सुटिङमा गण्डकी र प्रहरीलाई स्वर्ण

सुटिङमा गण्डकी र प्रहरीलाई स्वर्ण


आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगन्ज रंगशालामा जारी सुटिङ प्रतियोगितामा गण्डकी प्रदेशले दुई, प्रदेश ५ र नेपाल प्रहरीले एक–एक स्वर्ण पदक हात पारेका छन् । गण्डकी प्रदेशले एयर पेस्तोल महिला व्यक्तिगततर्फ र एयर पेस्तोल व्यक्तिगत पुरुषतर्फ स्वर्ण पदक जित्यो ।

प्रदेश ५ ले एयर पिस्तोल समूह र नेपाल प्रहरीले एयर राइफल समूहतर्फ स्वर्ण पदक हात पारे । सुटिङतर्फ एयर राइफल व्यक्तिगत महिला, पुरुषबाहेक अन्य खेल सकिएको छ । एयर राइफल व्यक्तिगत महिला, पुरुषतर्फको फाइनल खेल वैशाख १० मंगलबार बिहान १० बजे हुने भएको छ । फाइनलका लागि महिला, पुरुषका ८–८ खेलाडी क्वालिफाइड भएका छन् ।

प्रतियोगिताको एयर पेस्तोल समूहतर्फ प्रदेश ५ ले स्वर्ण पदक हात पारेको छ । एयर पेस्तोल समूहतर्फ प्रदेश ५ का कृष्णा थापा र बदरुद्दिन अन्सारीको समूहले ७२१ अंक हासिल गर्दै स्वर्ण पदक हात पारे । एयर पेस्तोल समूहतर्फ गण्डकी प्रदेशले रजत हात पा¥यो । गण्डकी प्रदेशका केबी पुन र श्रेया केसीको समूह ७१९ अंकसहित दोस्रो र ७०४ अंकसहित नेपाल प्रहरी तेस्रो भयो ।

एयर पेस्तोल महिला व्यक्तिगततर्फ गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ । गण्डकी प्रदेशकी श्रेया केसी ५५१ अंक प्राप्त गर्दै प्रथम भइन् । प्रतियोगितामा दोस्रो स्थानमा प्रदेश ५ की कृष्णा थापा भइन् । उनले ५३६ अंक प्राप्त गर्दै रजत पदक हात पारिन् भने ५३० अंकसहित तेस्रो हुँदै नेपाली प्रहरीकी सीमा तुलाधरले कांस्य पदक हात पारिन् ।

एयर पेस्तोल पुरुष व्यक्तिगततर्फ गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ । गण्डकी प्रदेशका विजय कार्की ५५६ अंकसहित प्रथम भए । खेलमा नेपाल प्रहरीका सुकदेव चौधरी ५४६ अंकसहित दोस्रो हुँदै रजत र नेपाली सेनाका कुवेर केसी ५४६ अंकसहित तेस्रो हुँदै कांस्य पदक हात पारे । प्रहरीका चौधरी र सेनाका केसीको समान अंक भएपछि सबैभन्दा बढी फुल अंक प्राप्त गर्ने चौधरीलाई दोस्रो घोषणा गरियो ।

एयर राइफल पुरुष समूहतर्फ नेपाल प्रहरीको (ए) टोलीले स्वर्ण पदक हात पारेको छ । प्रहरीको फुलमाया क्याप्छाकी र हरिबहादुर थापाको टोली ७४५ अंक प्राप्त गर्दै प्रथम भएको हो । प्रतियोगितामा दोस्रो र तेस्रो स्थानमा नेपाली सेना रह्यो । नेपाली सेनाको बी टिमका मीरा बन्जारा र सुसे चौधरीले ७४१ अंक प्राप्त गर्दै रजत र आर्मीको ए टिमका कल्पना परियार र सुजन रानामगरले ७३६ अंक हासिल गर्दै कांस्य पदक जिते ।

थापाका अनुसार एयर राइफल पुरुषतर्फ फाइनल खेलका लागि नेपाली सेनाका सुसे चौधरी, गण्डकी प्रदेशका धनबहादुर विक, नेपाल प्रहरीका हरिबहादुर थापा, गण्डकी प्रदेशका मीलन गुरुङ, नेपाली सेनाका सुजन रानामगर, प्रदेश ५ का अर्नभ घिमिरे र रामु क्षेत्री, प्रदेश ३ का दीपक थापा क्वालिफाइड भएका छन् ।

एयर राइफल महिला व्यक्तिगततर्फको फाइनल खेलका लागि प्रहरीकी सुस्मिता नेपाल, नेपाली प्रहरीकी अस्मिता राई र फुलमाया क्याप्छाकी, नेपाली सेनाका कल्पना परियार र सीमा बन्जारा, प्रदेश २ की निशा लामा, प्रदेश ५ का सपना नेपाली र वसन्ती केसी क्यालिफाइड भएका छन् ।