राम्रो गर्नेले जश पाउनैपर्छ’

राम्रो गर्नेले जश पाउनैपर्छ’


मिति २०७६/२/८ को घटना र विचार साप्ताहिकमा ‘खेलकुदमा विष्टको कार्यकाल कोसेढुङ्गा सावित’ शीर्षकको लेखले मलाई छोएको छ । राम्रो काम गर्नेको कदर हुनैपर्छ । प्रशस्त मात्रामा खुट्टा तान्ने प्रवृत्ति भएको ठाउँमा सो लेखका लेखक श्रीविक्रम भण्डारीले केशव विष्टको सकारात्मक एवम् सशक्त पक्षको उजागर गर्नुभएको छ, जो स्वागतयोग्य छ ।

म पनि केशव विष्टको गतिशीलताको एक अंश प्रत्यक्ष रूपमा देख्ने व्यक्ति हुँ । एउटा सानो घटना उजागर गर्न चाहन्छु । गत वर्ष अर्थात् २०७५ साल जेठ २० र २१ मा २२औँ खुला राष्ट्रिय तथा उमेर समूह पौडी प्रतियोगिता लिंकन स्कुलको २५ मिटरको पौडी पोखरीमा सञ्चालन भएको थियो । उक्त प्रतियोगितामा पत्रकारहरूलाई समेत लगभग निषेध गरिएको थियो ।

गौरिका सिंह, मेरो छोरी गरिमाकी छोरी हुन् । सो प्रतियोगितामा गौरिकाले १५ वटा राष्ट्रिय कीर्तिमान कायम गरिन् । राष्ट्रिय पौडी प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम नहुने भन्ने कुरै हुन्न । वितरण गरिएका कागजातहरूमा पनि राष्ट्रिय रेकर्ड कायम हुने भनी उल्लेख भएको थियो । तर, नेपाल पौडी सङ्घले त्यहाँ राष्ट्रिय कीर्तिमानको उच्चारण नै गरेन । नेपाल पौडी सङ्घको पदाधिकारीहरूलाई सोध्दा यसपटक राष्ट्रिय कीर्तिमान कायम नगर्ने भन्ने तर्कहीन जवाफ दिए ।

सदस्यसचिव विष्टसँग मेरो कुनै सम्पर्क थिएन । तैपनि अन्यायमा परेको अवस्थामा केही भइहाल्छ कि भन्ने झिनो आस लिई मैले राष्ट्रिय खेलकुद परिषदमा सदस्यसचिवलाई सम्बोधन गरी मिति २०७५/२/३० मा एउटा निवेदन दिएँ । वास्तवमा म त्यति आशावादी थिइनँ, तर अचम्मै भयो । मिति २०७५/३/२८ मा राष्ट्रिय खेलकुद परिषद्बाट मलाई यसै इमेलसाथ संलग्न गरिएको एउटा पत्र पठाइयो । राष्ट्रिय खेलकुद परिषद्ले त तुरुन्तै नेपाल पौडी सङ्घलाई पत्राचार गरी, स्पष्टीकरण मागी राष्ट्रिय कीर्तिमानहरू कायम गरी सङ्घको वेबसाइट र पत्रपत्रिकामा समाचार सम्प्रेषण गराउन निर्देशन दिई मलाई जानकारी गराइएको रहेछ ।

त्यसबेला म अचम्ममा परेँ । बिनाचिनजान वा भनसुन नेपालमा पनि यस्तो चुस्त रूपमा काम हुँदोरहेछ । अन्यत्र कैयन ठाउँमा नभए पनि विष्टको कार्यकालमा नेपाल खेलकुद परिषदमा चाहिँ भयो । कसैको राम्रो कुरा गुम्स्याएर राख्नु उचित हुन्न । राम्रो कामको सम्प्रेषण हुनैपर्दछ र राम्रो काम गर्नेले जश पाउनैपर्दछ । मैले केशव विष्टलाई धन्यवादसम्म पनि दिने मौका पाएको छैन । मनमनले जति धन्यवाद दिए पनि पर्याप्त लागेन ।

उहाँको मौकाको निर्णय एवम् सक्रियताले गर्दा गौरिकाले आठौँ राष्ट्रिय खेलकुदमा १२ वटा स्वर्ण पदकसहित नौवटा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । यसको श्रेय विष्टलाई समेत जान्छ । खेलकुद जगत्ले उहाँबाट धेरै आशा राख्दछ भन्नु अतिसयोक्ति नहोला । लोकप्रिय तथा स्तरीय पत्रिका घटना र विचारमार्फत केशव विष्टलाई धन्यवाद अर्पण गर्दै उहाँको सफल भविष्यको कामना गर्दछु ।

प्रशंसक एवम् शुभचिन्तक
लोकभक्त राणा