कर्णदासको स्वीकारोक्ति : ‘अमेरिकामा धेरैपटक रोएको छु’

कर्णदासको स्वीकारोक्ति : ‘अमेरिकामा धेरैपटक रोएको छु’


  • राजन घिमिरे, अस्ट्रेलिया

यतिबेला गायक कर्णदास अस्ट्रेलिया आइपुगेका छन् । साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्न अस्ट्रेलिया आइपुगेका कर्णदास शुक्रबार साँझ सिड्नीमा रहेका आफ्ना प्रशंसकमाझ गुन्जिए । उनीसँगै उनका माइला छोरा पनि अस्ट्रेलिया आइपुगेका छन् । कर्णदासको यो अस्ट्रेलिया यात्रा तेस्रो हो । कर्णदासका कान्छा छोरा विगत दुई वर्षदेखि अध्ययनको क्रममा अस्ट्रेलियाको सिड्नीमा छन् । जेठो छोरा पनि साङ्गीतिक क्षेत्रमा नै रहेकाले कार्यक्रममा छोराको साथले आफूलाई पनि ऊर्जा मिल्ने कुरा उनले बताए ।

‘म यो कुरामा आफूलाई भाग्यमानी ठान्छु कि १० वर्ष अमेरिकामा भासिँदा पनि मलाई माया गर्नुहुने स्रोताहरूको सङ्ख्यामा कमी आएन । यस्तो भाग्य सबैलाई कहाँ मिल्छ र,’ नेपालीहरूको बाक्लो बस्ती रहेको सिड्नीको रगडेल बसाईको क्रममा कर्णदासले सम्झिए ।

गत शुक्रबार साँझ सिड्नीमा रहेका नेपालीमाझ प्रस्तुत भएका कर्णदासले ‘जिन्दगीको के भरोसा’देखि ‘ठूला–ठूला महल होइन’ हुँदै ‘तिम्रो–मेरो सम्बन्धको अर्थ खोज्न मन लाग्यो’ भन्दै ‘पुरानो डुङ्गा’ गाउँदा हल लै गुन्जायमान भएको थियो । ‘साँच्चै कर्णदास मन र मुटुले गीत गाउने गायक हुन्। प्रवासमा उनको आवाज सुन्न पाउने भाग्य सबैलाई कहाँ मिल्छ र ?’ शीतल खाण गिरीको भनाइ छ ।

यसपटक नेपाली टच र तारा गुरुङका कारण सिड्नीमा प्रस्तुत हुन पाएको यथार्थलाई पनि कर्णदासले प्रकाश पारे । पछिल्लोपटक प्रवासमा साङ्गीतिक कार्यक्रमको आयोजना सहजताका लागि आर्थिक रूपमा सकारात्मक पहल भएको कुरा कर्णदासले स्वीकार गरे । उनले भने, ‘यो मामिलामा प्रवासमा रहनुभएका नेपालीको योगदान अविष्मरणीय छ ।’

आफ्नै विशिष्ट गायन शैली र आवाजका कारण गायन क्षेत्रमा छुट्टै पहिचान बनाएका कर्णदास १० वर्ष अमेरिका बस्दा ज्यादै पीडामा रहे । आफू त्यतिबेला बाध्यतावश अमेरिकामा बस्नुपरेको कुरा उनले सुनाए, ‘धेरैपटक कुनामा बसेर छटपटिँदै रोएको छु अमेरिकामा । म रहरले होइन बाध्यताले प्रवाशिएको थिएँ । नेपालमा वाहवाही कमाइरहेको समयमा विदेशमा गुमनाम हुँदाको पीडा आज पनि ताजै छ ।’ यति सुनाएर उनी एकछिन भावुक मुद्रामा देखिए, र निष्कर्षको भाषामा भने, ‘अब यसरी लामो समयसम्म बिदेसिन्नँ ।’

तीन महिनाअघि मात्र पिता गुमाएका कर्णदासले आफ्नो नाम आमाले राखिदिनुभएको बताए । ‘त्यतिबेला आमाले के सोचेर यो नाम राखिदिनुभयो थाहा भएन, तर अहिले यो नाम र मेरो क्षेत्र मेल खाएको छ– कर्ण भनेको कान र दास भनेको सेवक । म मेरा स्रोताहरूको कानको सेवक हुँ । उहाँहरूको कानको सधँैभरि सेवा गर्न पाऊँ !’ आफ्नो नामको व्याख्या यसरी गरे कर्णदासले ।

उनको गीत, शब्द चयन र गीतको भाव जति सभ्य र शालीन हुन्छ, व्यक्तिगत रूपमा पनि कर्णदास शिष्ट र नयनप्रिय छन् । भन्नैपर्दा ‘आँखामा राख्दा पनि नबिझाउने मान्छे’ हुन् कर्णदास ।