प्रधानमन्त्री फर्कंदा विमानस्थल ३५ मिनेट बन्द हुने

प्रधानमन्त्री फर्कंदा विमानस्थल ३५ मिनेट बन्द हुने


प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिएर शुक्रबार साँझ फर्किँदै छन् । उनी आउने समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ३५ मिनेट प्रभावित बन्ने भएको छ । प्रधानमन्त्री ओली आउने समयमा विमानस्थलमा अन्य विमानलाई उडान तथा अवतरणमा रोक लगाइएको छ ।

ओली विमानस्थलमा अवतरण गर्नु १५ मिनेटअघिदेखि अवतरणको २० मिनेट पछिसम्म एयरपोर्टमा अन्य विमानलाई उडान र अवतरण्का लागि रोक लगाइएको हो । प्रधानमन्त्री ओली ५ बजेर ४५ मिनेटमा काठमाडौं अवतरण गर्दै छन् ।

यसका लागि त्रिभुवन विमानस्थलले ‘नोटाम’ जारी गरिसकेको छ । यसबाट सो अवधिमा हुने दर्जनौँ उडान प्रभावित बन्नेछन् ।

बिहीबार प्रधानमन्त्री ओली नयाँदिल्ली जाँदा पनि विमानस्थलमा उडान तथा अवतरण ठप्प पारिएको थियो । उडान प्रभावित भएपछि विमानस्थलमा यात्रुले नाराबाजीसमेत गरेका थिए ।