको छ । उनीहरूबीच रुसी शहर सेन्ट पिटसबर्गमा भेटवार्ता भएको समाचारमा जनाइएको छ । चिनियाँ राष्ट्रपति चिनफिङ हाल रुस भ्रमणमा रहेका छन् ।

भेटका क्रममा चिनियाँ राष्ट्रपति सीले उक्त शहरको सुन्दरताको बयान गरेको बताइएको छ । उनले रुसको सेन्ट पिटसबर्ग शहरले रुसका धेरै महत्वपूर्ण व्यक्तिहरू जन्माएको भन्दै रुस र रुसी नागरिकका लागि सो स्थान ठूलो गर्वलायक विषय भएको बताएको समाचारमा जनाइएको छ ।

उनीहरूले सो भेटका क्रममा उक्त शहरका साथै रुस र चीनको पर्यटकीय एवं अन्य विविध स्थान र शहरबारे कुराकानी गरेको समाचारमा उल्लेख छ । ती शहरहरूको सुन्दरताको बयान गर्दै आपसी हितका विभिन्न क्षेत्रमा कुराकानी भएको थियो ।

दुई देशका नागरिकबीचको जनसम्पर्क तथा सांस्कृतिक सम्बन्धबारे उनीहरूबीच कुराकानी भएको थियो । त्यस भेटका क्रममा रुसी राष्ट्रपति पुटिनले रुसले थप चिनियाँ पर्यटकलाई स्वागत गर्न चाहेको बताएका थिए ।

चिनियाँ राष्ट्रपति सी सेन्ट पिटसबर्ग पुगेपछि उनी र रुसी राष्ट्रपति पुटिनबीच विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा कुराकानी भएको थियो । समसामयिक अन्तर्राष्ट्रिय राजनीतिका साथै विविध क्षेत्रीय विषयमा उनीहरूबीच कुराकानी भएको पनि समाचारमा जनाइएको छ ।उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा कुराकानी भएको समाचारमा उल्लेख छ ।

चिनियाँ राष्ट्रपति सी बिहीबार बिहान सेन्ट पिटसबर्ग पुगेका थिए । उनी २३औँ सेन्ट पिटसबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा भाग लिनका लागि रुस गएका हुन् ।