चौरजहारीका १७० आमालाई कुखुरा वितरण

चौरजहारीका १७० आमालाई कुखुरा वितरण


आमा र बच्चाको स्वास्थ्यका लागि रुकुम (पश्चिम)को चौरजहारी नगरपालिकाका १७० आमालाई कुखुरा वितरण गरिएको छ । बहुक्षेत्रीय पोषण योजना र नगरपालिकाको साझेदारीमा नगरका चार वडाका १७० सुनौला हजार दिनका आमाहरूलाई पोथी कुखुरा प्रदान गरिएको हो ।

आमा र बच्चाको पोषणका लागि वडा नं. १, २, ३ र ८ का ती आमालाई पोषणको व्यवस्थाका लागि ६ हप्ताका कुखुरा वितरण गरिएको बहुक्षेत्रीय पोषण योजनाका पोषण सहजकर्ता ज्ञानु गौतमले जानकारी दिए ।

उनका अनुसार रु. दुई लाखमा आठ सय कुखुरा खरिद गरी वडा नं. १, २ र ८ का १२० आमालाई पाँचवटाका दरले र वडा नं. ३ का ५० आमालाई चारवटाका दरले कुखुरा वितरण गरिएको थियो । ती कुखुरा किन्नका लागि आवश्यक रु. दुई लाखमध्ये बहुक्षेत्रीय पोषण योजनाले रु एक लाख ५० हजार र नगरपालिकाले रु. ५० हजार उपलब्ध गराएको थियो ।

बच्चाको अधिकांश वृद्धि विकास सुनौला हजार दिनमै हुने र यसका लागि पर्याप्त पोषिला खानेकुराको आवश्यकता पर्ने भएकाले अण्डाका लागि आमाहरूलाई कुखुरा वितरण गरिएको उनले बताए । उक्त कुखुरा अण्डा दिने अवस्थामा रहेको बताइएको छ । नियमित अण्डा सेवनबाट आमा र बच्चाका लागि न्यूनतम पोषण उपलब्ध हुने विश्वास गरिएको छ । यो समयमा पोषिला खानेकुरा नखाँदा आमा र बच्चाको स्वास्थ्यमा विभिन्न समस्या आउने पोषण सहकर्ता गौतमको भनाइ थियो । वडाध्यक्षको संयोजकत्व तथा प्रत्येक वडामा रहेका खाद्य सुरक्षा तथा पोषण समन्वय समितिको सिफारिसमा नगरपालिकाका १४ वडामध्ये अन्य वडाका आमाहरूलाई अघिल्लो वर्षदेखि कखुरा वितरण गर्न थालिएको हो ।