रग्वीको महोत्सवमा श्रीराम र गीर्वाणी उत्कृष्ट खेलाडी

रग्वीको महोत्सवमा श्रीराम र गीर्वाणी उत्कृष्ट खेलाडी


नेपालमा रग्वी विश्वकप महोत्सवअन्तर्गत भएको मैत्रीपूर्ण खेलमा पुरुषतर्फ श्रीराम र महिलातर्फ गीर्वाणी उत्कृष्ट खेलाडी भएका छन्् । मध्यपुरठिमी फुटबल मैदानमा भएको जापान एम्बेस्डर सिगो कप म्याचअन्तर्गत नेपाल रग्वी टिमले जापान एम्बेस्डरलाई १४–५ को स्कोरमा पराजित ग¥यो ।

नेपाल रग्वीका लागि उत्कृष्ट खेलाडी चुनिएका श्रीराम श्रेष्ठले ७ अंकको योगदान गरेका थिए । उनले ट्राईमार्फत ५ स्कोर जोडेपछि कन्भर्जन किकको अवसर पाएका थिए । कन्भर्जन किकलाई पनि सटिक प्रहार गदै दुई अंक थपेका थिए । त्यस्तै रविन कुमालले ट्राईमार्फत पाँच स्कोर जोडे । कन्भर्जन किक प्रहार गर्न पाएको अवसरलाई सञ्जय अधिकारीले सटिक प्रहार गर्दै टिमका लागि दुई अंक थपेका थिए । जापान एम्बेस्डरका तर्फबाट सिनिया आवकीले ट्राईमार्फत ५ अंक जोडेका थिए । जापान एम्बेस्डरको टिममा जापानिज राजदूत मासामुसी साइगोले पनि खेलाडीको रूपमा खेलमा सहभागिता जनाएका थिए ।

महिलातर्फको खेलमा नेपाल महिला रग्वी टिमले हिमालय रग्वी क्लबलाई १७–१० को स्कोरमा हरायो । नेपाल महिला रग्वीको लागि १७ स्कोर नै सिर्जना राईले गरेकी थिइन् । उनले ३ ट्राईमार्फत १५ स्कोर र १ कन्भर्जन किकमार्फत २ स्कोर जोडेकी थिइन् । उनले २ कन्भर्जन किकको अवसरलाई सटिक प्रहार गर्न सकिनन् । हिमालय रग्वी क्लबका लागि पञ्चमाया श्रेष्ठले २ ट्राईमार्फत १० स्कोर गरेकी थिइन् । कन्भर्जन किकमा भने उनी सफल हुन सकिनन् ।

महिलातर्फ विजेता टिम नेपाल महिला रग्वीकी गीर्वाणी अर्याल उत्कृष्ट खेलाडी चुनिएकी थिइन् । एकदिने महोत्सवको उद्घाटन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले गरेका थिए । महोत्सवका विजेता टिमलाई नेपालका लागि जापानिज राजदूत मासामुसी साइगोले पुरस्कृत गरेका थिए ।

महोत्सवमा ओडीसी, जोसेफ, पानारमा र पुलिस स्कुलका एक सय खेलाडीलाई जापानिज प्रशिक्षकद्वारा रग्वी खेलबारे प्रशिक्षण दिएका थिए । जापानमा २०१९ हुने रग्वी विश्वकपको व्यापक प्रचार र शुभकामनाका लागि नेपाल रग्वी संघले महोत्सवको आयोजना गरेको हो ।