मौलिक गर–गहनामा नेपाली पत्थर प्रयोग गर्न जोड

मौलिक गर–गहनामा नेपाली पत्थर प्रयोग गर्न जोड


–छविलाल बगाले
नेपालमा ३० प्रतिशत महिलाले मात्रै परम्परागत मौलिक गर–गहनाको उपयोग गर्छन् । विदेशी डिजाइनका गरगहनाका कारण नेपाली मौलिक गरगहना संकटमा परेको हो । तर ब्रान्डिङ र स्वदेशी कच्चापदार्थको प्रयोग गरी विश्वबजारमा निर्यात गर्न सकिने संभावना पनि उत्तिकै छ ।

बजारमा आधुनिक डिजाइनका कारण परम्परागत नेपाली मौलिक गर–गहना संकटमा पर्न थालेको छ । यसप्रति व्यवसायी मात्रै होइन सरकार पनि चिन्तित छ । नेपाली मौलिक गर–गहनालाई गुणस्तरयुक्त बनाई विदेश निर्यात गर्ने योजना बनाइरहँदा विदेशी डिजाइनका गरगहना बाधक बनेको सरकारी अधिकारी बताउँछन् । गरगहनामा नेपाली पत्थर प्रयोग गर्न र मौलिक गर–गहनामा ध्यान दिनुपर्ने खानी तथा भुगर्भ विभागका महानिर्देशक डा. सोमनाथ सापकोटाको तर्क छ ।

विश्वबजारमा मौलिक गर–गहनाको माग उच्च
विश्वबजारमा नेपाली परम्परागत र मौलिक गर–गहनाको माग पनि उच्च छ । तर निकासीका लागि राज्यले सहयोग गर्नुपर्नेमा व्यवसायीको माग छ । स्वदेशी परम्परागत र मौलिक गर–गहनालाई प्राथमिकतामा राखेपनि कच्चापदार्थको आयात, सुनको कोटामा बृद्धि र सहुलियत नपाउँदा विदेशी ब्राण्डसँग प्रतिस्पर्धा गर्न नसकेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जन बताउँछन् ।

मौलिक गर–गहना निर्यात भएको तथ्याङ्क छैन्
अहिलेसम्म नेपालबाट विदेशमा मौलिक गर–गहना निर्यात भएको एकिन तथ्यांक छैन् । विश्वबजारमा नेपाली मौलिक गर–गहनालाई ब्रान्डिङ गरी निर्यात गर्न सके व्यापार घाटा घट्ने व्यवसायी बताउँछन् । नेपालमा ३० प्रतिशत महिलाले मात्रै परम्परागत गहना लगाउने गरेको तथ्याङ्क छ । परम्परागत गहनाले नेपाली सांस्कृतिक सम्पदाको पहिचान बोकेकोले यी गहना कहिल्यै विस्थापित नहुने उपभोक्ताहरु बताउँछन् । ब्रान्डिङ र सामान बढाउनुपर्नेमा उनिहरुको जोड छ ।

नेपालमै पाइने जेम खनिजलाई उपयोगमा ल्याउन आवश्यक
बजारमा अहिले चलेका र रुचाइएका परम्परागत गहनाहरूमा मङ्गलसूत्र, तिलहरी, नौगेडी, कण्ठमाला, बुलाकी, बाला, हेरबल, जन्तर, चुरा, शिरबन्दी छन् । नेपालमा पाइने जेम खनिजलाई उपयोगमा ल्याउने हो भने विदेशबाट आयात गरीने अर्बौं मूल्यका सुन र कच्चापदार्थमा गिरावट आउने सरकारी प्रक्षेपण छ । परम्परागत गहना जन्तर, चन्द्रमा क्लिप, सानोदेखि छड्के तिलहरी, मंगलसूत्र र नौगेडी जस्ता परम्परागत गहनाको माग ८० प्रतिशतसम्मले बढेको व्यवसायी बताउँछन् । विशेषगरी विदेशमा रहेका नेपालीले बढी मात्रमा यस्ता गहनाको माग गर्ने गरेका छन् । महासंघले परम्परागत गहनाको माग बढेसँगै विदेश निर्यातका लागि समेत पहल गरिरहेको छ ।

जोखिम पनि उत्तिकै
नेपालमा सुनचाँदी व्यवसायसँग सम्बन्धित कालिगढमध्ये ८० प्रतिशत विदेशी रहेका छन् । ती जुन कुनै बेला काम छाडेर हिँड्नसक्ने र कतिपयले पसलको सुनचाँदी ठूलो मात्रामा चोरी गरेर भाग्नेसमेत गरेका छन् । गहनाको गुणस्तरबारे पनि व्यवसायी तिनै कालिगढको विश्वासमा पर्नुपर्छ । जसका कारण सुन व्यवसायी जोखिम मोलेरै भएपनि व्यवसाय गर्न बाध्य छन् । ग्राहकलाई व्यवसायीले ग्यारेण्टी दिनुपर्ने हुँदा त्यस्तो गडबड भए त्यसको नोक्सानी व्यवसायीले बेहोर्नुपर्छ । यस्ता विभिन्न प्रकारका जोखिम यो व्यवसायमा व्यवसायीले उठाउनु परेको छ । यो व्यवसायलाई प्रवद्र्धन तथा थप प्रविधियुक्त गर्न सके आर्थिक विकासमा यसले ठूलो भूमिका निर्वाह गर्न सक्नेछ ।

बार्षिक ५० अर्ब बराबरको सुनचाँदीको कारोबार
नेपालमा बार्षिक ५० अर्ब बराबरको सुनचाँदीको कारोबार हुने गरेको तथ्यांक छ । सरकारले सुनचाँदीको क्षेत्रलाई फराकिलो बनाए देशको राजस्वमा बृद्धि हुने व्यवसायीहरु बताउँछन् । महँगो भन्सार दरका कारण सुुनचाँदी व्यवसायमा समस्या परेको नेपाल सुन चाँदी व्यवसायीको गुनासो छ । सुनचाँदी कारोबारबाट मात्रै मुलुकको राजश्वमा वार्षिक आठ अर्ब योगदान हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघको निष्कर्ष छ ।