अष्ट्रेलियामा इतिहास लेख्दै… जात्रै जात्रा !

अष्ट्रेलियामा इतिहास लेख्दै… जात्रै जात्रा !


  • राजन घिमिरे, अष्ट्रेलिया

नेपालमा मात्र होइन, यतिबेला चलचित्र जात्रै जात्राले प्रवासमा पनि आफ्नो धमाकेदार प्रर्दशनको यात्रालाई सफलताका साथ अगाडि बढाइरहेको छ । नेपालको प्रर्दशनको क्रममा खुशी बाँड्न काठमाडौं र काठमाडौवाहिर रहनुभएका दर्शकहरू माझ पुगेको यो चलचित्रको युनिट अब भने सात समुन्द्रपारि रहनुभएका नेपाली चलचित्रप्रेमी दर्शकमाझ पुग्ने भएको छ ।

यो चलचित्रको युनिटले सात समुन्द्रपारिको यात्रा भने पछिल्लो समय नेपाली सिनेमाको राम्रो बजार मानिएको मूलुक अष्ट्रेलियाबाट शुरू गर्ने भएको छ ।

अष्ट्रेलियाका विभिन्न शहरहरूमा प्रदर्शन भैरहेको र अब हुने शोहरूमा दर्शकहरूसँगै बसेर यो चलचित्र हेर्नका लागि नेपालबाट जात्रै जात्राका निर्देशक प्रदीप भट्टराई, नायिका वर्षा राउत र कलाकारहरू विपिन कार्की र रविन्द्रसिंह बानियाँ अष्ट्रेलिया आउन लागेको जानकारी यो चलचित्रलाई अष्ट्रेलिया भित्र्याएको हो र होइन होला इभेन्टस र पप अप इन्टरटेनमेन्टले जानकारी दिएका छन् ।

कलाकारहरूको टोली मे २९ र ३० मा एडिलेट, मे ३१ मा सिड्नी, जुन ३ मा तास्मानिया, जुन ५ मा ब्रिसबेन, जुन ६ मा गोल्ड कोस्ट र जुन ७ का दिन क्यानभरामा सहभागि हुने कार्यक्रम रहेको छ ।

अहिलेसम्म चलचित्र जात्रा जात्राको पुरा अष्ट्रेलिया १९ शो भैसकेको छ भने अब १४ शो हुने पक्का भैसकेको छ । यो हिसाबले हेर्ने हो भने अष्ट्रेलियामा नेपाली सिनेमाको प्रदर्शनमा यो चलचित्रले इतिहास लेख्ने पक्का देखिएको छ ।

त्यसो त यो बाहेक अन्य शोहरू पनि थपिने संभावना बढेको छ । सिड्नीमा मात्र ९ शो भैसकेको छ यो चलचित्रको । नेपाल जस्तै अष्ट्रेलियामा पनि चलचित्रले सफलता हात पारेपछि चलचित्र युनिट निकै दंग देखिएको छ ।

‘हामी अष्ट्रेलियामा रहनु भएका प्यारा दर्शकहरूलाई भेट्न आतुर छौं । उहाँहरूसँग बसेर चलचित्र हेर्न पाईने उत्साहले मन नै उल्लसित भएको छ । हामी आउंदै छौं अब’- नेपालबाटै चलचित्रका कलाकार र निर्देशकले भने ।

शुक्रबार यो चलचित्रको सिड्नीको मुटु मानिने टाउन हल नजिक रहेको इभेन्ट सिनेमामा बिशेस शो हुने भएको छ । त्यही शोमा कलाकारहरूको उपस्थिति रहने जानकारी हो र होइन होला इभेन्टसका रोशन भट्टराईले दिए ।

उता तास्मनियामा पनि यो चलचित्रको दोश्रो शो हुने भएको छ छ । ‘यो सानो ठाउंमा प्रायसस् नेपाली सिनेमाहरू एक शो चलाउन पनि गाह्रो हुन्छ तर, दर्शकहरूको मागलाई ध्यानमा राखेर शो थपिएको हो’- तास इभेन्टसका छत्र थापाले भने ।