अमेरिकी राष्ट्रपति ट्रम्प तीनदिने बेलायत भ्रमणमा

अमेरिकी राष्ट्रपति ट्रम्प तीनदिने बेलायत भ्रमणमा


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको तीनदिने राजकीय भ्रमणका सिलसिलामा लन्डन पुगेका छन् । लन्डन ओर्लनासाथ राष्ट्रपति ट्रम्पले लन्डनका मेयर सदिक खानविरुद्ध घृणामिश्रित आलोचना गर्दै ट्विटसमेत गरेका छन् । विरोधबीच राष्ट्रपति ट्रम्पलाई बेलायत सरकारले रातो कार्पेट बिछ्याएर स्वागत गरेको छ ।

राष्ट्रपति ट्रम्प बेलायतकी महारानी एलिजाबेथ द्वितीयले आयोजना गर्ने राजकीय रात्रिभोजमा सहभागी हुनेछन् ।

राष्ट्रपति ट्रम्पले गरेको ट्विटमा अमेरिकाको महत्वपूर्ण साझेदार मुलुक बेलायतको भ्रमण गर्दा आफूलाई लन्डनका मेयर सदिक खानले गरेको व्यवहार मूर्खतापूर्ण रहेको बताएका छन् । यी दुवै नेताबीच बेलाबखत एक–अर्काका नीतिमाथि ट्विटरमार्फत सार्वजनिक रूपमै आरोप–प्रत्यारोप हुने गरेको छ ।

ट्रम्पले भनेका छन्, ‘खानले लन्डनबारे चिन्ता लिए पुग्छ, मेराबारे होइन ।’ खानले आइतबार एक अखबारमा लेख लेख्दै अमेरिकी राष्ट्रपति ट्रम्पलाई सन् १९३० र १९४० को दशकका युरोपेली अधिनायकवादी नेतासँग तुलना गरेका थिए ।

राष्ट्रपति ट्रम्पको भ्रमणका क्रममा सोमबार र मंगलबार लन्डनमा दुईवटा विशाल प्रदर्शनका तयार भएका छन् ।