इजरायली हवाई आक्रमणमा दश सिरियालीको मृत्यु

इजरायली हवाई आक्रमणमा दश सिरियालीको मृत्यु


इजरायलले आइतबार छिमेकी मुलुक सिरियामा गरेको हवाई आक्रमणमा दशजनाको मृत्यु भएको छ । इजरायली सेनाका अनुसार मारिएकाहरूमा सिरियाली सेना र विदेशी लडाकु रहेका छन् ।

सिरियाबाट इजरायली अधीनस्थ गोलान हाइट्सको माउन्ट हर्मनमा रकेट आक्रमण गरेपछि इजरायलले हवाई आक्रमण गरेको इजरायली सेनाले जनाएको छ । सेनाले जारी गरेको विज्ञप्तिमा इजरायलले सिरियाका दुईवटा सैनिक अखाडा, गुप्तचर पोस्ट र एसए–२ हवाई प्रतिरक्षा अखाडामा आक्रमण गरिएको उल्लेख छ ।

बेलायतस्थित एक युद्ध अनुगमनकर्ता निकायका अनुसार सिरियाको राजधानी दमास्कसनजिक हवाई आक्रमण गरिएको र त्यहाँ सिरियाली सैनिक, इरानी सैन्य तथा हेजबुल्लाह लडाकुहरू रहेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूले हवाई आक्रमण गर्न आदेश दिएको बताए ।

उनले आफ्नो भूमिभित्र कसैले आक्रमण गरे त्यो सह्य हुन नसक्ने बताउँदै इजरायलभित्र कसैले आक्रमण गरे त्यसको डटेर प्रत्याक्रमण गर्ने स्पष्ट गरे । इजरायलले सिरियामा सयौँ हवाई आक्रमण गरेको थियो । यी आक्रमण मुख्यतः सिरियामा रहेका इरानी र हेज्बुल्लाह लडाकुविरुद्ध केन्द्रित छन् ।